कारोबार


दुई अटो शोको हर्षोल्लास मनाउन नपाउँदै अटो व्यवसायीमाथि परेको वज्रपात

दुई अटो शोको हर्षोल्लास मनाउन नपाउँदै अटो व्यवसायीमाथि परेको वज्रपात

सीजी मोटर्सको थापाथलीस्थित शोरुम। तस्बिर : सरोज नेपाल


निर्दोष घोरसाइने
भदौ २७, २०८२ शुक्रबार १६:९, काठमाडौँ

नेपाली अटो व्यवसायीका लागि विगत वर्षहरुभन्दा केही आशा भर्ने र व्यवसाय पनि फस्टाउने संकेतका रुपमा देखिएको थियो नयाँ आर्थिक वर्षको पहिलो महिना।

यसकारण कि अघिल्लो महिना साउनमा २१ देखि २६ गतेसम्म नाइमा नेपाल अटोमोबिलिटी एक्स्पोले व्यवसायीमाझ भरेको आशालाई भदौ २ देखि ८ गतेसम्म भएको १७औँ नाडा अटो शोले अझै मजबुत बनायो। 

योसँगै व्यवसायीहरु नेपालमा फस्टाउँदै गएको विद्युतीयसँगै समग्र गाडीको व्यवसाय बढ्ने र नजिकिँदो चाड दशैँलाई हर्षोल्लासपूर्ण उत्सव मनाउने सोचिरहेका थिए। तर त्यो सोचेको केही दिनमै देशको परिस्थिति भयानक बन्यो। 

१३–२८ उमेरसमूहका जेनजी युवापुस्ताले गरेको प्रदर्शनमा सरकारले निर्मम दमन गरेपछि माहोल अर्कै बन्यो। शुक्रबारसम्म सरकारी दमनबाट मर्नेको संख्या ५१ पुगिसकेको छ। सरकारी अकर्मण्यताले देशले ठूलो क्षति भोग्नुपरेको छ। 

यो परिस्थितिमा सार्वजनिक सम्पत्तिको विनाश भयो नै, व्यवसायीहरु पनि उत्तिकै प्रताडित भए। सबैभन्दा धेरै मार खेप्नेमा अटो व्यवसायी पनि हुन्। 

जले शोरुम, गुड्नुअघि नै भुंग्रोमा खरानी भए गाडी
सवारीसाधनको सबैभन्दा धेरै बिक्री हुने सिजनमा उनीहरुका शोरुम जलाइएका मात्र छैनन्, त्यसभित्र रहेका करोडौँ मूल्यका गाडीहरु खरानी भएका छन्।

दुईवटा सवारीसाधन मेलामा शोकेस गरिएका नयाँ गाडीहरु सडकमा गुड्नुअघि नै दनदनी दन्किएको आगोमा खरानी भएका छन्।

अटो हबको रुपमा चिनिने थापाथली क्षेत्र प्रदर्शनकारीको आक्रोशमा पर्दा धेरै ब्रान्डका गाडीहरु र तिनका शोरुम ध्वस्त भएका छन्। केही साताअघि मात्र अटो शो सम्पन्न हुँदा उत्साहित देखिएका अटो व्यवसायीलाई यसले अन्योलमा धकेलिदिएको एक व्यवसायी बताउँछन्।

उनका अनुसार पछिल्लो समय विस्तारै लयमा आउँदै गरेको अटो व्यवसायलाई यो धक्काबाट उठ्न निकै गाह्रो छ।

‘हामी घरभित्र बसेर हाम्रा सवारीसाधन तथा शोरुम जलेको भिडियो हेरेर बस्नुबाहेक केही गर्न सकेका छैनौँ, शोरुममा आएर क्षतिको मूल्यांकन गर्ने अवस्था छैन’, ती व्यवसायीले नेपालखबरसँग आफ्नो पीडा पोखे।

शान्ति सुरक्षा कायम राख्न बिहीबार पनि कर्फ्यु लागिरहेको छ। अब थप क्षतिको सामना गर्नु नपरोस् भन्ने कामनाबाहेक अन्य केही गर्न सकिने अवस्था नभएको नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का एक पदाधिकारीले बताए।

नाडाले छिट्टै भर्चुअल बैठक बोलाएर क्षतिको अनुमान गर्ने तथा आगामी योजनाबारे छलफल गर्ने उनले जानकराी दिए। 

त्यसपछि निशानामा परे अटो शोरुम
भदौ २३ गते शान्तिपूर्ण सुरु भएको जेनजी प्रदर्शन २४ गते आगजनी र ध्वंसात्मक बनेको थियो।   

पहिलो चरणमा सरकारी भवन र संरचना ध्वस्त पार्न केन्द्रित भएका प्रदर्शनकारीले व्यापारिक प्रतिष्ठान तथा निजी सम्पत्तिमाथि पनि आक्रमण थाले। 

थापाथलीको सेन्ट्रल बिजनेस पार्कमा तोडफोड र आगजनीपछि दायाँबायाँ रहेका सवारीसाधनका शोरुम उनीहरुको मुख्य निशानामा प¥यो। 
थापाथलीमा सवारीसाधन ब्रान्डहरुको ठूलो उपस्थिति छ। सोही कारण यस क्षेत्रलाई अटोहब पनि भन्ने गरिन्छ। 

दर्जनभन्दा बढी प्रतिष्ठित ब्रान्डको अटो शोरुममा आँखा परेपछि उग्र भीडले चिल्ला र महँगा गाडीमा पेट्रोल छर्केर आगो दन्काएका थिए।

आन्दोलनकारीहरुले सुजुकीको आधिकारिक वितरक सीजी मोटो कर्प, चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्स, टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडर्सको शोरुममा आगो लगाएका थिए। आगजनीबाट सीजी मोटो कर्प, सीजी मोटर्स र टाटाका गाडी बिक्री गर्ने सिप्रदी ट्रेडर्सको शोरुम पूर्णरुपमा ध्वस्त भएका छन्। 

यसले शोरुमभित्र राखिएका दजनौं सवारीसाधन पूर्ण रुपमा जलेर नष्ट भएका छन्। 

यस्तै थापाथलीमै रहेका महिन्द्रा एन्ड महिन्द्राको आधिकारिक वितरक अग्नी इनकर्पोरेट र हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलको शोरुममा तोडफोड गरिएको छ।

बिक्री हुने सिजनमा ठूलो धक्का 
अटो व्यवसायीका लागि दसैँ, तिहार सवारीसाधन बेच्ने प्रमुख सिजन हो। यो समयमा वर्षभरिमा बिक्री हुने सवारीसाधनमध्ये एक महिनाको अवधिमा करिब ४० प्रतिशत सवारी बिक्री हुन्छ। 

चाड पर्व सुरु हुनुअघि उपभोक्तालाई आफ्नो ब्रान्डप्रति आकर्षित गर्न नयाँ सवारी सार्वजनिक गर्ने र विभिन्न अफरहरु कम्पनीहरुले ल्याउने गरेका छन्। यसबाट अरु बेलाभन्दा सस्तो मूल्यमा गाडी किन्न पाउने हुँदा उपभोक्ता पनि खुसी हुन्छन् भने धेरै बिक्री हुँदा व्यवसायी पनि उत्साहित हुने गरेका छन्। 

यो वर्ष नेपालमा दुईवटा मेला भए। दुवैमा लगभग ४ हजार सवारीसाधन बुकिङ भएका थिए। पछिल्लो समय फस्टाउँदै गएको ईभी बिक्रीका कारण व्यवसायीमा छुट्टै रौनकको माहोल बन्दै गएको थियो। 

तर अहिले अटो शोरुमहरु प्रदर्शनकारीको निशानामा पर्दा व्यवसायीहरु निराश छन्।

राजनीतिक स्थिरता चाहिरहेका बेला मुलुक फेरि संक्रमणकालीन अवस्थामा पुग्दा बुकिङ भएका सवारीसाधन तत्काल उपभोक्तालाई उपलब्ध गराउन सक्ने मनस्थितिमा व्यवसायी छैनन्।

सीजीले थाल्यो भग्नावशेषको सफाइ 
सीजी मोटर्सले गत वर्ष जेठदेखि थापाथलीमा आयन ब्रान्डको आइकोनिक शोरुम सञ्चालनमा ल्याएको थियो। 

तर चौधरी ग्रुप प्रदर्शनकारीको निशानामा पर्दा थापाथलीको शोरुम पनि जलेर ध्वस्त भएको छ। ध्वस्त भएको शोरुममा बिहीबार साँझदेखि सीजी मोटर्सले सफाइ थालेको छ। 

कम्पनीले क्रेनको सहायतामा जलेर नष्ट भएका गाडीका भग्नावशेष हटाइरहेको छ। उक्त शोरुममा आयन ब्रान्डका ईभीहरु राखिएका थिए। 

त्यसैगरी सीजी मोटोकर्पले बिक्री गर्ने सुजुकीको थापाथलीस्थित शोरुम पनि प्रदर्शनकारीले जलाएका थिए। 

तस्बिरहरु : सरोज नेपाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad