ad ad

कारोबार


गौतमबुद्ध र पोखरा विमानस्थललाई व्यस्त बनाउने तयारी, उडानमा छुट दिन ३ मन्त्रालयलाई पत्र

हवाई टिकटमा भ्याट छुट दिने प्रधानमन्त्रीको घोषणा अर्थले मानेन
गौतमबुद्ध र पोखरा विमानस्थललाई व्यस्त बनाउने तयारी, उडानमा छुट दिन ३ मन्त्रालयलाई पत्र

वसन्त अर्याल
असार २०, २०८१ बिहिबार २२:९, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडानमा छुट र सेवा विस्तारको लागि ३ वटा मन्त्रालयलाई पत्र काटेको छ।

मन्त्रालयले हवाइ इन्धनमा छुट, श्रम स्वीकृति तथा मेडिकल, भिसा सेन्टर खोल्न सहजीकरण गर्न पत्र काटेको हो।

विदेशी वायुसेवा कम्पनीले पोखरा र भैहवामा उडान गर्न छुट माग गर्दै आएका छन्। बंगलादेश र भुटानका वायुसेवा कम्पनीले पोखरामा सिधा उडानका लागि प्राधिकरणमार्फत पत्र पठाएका छन्। 

अन्तर्राष्ट्रिय उडान हुन नसकेको नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा २ एयरलाइन्स एयर एस्ट्रे र ड्रुक एयरले सरकारसँग प्रस्ताव गरेका छन्। यसअघि नै भैरहवामा नियमित उडान गर्न जजिरा एयरलगायतका वायुसेवा कम्पनीले पनि इन्धनमा छुट माग गरेका थिए।

‘विदेशी एयरलाइन्सले पोखरा र भैरहवामा उडान गर्न विभिन्न छुट माग गरेका छन्। यसमा प्रधानमन्त्रीले सहुलियतका प्याकेज ल्याउन निर्देशन दिनुभएको छ’, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकी सहसचिव इन्दु घिमिरेले भनिन्, ‘विमानस्थल सञ्चालनसँग जोडिने निकायलाई छुट तथा सेवा विस्तार गर्न पत्र काटेका छौँ।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको डेढ वर्ष पूरा हुँदा एउटा पनि नियमित उडान हुनसकेको छैन। चिनियाँ ऋण सहयोगमा बनेको विमानस्थल सञ्चालन गर्न नसक्दा ऋणको किस्ता तिर्न सकिँदैन। भैरहवा विमानस्थल सञ्चालनमा आएको केही समय जजिरा एयरवेजले नियमित उडान गरे पनि यात्रु काठमाडौं आउने बाध्यताले नियमित गर्न सकेन। 

‘ऋण लिएर बनाएका विमानस्थल नै सञ्चालन गर्नसकेका छैनौँ। केही सहुलियत र काठमाडौं केन्द्रित सेवा पोखरा, भैरहवा पुर्याउन प्रयत्न गरेका हौँ’, घिमिरेले भनिन्। 

उड्डयन मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई हवाइ इन्धनमा छुटको लागि पत्र काटेको छ। मन्त्रालयले आयल निगमलाई पत्र काटेर बोर्डबाट पोखरा र भैरहवा विमानस्थलको हवाइ इन्धनमा छुट दिन सक्नेछ। 

वैदेशिक रोजगारीमा जानेका लागि पछिल्लो समय श्रम स्वीकृति अनलाइनबाट हुने भए पनि मेडिकलको लागि काठमाडौं आउनुपर्ने बाध्यता छ। श्रम तथा रोजगार मन्त्रालयलाई श्रम स्वीकृति र बायोमेट्रिकमा सहजीकरण गर्न आग्रह गरिएको छ। श्रम मन्त्रालयले नै मेनपावर कम्पनीको शाखा खोल्न सहजीकरण गर्नुपर्ने उड्डयन मन्त्रालयको भनाइ छ। 

पोखरा र भैरहवामा विमानस्थल भए पनि भिसा लगाउन काठमाडौं नै आउनुपर्ने बाध्यता छ। परराष्ट्र मन्त्रालयलाई काठमाडौंमा रहेका भिसा सेन्टरलाई पोखरा र भैरहवामा खोल्ने व्यवस्थाको लागि कूटनीतिक पहल गरिदिन पर्यटन मन्त्रालयले आग्रह गरेको छ। 

मन्त्रालयअन्तर्गतकै नागरिक उड्डयन प्राधिकरणलाई ग्राउन्ड ह्यान्डलिङ (भूमिस्थ सेवा) शुल्क, सेवाशुल्कमा निश्चित अवधिको लागि छुट दिने प्रस्ताव ल्याउन निर्देशन दिएको छ। 

हवाइ टिकटमा भ्याट छुट दिने प्रधानमन्त्रीको घोषणा अर्थले मानेन
सरकारले गत आर्थिक वर्षबाट हवाइ टिकटमा १३ प्रतिशत मूल्यअभिवृद्धि कर लगाउन थालेको छ। यसले एकातर्फ आन्तरिकसँगै अन्तर्राष्ट्रिय भाडामा वृद्धि भएको छ भने नेपालबाट टिकट काट्नुको सट्टा विदेशबाटै टिकट काट्ने क्रम बढेको छ।

हवाइ सेवा कम्पनीले हवाइ टिकटमा भ्याट छुटको माग गर्दै आएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बजेटअघि हवाइ टिकटमा भ्याट छुट दिने सार्वजनिक कार्यक्रममा घोषणा गरे पनि अर्थ मन्त्रालयका अधिकारी सहमत भएनन्। हवाइ भ्याटबाट वार्षिक ५–६ अर्ब रुपैयाँ उठेकाले छुट दिन नसकिने अर्थ मन्त्रालयका अधिकारीले बताउने गरेका छन्। 

‘सबै वायुसेवा कम्पनीले हवाइ टिकटमा भ्याट छुटको माग गरिरहेका छन्’, सहसचिव घिमिरे भन्छिन्, ‘यो विषय अलि जटिल बनेको छ। अर्थ मन्त्रालयले यसलाई सम्बोधन गर्नुपर्ने देखिएको छ।’

गत असार ७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने प्याकेज तयार गर्न निर्देशन दिएका थिए। 

‘पोखरा र भैरहवा एयरपोर्ट राष्ट्रिय गौरवका परियोजना हुन्। यी परियोजना निर्माणमा राज्यको ठूलो लगानी पनि भइसकेको छ। निजी क्षेत्रले समेत पर्यटन पूर्वाधारमा लगानी गरिसकेको छ’, प्रधानमन्त्रीले प्रचण्डले भनेका थिए, ‘यस्तो परिस्थितिमा यी विमानस्थलहरू पूर्ण क्षमतामा सञ्चालन गर्नुको अर्को कुनै विकल्प छैन। पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणले गम्भीरतापूर्वक तयारी गर्नुस्।’

काठमाडौं विमानस्थलमा एयर ट्राफिकको समस्या रहेकाले यसको उचित समाधान दिनुपर्ने उनको भनाइ थियो। 

‘अर्कोतर्फ काठमाडौं एयरपोर्टको सुधार र क्षमता विस्तारको काम पनि हुँदै छ। यही बेला भैरहवा र पोखराबाट अन्तर्राष्ट्रिय उडान भर्ने गरी आवश्यक तयारी गर्नुपर्छ’, प्रधानमन्त्रीले भनेका थिए। 

खासगरी वैदेशिक रोजगारीमा जाने नेपाली यात्रुहरु र अन्य यात्रुहरूलाई भैरहवा र पोखराबाटै उडान गराउने गरी तयारी गर्नुपर्नेमा उनको जोड छ। त्यसका लागि मेडिकल, श्रम स्वीकृति, अध्यागमन लगायतका सरकारी सेवा पोखरा र भैरहवामा व्यवस्थित गर्नुपर्छ। 

‘भिसा सेन्टरका लागि कुटनीतिक पहल गर्नुपर्छ’, प्रधानमन्त्रीको भनाइ छ। 

त्रिभुवन विमानस्थल कात्तिकदेखि रातिको समयमा बन्द हुने भएकाले भैरहवा र पोखरा विमानस्थलमा उडानको वातावरण बनाउनैपर्ने अवस्था छ। 

सहुलियत घोषणापछि उडानका प्रस्ताव अघि बढ्ने 
सरकारले भैरहवा र पोखरा विमानस्थलमा उडान गर्ने वायुसेवाका लागि सहुलियत घोषणासँगै प्रस्ताव आएका कम्पनीबारे निर्णय गर्ने भएको छ।  

‘पोखरा र भैरहवा उडान गर्न इच्छुक वायुसेवा कम्पनीका प्रतिनिधि नेपाल आउने कुरा भएको छ। उहाँहरुसँग छलफल भएसँगै अगाडि बढ्छौँ’, घिमिरेले भनिन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमामा ठूला जहाज उडानमा प्राविधिक समस्या हुनसक्ने भए पनि एयरबस ३१९/३२० जहाज नियमित उडानमा समस्या छैन। भुटान, चीनबाट विमानस्थलमा यसअघि नै चार्टर्ड उडान भइसकेका छन्।   

अहिले बंगलादेशको निजी वायुसेवा कम्पनी एयर एस्ट्रेले पोखरामा उडानको प्रस्ताव गरेको छ। कम्पनीले बंगलादेशमा एटीआर जहाजमार्फत उडान गर्दै आएको छ। एयर एस्ट्रेले ढाका–पोखरा–ढाका हप्ताको ४ वटा उडानको प्रस्ताव गरेको छ। 

हाल भुटानको २ वटा एयरलाइन्सले काठमाडौंमा उडान गरिरहेका छन्।  ड्रुक एयरले एटीआर र एयरबस ३१९ बाट काठमाडौंमा उडान गर्दै आएको छ। त्यसबाहेक भुटान एयरले एयरबस ३१९ बाटै उडान गरिरहेको छ।  

गत वर्ष भदौ २३ गते ड्रुक एयरको जहाजले पोखरामा चार्टर्ड उडान गरेको थियो। उक्त कम्पनीले पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय र आन्तरिक उडान गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .