ad ad

कारोबार


दशैँमा हवाई यात्रुलाई टिकट पाउनै सास्ती

दशैँमा हवाई यात्रुलाई टिकट पाउनै सास्ती

सीबी अधिकारी
असोज १३, २०७६ सोमबार १०:१५,

बर्सेनि दशैँका बेला यात्रुलाई हावाई जहाजको टिकट पाउन सकस हुन्छ। वायु सेवा प्रदायक कम्पनीले दशैँ आउन एक महिना अघि नै हवाई जहाजको टिकट बुकिङ पूर्ण भइसकेको बताउँछन्।

यही बहानामा दशैँको मौका छोपेर निजी हवाई कम्पनीले यात्रुको ढाड सेक्नेगरी भाडा असुल्ने गरेका छन्। महँगो टिकटसमेत पाउन यात्रुलाई मुस्किल हुन्छ।

हरेक वर्ष दशैँँ आउनासाथ राजधानी काठमाडौँलाई कर्मथलो बनाएका लाखौँ नागरिक घर जाने चटारोमा हुन्छन्। यात्रुका लागि घर फर्कन दुई विकल्प छन्। हवाई र सडक यातायात प्रयोग गरी यात्रु आ–आफ्नो गन्तव्यतर्फ लाग्छन्। विगत झैँ यस वर्ष पनि दशैँमा घर फर्कन यात्रुले उही सास्ती खेप्नुपरेको छ। सबैजसो वायु सेवा कम्पनीले दशैँको टिकट सकिएको बताएका छन् । यात्रुले महँगो शुल्क तिरेर पनि टिकट पाउन सकेका छैनन्।

वायु सेवा कम्पनीले दशैँको मुखमा हरेक वर्ष झण्डै दोब्बर हवाईभाडा बढाउँदै आएका छन्। सडक पूर्वाधार अभावका कारण यात्रुले हवाई यात्रा गर्नुपर्ने बाध्यता छ। महँगो भाडा तिरेर भए पनि सहज र आरामदायी यात्राका लागि यात्रु लालायित हुन्छन्। उनीहरुले दशैँमा हरेक वर्ष पीडा भोग्नु पर्छ। अहिले पनि दशैँका लागि हवाई जहाजको टिकट पाउन कठिन भएको छ। पाए पनि दोब्बर भाडा तिर्नुपर्ने बाध्यता छ।

पोखरा जान सामान्य अवस्थामा रु एक हजार ८०० सम्म भाडा तिर्नु पर्छ। अहिले दशैँमा रु पाँच हजारभन्दा बढी भाडा तिर्नुपरेको छ। यस्तै विराटनगरका लागि हवाईभाडा अन्य बेला रु तीन हजार २०० सम्म पर्छ। यात्रुले अहिले रु सात हजारभन्दा बढी भाडा तिर्दै आएका छन्। धनगढी र नेपालगञ्ज गन्तब्यमा जान ठिक्क परेका एक यात्रुले भने, ‘वायु सेवा कम्पनीलाई अहिले दशैँ लागेको छ, बसको टिकट पाउन नसकेपछि रु आठ हजार तिरेर जहाजको टिकट किने।’

अहिले यात्रुले धनगढीका लागि रु १२ हजारभन्दा बढी भाडा तिर्नु परिरहेको छ। नेपाल वायु सेवा निगमको जहाजमा भने धनगढीका लागि रु पाँच हजार ७०० मा टिकट खरीद गरेको अर्का एक यात्रुले बताए। निगमले आफ्नो नियमित भाडादरमै गन्तब्यमा उडान भर्दै आएको छ। निगमका सहायक प्रवक्ता शुलेख मिश्रले दशैँमा पनि निगमले नियमित भाडादरमै टिकट बिक्री गरिरहेको जानकारी दिए।

यात्रुलाई मात्र हैन वायु सेवा कम्पनीलाई पनि कम्ति चुनौती छैनन्। भाडा बढाएरै भए पनि उडान व्यवस्थापन र माग अनुसारको सेवा दिन दशैँका बेला हम्मे हम्मे पर्छ। एक वायु सेवा कम्पनीका सञ्चालकले भने, ‘हामीलाई दशैँमा सधैँ भाडा बढायो भन्ने आरोप लाग्छ, हाम्रो बाध्यता कसैले बुझ्दैन्। सस्तो, महँगोको त कुरै छैन, टिकट पाउन कठिन छ, वायुयानको विविध खर्चको कुरा गरी साध्य छैन।’

वायु सेवा कम्पनी भन्छन्ः दशैँलाई टिकट सकियो
दशैँ आउनु एक महिना अघिदेखिनै हवाईजहाजको टिकट बुकिङ हुन्छ। यात्रुलाई घटस्थापना पछिका दिनमा धेरै टिकट चाहिन्छ। टिकट पाउन मुस्किल हुन्छ। पहिल्यै टिकट बुकिङ सकिएको हुन्छ।

निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले दशैँको हवाई टिकट सबै सकिएको जनाएको छ। यो समय उडान हुने प्रायः सबै गन्तब्यमा हवाई यात्रुको चाप छ। यतीले आफ्ना पाँच एटीआर र पाँच साना गरी १० तथा भगिनी संस्था तारा एयरका छ जहाजबाट आन्तरिक उडान भर्दै आएको छ। भद्रपुर, विराटनगर, जनकपुर, भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढीलगायत गन्तब्यमा हवाई जहाजको टिकट सकिएको छ। अरु बेला पनि व्यस्त रहने यी गन्तब्यमा दशैँका बेला हरेक वर्ष हवाई यात्रुको चाप हुने गर्छ।

निजी क्षेत्रको अर्को ठूलो वायु सेवा कम्पनी बुद्ध एयरले पनि दशैँका लागि अधिकांश गन्तब्यमा टिकट बुकिङ भइसकेको जनाएको छ। कम्पनीका अनुसार तुम्लिङ्टार र सुर्खेत गन्तब्यमा एक साता अघि नै बुकिङ पूरा भइसकेको छ भने बाँकी गन्तब्यमा ९० प्रतिशत बुकिङ भइसकेको छ। बुद्ध एयरसँग आन्तरिक उडानमा रहेका १३ जहाज मध्ये ११ एटिआर र दुई साना जहाज छन्।

आन्तरिक उडानको प्रतिस्पर्धी कम्पनी श्री एयरलाइन्सको पनि दशैँका लागि टिकट सकिएको छ। कम्पनीसँग आन्तरिक उडानका लागि ७० सिट क्षमताका दुई तथा ५० सिट क्षमताका दुई जहाज छन्। त्यस्तै आन्तरिक उडानका सौर्य, सीता र सिम्रिक एयरलाइन्सको पनि दशैँका लागि टिकट बुकिङ सकिएको छ। दशैँमा यात्रुको अत्यधिक चाप बढेकाले उडान व्यवस्थापन तथा थप विस्तार गर्न लागि परेको हवाई सेवा प्रदायक कम्पनीको छाता संगठन नेपाल वायु सेवा सञ्चालक संघले जनाएको छ। संघका प्रवक्ता योगराज कँडेल शर्माले पछिल्लो थानकोट–नागढुंगा सडक जामका कारण वायुसेवा कम्पनीलाई असाध्यै दबाब परेको भन्दै विमान कम्पनीले गन्तब्यमा उडान संख्या थप्ने तयारी गरेको छ।

दशैँलाई लक्ष्य गरी अहिले सबै वायु सेवा प्रदायक कम्पनीको नियमित उडानमा शतप्रतिशत टिकट बुकिङ भइसकेको छ। यात्रुको चापलाई मध्यनजर गर्दै उडान संख्या बृद्धि गरिने जनाइएको छ। संघका अनुसार आन्तरिक उडानमा १० हेलिकोप्टर कम्पनीसहित १८ वायु सेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन्। बुद्धएयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, सीता एयर, सिम्रिक एयरलाइन्स, समिट एयर र तारा एयरले आन्तरिक उडान भर्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .