कारोबार


असोज दोस्रो साता भइसक्दा पनि भरिएन कुलेखानी जलाशय, हिउँदमा हुन सक्छ काठमाडौँमा विद्युत् अभाव

असोज दोस्रो साता भइसक्दा पनि भरिएन कुलेखानी जलाशय, हिउँदमा हुन सक्छ काठमाडौँमा विद्युत् अभाव

सुनिता विष्ट
असोज १०, २०८२ शुक्रबार १४:४१, हेटौँडा

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-१ र २ मा रहेको कुलेखानी जलाशय असोज दोस्रो साता भइसक्दा पनि नभरिँदा यसपालि हिउँदमा काठमाडौँ उपत्यकामा विद्युत् अभाव हुने सम्भावना देखिएको छ। 

कुलेखानी प्रथम जलविद्युत् केन्द्र प्रमुख तारादत्त भट्टका अनुसार शुक्रबार (आज) कुलेखानी जलाशयमा पानीको सतह १ हजार ५०४ मिटर मात्रै छ। जलाशय भरिन अझै २४ मिटर बाँकी छ। 

‘आकाशे पानी राम्रोसँग परेको छैन,’ उनले भने, ‘अघिल्लो वर्ष यही समयमा जलाशय लगभग भरिसकेको अवस्था थियो। असोज १२ गते राति पानी ओभरफ्लो भएर बाँध नै खोल्न परेको थियो। अहिले दिनमा १५/२० सेन्टिमिटर मात्रै पानीको सतह बढेको छ।’

बर्खाको समयमा पनि जलाधार क्षेत्रमा पर्याप्त वर्षा नहुँदा जलाशयको सतह नभरिएको हो।

जलाशयवरपरका खोलाखोल्सीबाट जम्मा भएको पानीले मात्रै जलाशय भरिने अवस्था नरहेको उनले बताए।

कुलेखानी जलविद्युत् काठमाडौँ उपत्यकाको विद्युत्‌को मुख्य स्रोत मानिन्छ। 

तर यस वर्ष पानीको सतह घटेकाले हिउँदमा विद्युत् आपूर्तिमा समस्या आउने भट्ट बताउँछन्।

कुलेखानीको जलाशयको सतह घट्दै गएकाले सञ्चालनको समय कटौती गरिएको छ। 

मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकाका दामन, पालुङ, वज्रबाराही, चित्लाङ एवं इन्द्रसरोवर गाउँपालिकाका मार्खु र फाखेल जलाशयका जलाधार क्षेत्र हुन्।

६० मेगावाट क्षमताको कुलेखानी प्रथम जलविद्युत् आयोजनाले पछिल्लो आवश्यकताका अधारमा विद्युत् उत्पादन गरिरहेको छ।

‘पर्याप्त वर्षात् नहुँदा गत वर्षभन्दा जलाशयको सतह न्यूनतम स्थितिमा पुगेको छ’, केन्द्र प्रमुख भट्टले भने, ‘अघिल्लो वर्ष यो बेला १ हजार ५२८ मिटरको हाराहारीमा जलाशय भरिएको थियो। यो पटक जलाधार क्षेत्रमा वर्षा नहुँदा पानीको सतह बढ्न सकेको छैन।’

उनले थपे, ‘अब पोहोरको जस्तो पानी पर्‍यो भने मात्रै हो। नत्र यो वर्ष जलाशय भरिने संकेत देखिँदैन। तर पानी राम्रोसँग परेन र आयोजनास्थल नभरिए त्यसैले यो वर्षको हिउँदमा काठमाडौँ उपत्यकामै विद्युत्‌को अभाव सिर्जना हुनसक्छ।’

नेपालको एक मात्र जलाशययुक्त आयोजना भएकाले यहाँ वर्षात्‌मा पानी जम्मा गरी हिँउदमा पूर्ण क्षमतामा विद्युत् उत्पादन गरी काठमाडौँ उपत्यकामा प्रवाह गर्ने गरिएको थियो।

३ सय मिटर चौडाइ र ७ किलोमिटर लम्बाइको जलाशयमा १ हजार ५ सय ३० मिटर पानी भण्डारण गर्न सकिन्छ।

कुलेखानी जलाशयमा पानी जम्मा हुने अधिकतम सीमा समुद्री सतहबाट १ हजार ५३० मिटर हो भने यसको न्यूनतम सीमा १ हजार ४८४ मिटर हो।

यो देशकै पहिलो मानव निर्मित जलविद्युत् आयोजना हो।

जलाशय भरिँदा करिब ८५ लाख घनमिटर पानी हुन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad