ad ad

समाज


सडक बनाउन माग गर्दै साँखुमा चक्काजाम

सडक बनाउन माग गर्दै साँखुमा चक्काजाम

नेपालखबर
असोज १३, २०७६ सोमबार १०:१३,

साँखु–जोरपाटी–शङ्खरापुर सडक सरोकार समितिले तत्काल सडक बनाउन माग गर्दै आज साँखुमा चक्काजाम गरेका छन्। निर्माण थालेको चार वर्ष बितिसक्दा पनि सडक नबनेको भन्दै थलीका बासिन्दा आन्दोलनमा उत्रेका हुन्।

स्थानीयवासीले उक्त सडकमा सवारीसाधन चल्न दिएका छैनन्। लामो समयदेखि साँखु–चाबहिल सडकखण्ड निर्माणमा ढिलाइ भएको र यात्रुले सास्ती खेप्नु परेको भन्दै दबाब दिन स्थानीयवासीले सडक ठप्प पारेका हुन्। वैशाखदेखि बौद्ध, जोरपाटी, नारायणटारको विभिन्न ठाउँमा कालोपत्र गर्न थालिएको हो। चाबहिलबाट साँखु जाने सडक कालोपत्र नगरेका कारण दबाब दिन चक्काजाम गर्नुपरेको समितिका अध्यक्ष मिलन खड्काले बताए।

सलम्बुटारदेखि इन्द्रायणी, नयाँपाटी, डाँछी, थलीलगायत सडकमा खाल्टाखुल्टी तथा हिलो छ। दैनिक हजारौँ उपभोक्ताले सडकका कारण निकै कष्ट भोग्नु परिरहेको स्थानीयवासी पुरुषोत्तम चौलागाईंले बताए। स्थानीयवासी दिलीप श्रेष्ठ सडक निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदार, स्थानीय प्रशासन र स्थानीय जनप्रतिनिधिको पटक पटक ध्यानाकर्षण गराउँदै आएको बताउँछन्। सडक निर्माणमा विलम्ब भएको र स्थानीयवासीले खेप्नु परेको दुःखका कारण सडक बन्द गर्नुपरेको उनको भनाइ छ।

सरकारले २०७२ सालमा चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा सडक बनाउने योजना ल्याएको थियो। काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडक निर्माणका लागि बोलपत्र आह्वान गरी त्यही वर्ष असोजमा चार निर्माण कम्पनीलाई ठेक्का दिएको थियो। एघार दशमलव ४६ किलोमिटर लामो उक्त सडक विस्तार समयमै नसकेपछि थप एक कम्पनीलाई जिम्मा दिइएको थियो। अहिलेसम्म उक्त सडकखण्ड विस्तार सकिएको छैन। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .