६० वर्षीय हरि आचार्यलाई लाग्छ– पैसा र विश्वासले उनलाई नर्कमा पुर्यायो।
पैसाले शत्रु र मित्र भन्दैन है भन्दै अरुलाई पढाउने उनी आफैँ कतिखेर विश्वासमा परे, पत्तै पाएनन्।
‘तिम्रो सम्पत्ति तिमी आफैँ हौ, विश्वास नगर्नू है भन्थेँ, आज आफैँ यो अवस्थामा छु’, उनले सुनाए।
लामो दारी, छरितो शरीर भएका उनलाई अचेल आफू उति छरितो लाग्न छाडेको छ।
बितेको सात वर्ष उनको मनमा भारी भएर बसेको छ। एउटा कुना र अर्को कुना गर्दै बितेको त्यो समय उनी कहाँ भुल्न सक्छन् र!
अब त नर्कको जिन्दगीबाट फर्किसक्नुभयो नि?
‘मेरो बितेको सात वर्ष, मेरो भाइ अनि मेरो आत्मविश्वास फर्किन सक्छ त?’
प्रश्न सकिन नपाउँदै उत्तर दिन्छन् उनी।
योग प्रशिक्षकको रुपमा लामो समय बिताएका उनी अचेल यस्तै–यस्तै सोचसँग पौँठेजोरी गरिरहेका छन्।
आचार्य सात वर्ष जेल बसेर गत वर्षमात्रै घर फिरे। आफ्नै भाइ पर्नेले फसाएपछि ७ वर्षे नारकीय जीवन काट्न बाध्य भए।
अदालतले उनलाई बैंकिङ कसुरअन्तर्गत २० करोड रुपैयाँ कर्जा अपचलनको मुद्दामा जेल पठाएको थियो। जुन कर्जाको पैसा न उनले चलाएका थिए न त उनलाई उनको नामबाट कर्जा झिकिएको नै थाहा थियो।
‘पैसाले आफ्नो पनि बिर्साउँदो रहेछ’, उनी थप्छन्, ‘यो गाउँ १० वर्षदेखि यस्तै नारकीय जीवनमै छ।’
उनले देखाएको गाउँ हो, सिंहदरबारबाट २५ किलोमिटर टाढा पर्ने काभ्रेको मुखिया गाउँ। यसलाई बुडोल पनि भन्ने गरिन्छ।
मुखिया गाउँ व्यवस्थित छ। फराकिला सडक र ठूला–ठूला घरले भरिएको यो गाउँ हेर्दा विकसित देखिए पनि यहाँ हरपरिवारमा कैदी जीवनको नमिठा अनुभव छन्। हरेक परिवारका कोही न कोही सदस्य कारागारमा छन्। र, ती सबै बैंकिङ कसुरका कैदीहरु हुन्।
धुलिखेल वडा नम्बर ६ का वडाध्यक्ष सचितानन्द केसी मुखिया गाउँमा झण्डै ५० घरका सदस्य बैंकिङ कसुरमा मुछिएको बताउँछन्।
गएको १० वर्षमा उनले जेल जाने, फर्किने र जेलमै अस्ताउनेमात्र देखेका छन्। यो अवधिमा घरै नफर्किने गरी हराएकाहरु पनि छन्। जो कहाँ छन् कसैलाई थाहा नभएको उनी बताउँछन्।
आचार्यले पनि जेलमै आफ्ना भाइ गुमाए।
‘म मात्रै फसेँ भनेको त भाइ पनि फसेको रहेछ’, उनी भन्छन्, ‘जेल गएको एक महिनामै हार्टअट्याकबाट उसको मृत्यु भयो।’
मुखिया गाउँमा वृद्धदेखि जवान व्यक्तिसम्म बैंकिङ कसुरमा मुछिएका छन्।
यसरी सिंगै गाउँ एक दशकदेखि किन जेलमा छ भन्ने जान्न २०६७ सालमा फर्किनुपर्छ। जतिखेर राष्ट्र बैंकले तल्लोस्तरका वित्तीय कम्पनी स्तरोन्नति हुनसक्ने व्यवस्थालाई कार्यान्वयनमा ल्याएको थियो।
३० करोड चुक्ता पुँजी भएका वित्त कम्पनीले वाणिज्य बैंक बन्न दुई अर्ब चुक्ता पुँजी पुर्याउनुपर्ने प्रावधान थियो। निक्षेपकर्ता र ऋणी गरी २५ हजार ग्राहक भएको तथा निक्षेप र कर्जाको जोड न्यूनतम चुक्ता पुँजीको १५ गुणा भएमा स्तरोन्नति हुनसक्ने व्यवस्था थियो।
वाणिज्य बैंक बनाउन कारोबार र चुक्ता पुँजी दुवै बढाउनुपर्ने थियो। यही लालचमा देखियो क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी पनि।
कम्पनीका प्रबन्धनिर्देशक थिए– उही मुखिया गाउँका बासिन्दा पवन कार्की। उनका जेठान शम्भु केसी गाउँका जानेमानेका व्यक्ति थिए जो हरतरहले गाउँलेलाई सहयोग गर्थे।
धनी र आफन्त पर्ने भएकाले उनले आफूहरु सबैलाई समस्या पर्दा सहयोग गर्ने गरेको आचार्य बताउँछन्।
त्यही सहयोगबाट विश्वास जितेका शम्भुले ज्वाइँ व्यवस्थापक रहेका मर्चेन्ट बैंकमा गाउँलेहरुलाई खाता खोल्न उक्साए।
गाउँमै बैंक आएपछि धेरै सुविधा पाइने भनेर फुर्काएका उनले अधिकांशबाट खाता खोलिदिने नाममा नागरिकता र हस्ताक्षर संकलन गरे।
‘सबैबाट नागरिकता र खाली कागजमा हस्ताक्षर लिएका रहेछन् तर त्यो कसैलाई थाहा रहेनछ’, सचितानन्द भन्छन्।
सबैसँग गोप्य रुपमा नागरिकता र हस्ताक्षर संकलन गरेर शम्भुले ४४ वटा नक्कली कम्पनी दर्ता गरे।
राष्ट्र बैंकले गरेको अनुसन्धानमा ४४ वटा नक्कली कम्पनी देखाएर ३ अर्ब रुपैयाँ बैंकबाट निकालिएको उल्लेख छ। जुन शम्भु र पवन कार्कीले निकालेका थिए। अदालतको बयानमा उनीहरुले यो कुरा स्वीकार गरेको उल्लेख छ।
शम्भुले आचार्यको नामबाट महांकाल खाद्य उद्योगको नाममा नक्कली कम्पनी खोली २० करोड ऋण झिके। उनका भाइको नामबाट १३ करोड, छिमेकी आनन्द केसीको नाममा ५ करोड र जयन्ती केसीको नामबाट १३ करोड निकाले। अन्यबाट पनि उनीहरुले यसैगरी करोडौँ ऋण झिकेका थिए।
यसरी ४४ जनाको नामबाट ऋण झिकेका उनीहरुले ऋणीलाई न पैसा चलाउन दिए, न त कम्पनी खोलेको र ऋण निकालेको नै जानकारी दिए।
सेटिङका आधारमा कर्जा प्रवाह गरेको बैंक पनि कारोबार बढाएर वाणिज्य बैंक बन्ने तरखरमा थियो। त्यसैले कर्जा कहाँ गइरहेको छ भन्नेतिर व्यवस्थापकहरुले उतिचासो देखाएनन्।
२०५८ सालमा स्थापना भएको कम्पनीले २०६८ सालसम्म आइपुग्दा ३ अर्ब कर्जा प्रवाह गरिसकेको थियो। जुन पछि कम्पनीले उठाउन सकेन। प्रवाह गरेको कर्जा समेत उठाउन नसकेपछि कम्पनीले राष्ट्र बैंक गुहार्नपुगेको थियो।
२०६८ सालमा राष्ट्र बैंकले ३ अर्ब रुपैयाँ कर्जा नतिर्ने ऋणी र बैंकका सञ्चालकविरुद्ध बैंकलाई धराशायी बनाउने गरी कर्जा अपचलन गरेको मुद्दा उच्च अदालतमा दायर गर्यो।
त्यसपछि गाउँलेले आफ्नो नाममा केसी र कार्कीले निकालेको करोडौँ रुपैयाँ ऋणबारे चाल पाए।
यति बेलासम्म गाउँमा भागाभाग चलिसकेको थियो। प्रहरीले धमाधम गाउँलेलाई पक्राउ गरेपछि फसेको चाल पाएका गाउँले अपचलन मुद्दामा जेलमा थुनिन पुगे।
ऋणीहरुलाई पक्राउ गरेपछि राष्ट्र बैंकले २०७० सालमा मर्चेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गर्यो।
अधिवक्ता प्रतिभा केसी शम्भु र पवनले गाउँलेबाट हस्ताक्षर र नागरिकताहरु लिएर ऋणी हुनुको पर्याप्त प्रमाण पुर्याएकै कारण निर्दोष हुँदाहुँदै पनि कानुनको नजरमा गाउँले दोषी भएको स्वीकार्छिन्।
भन्छिन्, ‘खाली कागजमा हस्ताक्षर गराएर उनीहरुले नै मनलागी कागजमा लेख्ने गरेका रहेछन्। जसमा मैले ऋण लिएको हो भनेर पनि गाउँलेबाट कागज गराएका रहेछन्, जुन गाउँलेलाई थाहै थिएन।’
गाउँकै आनन्द केसीलाई पनि शम्भुले केही दिनका लागि आफ्नो जग्गा उनको नाममा राख्न लगाएका थिए।
‘मेरो नाममा जग्गा राखिदेऊ मेरो देखाउन मिलेन भनेपछि मैले मानेको थिएँ’, उनले नेपालखबरसँग भने, ‘जग्गा मेरो नाममा पास गरेर मेरो व्यवसाय र जग्गा देखाएर मेरो नामबाट पनि ५ करोड ७५ लाख रुपैयाँ ऋण निकालेका रहेछन्।’
उनी पनि आचार्यजसरी नै सात वर्ष जेल बसेर फर्किएका हुन्। उनीसँगैका साथीहरु अझै पनि जेलमै छन्।
‘हामी १५ जना जति जेलबाट निस्कियौँ, अझै २० जना जेलमै छन्’, उनी भन्छन्।
राष्ट्र बैंककै स्वीकारोक्ति– पीडितहरु ठगिएकै हुन्
राष्ट्र बैंकका एक अधिकारी कानुनका नजरमा दोषी देखिए पनि पीडितहरु ठगिएको स्वीकार्छन्।
‘अध्ययनको क्रममा धेरैले विश्वासमा परेरै नागरिकता र हस्ताक्षर गरेको फेला परेको थियो तर कानुनले प्रमाण हेर्ने हुँदा पीडित पनि कसुरदार नै देखिए’, ती अधिकारीले भने।
नक्कली ऋणी बनेका ४४ जनालाई ७ वर्ष कैदको फैसला गरेको उच्च अदालत पाटनले शम्भुलाई भने ऋण दुरुपयोग गर्न सहयोग पुर्याएको कसुरमा २ वर्षको मात्रै जेल सजाय सुनाएको थियो। सोही कारण मुख्य दोषी शम्भु २ वर्षको जेल सजाय सकेर घर फर्किसकेका छन् भने अन्य नक्कली ऋणीको रुपमा ७ वर्ष कैद भुक्तान गरिरहेका छन्।
बैंकिङ कसुरअन्तर्गत कर्जा पाउन नक्कली कम्पनी खडा गरेको कसुरमा ४ वर्ष कैद र धरौटी रकम तिर्न नसकेबापत थप ३ वर्षको जेल सजायको फैसलाअनुसार पक्राउ पर्ने ३५ जना ७ वर्ष जेल सजाय भुक्तान गरिरहेका हुन्। ३५ जनामध्ये हालसम्म १५ जनाले सजाय भुक्तान गरिसकेका छन् भने २० जना अझै कारागारमै छन्।
मर्चेन्टका प्रबन्धक पवन कार्की भने हाल अमेरिकामै बसिरहेका छन्। प्रहरीले नेपाल झिकाउने प्रयास गरे पनि एक दशक बितिसक्दा सकेको छैन।
गाउँ पस्दै छ बैंकिङ अपराध : प्रहरी
प्रहरीको तथ्यांक केलाउने हो भने मुखिया गाउँ प्रतिनिधि पात्र मात्रै देखिन्छ। मिटरब्याजीदेखि नक्कली ऋणीको आतंक गाउँ–गाउँमा फैलिँदा सयौँ बेकसुर कानुनको नजरमा अपराधी बन्नपुगेका हुन्।
नेपाल प्रहरीका अनुसार पछिल्लो ४ वर्षयता बैंकिङ कसुरका घटना नाटकीय रुपमा बढेको छ। आर्थिक वर्ष २०७४/०७५ मा देशैभर ७ सय ७६ वटा मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष २०७८/०७९ सम्म आइपुग्दा यस्तो संख्या ५ हजार ३ सय नाघेको छ।
यसरी बैंकिङ कसुरका धेरै मुद्दा दर्ता हुनेमा उपत्यका सबैभन्दा अगाडि छ भने त्यसपछि कोशी र मधेश प्रदेश छन्। प्रहरीका अनुसार उपत्यकामा कर्जा अपचलन र चेक बाउन्स अत्यधिक हुँदा तराई क्षेत्रमा भने मिटरब्याजी र चेक बाउन्सका मुद्दा बढी छन्।
हालसम्म ४ हजार ३ सय २८ जनाले भने बैंकिङ कसुरमा परेर जेल जीवन बिताइरहेका छन्।
प्रतिक्रिया