कारोबार


चीनमा अब यात्रु बोकेर उड्नेछन् चालकरहित कारहरू (भिडिओ)

दुई कम्पनीले पाए सरकारबाट अनुमति
चीनमा अब यात्रु बोकेर उड्नेछन् चालकरहित कारहरू (भिडिओ)

नेपालखबर
चैत २३, २०८१ शनिबार २०:२३, काठमाडौँ

चीनले व्यावसायिक रुपमै उड्ने ट्याक्सी उद्योग निर्माणका लागि मुख्य पाइला अघि सारेको छ। नियामकहरूले स्वचालित प्यासेन्जर ड्रोनहरू सञ्चालनका लागि दुई कम्पनीलाई देशकै पहिलो अनुमति प्रदान गरेका छन्।

सिन्ह्वाका अनुसार नास्डाकमा सूचीकृत ईह्याङ होल्डिंग्स र हेफेई हे एयरलाइन्सले चीनको सिभिल एभिएसन एडमिनिस्ट्रेसनबाट एयर अपरेटर सर्टिफिकेट्स पाएका हुन्।  

योसँगै दुवै कम्पनीहरूलाई मानवरहित हवाइ साधनहरू प्रयोग गरी सहर देखिने यात्राहरूमा समेत व्यावसायिक यात्रु सेवा दिने बाटो खुलेको छ। 

दुवै कम्पनीका लागि यो प्रमाणपत्र अन्तिम नियामकीय चुनौती थियो। यसले उनीहरूको हवाइ साधन सञ्चालनको बाटो खोलिदिएको छ। यी कम्पनीहरूले यसअघि नै उत्पादन प्रमाणपत्र र एयरवर्दिनेस प्रमाणपत्र पाएका थिए। 

‘यो नयाँ व्यावसायिक सुरुवात तल्लो उचाइको पर्यटनबाट हुनेछ’, यससम्बन्धी रिपोर्टमा भनिएको छ, ‘ईह्याङको सहर हेर्ने यात्राले उद्योगको विकासलाई गति दिनेछ।’ 

पछिल्ला महिनाहरूमा बेइजिङले लो–अल्टिच्युड इकोनोमीको विकासलाई गति दिने गरी शृंखलाबद्ध पाइलाहरू चालेको थियो। जसमा डेलिभरी ड्रोनहरूदेखि उड्ने कारसम्मका प्रविधिहरू समावेश थिए। 

चिनियाँ नेताहरूले यो क्षेत्रलाई महत्त्वपूर्ण उदाउँदो उद्योग र अर्थतन्त्रको वृद्धिसूचक मानेका छन्। प्रधानमन्त्री लि क्वियाङले राष्ट्रिय जनकंग्रेस सम्मेलनका बेला मार्चको सुरुतिर गरेको एक भाषणमा समेत लो अल्टिच्युड इकोनोमीसँगै, बायोम्यानुफ्याक्चरिङ, क्वान्टम कम्प्युटिङ, सशक्त एआई र ६जी मोबाइल नेटवर्कलाई प्राथमिकता दिएका थिए। 

‘कम उचाइ अर्थतन्त्र आर्थिक वृद्धिको नयाँ साधन हो र यो चीनको अर्थतन्त्रको उच्चगतिको विकासलाई धकेल्ने महत्त्वपूर्ण इन्जिन बन्नेछ’, गत मार्च २८ मा एक औद्योगिक सम्मेलनका दौडान चाइना इन्फरमेसन एसोसिएसनको लो अल्टिच्युट युनिटका उपाध्यक्ष चेङ बलिनले भने। 

चीनको कम उचाइ अर्थतन्त्र यस वर्षसम्म १५ खर्ब युआन (२ खर्ब ७ अर्ब अमेरिकी डलर)बराबर मूल्यवान् हुने प्रक्षेपण गरिएको छ। यो सन् २०३५ सम्म २५ खर्ब युआनको बन्ने अनुसन्धान ग्रुप हुरुनको एक रिपार्टले देखाएको छ। 

यसका लागि चिनियाँ बजारमा ईह्याङ र फेइह्याङ एभिएसनजस्ता विशेषज्ञ स्टार्टअपहरू नै मुख्य खेलाडी रहेका छन्। परम्परागत कार उत्पादकहरू एक्सपेङ र जिली समेत यो दौडमा प्रतिस्पर्धी छन्। यी कम्पनीहरू त विश्वका बोइङ, एयरबस र ब्राजिलको इम्ब्रायरजस्ता बहुराष्ट्रिय कम्पनीहरूसँग प्रतिस्पर्धी छन्। 

हुरुन रिपोर्टमा भनिएको छ, ‘आगामी दिनलाई हेर्दा नीतिहरूको साथ पाएसँगै लो अल्टिच्युड अर्थतन्त्रको निरन्तर उन्नयन हुने देखिन्छ। साथसाथै यस क्षेत्रमा प्रतिस्पर्धा समेत बढ्दै जाने देखिन्छ।’

कस्तो कम्पनी हो ईह्याङ होल्डिंग्स?  
ईह्याङ होल्डिंग्स चीनको स्वचालित हवाइ प्रविधि प्लेटफर्म कम्पनी हो। यसको मुख्यालय चीनको ग्वान्झाउस्थित हुआङपुमा छ। सन् २०१४ मा स्थापना भएको कम्पनीको ग्वान्झाउ ईह्याङ इन्टेलिजेन्ट टेक्नोलोजी कम्पनी सहायक कम्पनी समेत रहेको छ। यो कम्पनीको अर्बान एयर मोबिलिटी सेवा चाँडै आउने कम्पनीले जनाएको छ। यो सेवासँगै यात्रु लिएर कम्पनीका हवाइ साधनहरू चल्नेछन्। 

परम्परागत यात्रुवाहक हवाइ साधनभन्दा यसका यात्रुवाहक यूएभी अर्थात् विद्युतीय र चालकरहित हुनेछन्। यसका इन्टेलिजेन्ट कमान्ड र कन्ट्रोल सेन्ट्रलबाट चल्ने ती साधनहरू सुरक्षालाई प्राथमिकता दिएर डिजाइन हुने बताइएको छ। कम्पनीका आउने हवाइ साधनहरू सुरक्षित, वातावरणमैत्री र इलेक्ट्रिक भर्टिकल टेकअफ तथा ल्यान्डिङ यूएभी हुनेछन्। 

स्वचालित हुने भएकाले यी साधनहरूले मानवीय त्रुटि नगर्ने कम्पनीको दाबी छ। यसले यात्रुलाई आनन्ददायी सेवा दिने बताइएको छ। यदि आकस्मिक अवस्था सिर्जना भए कमान्ड कन्ट्रोल सिस्टले स्वतः अर्को रुट लिनेछ।

यी साधनमा फोरजी/फाइभजी उच्चगतिको वायरलेस नेटवर्क ट्रान्समिसन लिंकहरूको सुविधा हुनेछ। जसले यात्रु र कमान्ड एन्ड कन्ट्रोल सेन्टरलाई सञ्चार सुविधा दिनेछ। यसबाहेक कम्पनीले सामान बोक्ने सुविधा समेत दिइरहेको छ। 

यो कम्पनीले ईएच२१६–एस विश्वकै पहिलो र चीनको एकमात्र यात्रु बोक्ने मानवरहित विद्युतीय सिधै उड्ने र अवतरण गर्ने हवाइ साधन सञ्चालन गरिरहेको छ। यसले ६० हजारवट सुरक्षित उडान गरिसकेको चिनियाँ मिडियाहरूले उल्लेख गरेका छन्। सहरी यात्रा, वस्तु डेलिभरी र आकाशे पर्यटनका लागि यो निकै उपयोगी हुने बताइएको छ। एससीएमपी र अन्य अनलाइन स्रोतहरूको सहयोगमा 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad