गत साता भएको भारी वर्षाले पनि मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-१ र २ मा अवस्थित कुलेखानी जलाशय भरिएको छैन। पानीले भरिन अझै १८ मिटर बाँकी छ।
कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख तारादत्त भट्टका अनुसार बिहीबार (आज) कुलेखानी जलाशयमा पानीको सतह १५ सय १२ मिटर छ। यस जलाशयको कुल क्षमता १५ सय ३० मिटर हो।
गत वर्ष असोज दोस्रो साता भारी वर्षा हुँदा कुलेखानी जलाशय भरिएर ओभरफ्लो भएको थियो। बाँध नै खोल्नुपर्ने स्थिति आएको थियो।
कुलेखानी जलाशयको पानीले इन्द्रसरोवर-३ स्थित सिस्नेरीबजारदेखि टेकरसम्मकै संरचनामा क्षति गरेको थियो।
तर यो वर्ष असोजमै भएको भारी वर्षाले जलाशय भरिन पनि सकेन।

यसपालि बर्खामा जलाशयका जलाधार क्षेत्रमा पर्याप्त वर्षा नहुँदा पानीको सतह बढ्न नसकेको केन्द्र प्रमुख भट्ट बताउँछन्।
मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकाका दामन, पालुङ, वज्रबाराही र चित्लाङ तथा इन्द्रसरोवर गाउँपालिकाका मार्खु र फाखेल कुलेखानी जलाशयका जलाधार क्षेत्र हुन्।
भदौ पहिलो साता पानीको सतह झण्डै अन्तिम विन्दुमा पुग्न लागेको थियो।
त्यतिबेला पानीको सतह १४ सय ९० मिटर पुगेको थियो। १४ सय ८४ मिटरभन्दा कम पानी जलाशयको न्यूनतम सीमा हो।
जलाशय भरिन अझै १८ मिटर पानीको सतह बढ्नुपर्ने केन्द्र प्रमुख भट्टले बताए।
‘अब पानी कति पर्छ? भरिन्छ, भरिदैँन, अहिल्यै भन्न सकिने कुरा भएन,’ उनले नेपालखबरसँग भने, ‘अघिल्लो वर्ष यही समयमा पूर्ण क्षमतामा जलाशय भरिसकेको अवस्था थियो।’
उनका अनुसार जलाशयवरपरका खोला-खोल्सीका पानीले मात्रै जलाशय भरिने अवस्था छैन।
यसैबीच नेपाल विद्युत् प्राधिकणका प्रवक्ता राजन ढकालले काठमाडौँ उपत्यकामा विद्युत्को मुख्य स्रोत कुलेखानी जलाशयमा पानी नभरिँदा हिउँदमा विद्युत् आपूर्तिमा समस्या सिर्जना हुन सक्ने बताए।
तर यसलाई जसरी पनि व्यवस्थापन गरिने उनको भनाइ छ।
‘अहिले नै जलाशय भरिएन भनेर आत्तिहाल्नुपर्ने स्थिति बनेको छैन, एक महिना अझै पानी पर्ने सिजन बाँकी नै छ, प्रवक्ता ढकालले नेपालखबरसँग भने, ‘जलाशय भरिएको भए त धेरै राम्रो हो। हिउँदका लागि चिन्ता हुँदैनथ्यो। तर केही गरी भरिएन, पानी कम नै भयो भने पनि हामी काठमाडौँ उपत्यकामा लोडसेडिङको हुन दिदैनौँ।’
उनले थपे, ‘कुलेखानी जलविद्युत् आयोजनाबाट विद्युत् आपूर्ति गर्न नसकिने अवस्था भयो भने हामी अन्तबाट म्यानेज गर्छौँ। काठमाडौँमा मात्रै होइन, कहीँ पनि लोडसेडिङ हुने अवस्था बन्दैन।’
६० मेगावाट क्षमताको कुलेखानी प्रथम जलविद्युत् आयोजनाले पछिल्लो आवश्यकताका अधारमा विद्युत् उत्पादन गरिरहेको छ।
कुलेखानी नेपालको एक मात्र जलाशययुक्त आयोजना हो।
३ सय मिटर चौडाइ र ७ किलोमिटर लम्बाइको कुलेखानी जलाशयमा १ हजार ५ सय ३० मिटर पानी संकलन गर्न सकिन्छ।
जलाशय भरिँदा करिब ८५ लाख घनमिटर पानी जम्मा हुन्छ।
Shares

प्रतिक्रिया