कारोबार


१७८ वर्ष पुरानो टुर कम्पनी थोमस कुक टाट पल्टियो, कारोबार बन्द

१७८ वर्ष पुरानो टुर कम्पनी थोमस कुक टाट पल्टियो, कारोबार बन्द

नेपालखबर
असोज ६, २०७६ सोमबार ७:४४,

 बेलायतको निकै पुरानो टुर कम्पनी थोमस कुकले अतिरिक्त रकम जुटाउन नसकेपछि टाट पल्टिएको घोषणा गरिएको छ। कम्पनीले विश्वभर गरेका छ लाख यात्रा बुकिङ पनि रद्द गरेको जनाएको छ।

बेलायत सरकारले हाल विदेशमा यात्रारत एक लाख ५० हजार बेलायती नागरिकलाई कम्पनीको निर्णयले असर पर्ने बताएको छ।

बेलायती नागरिक उड्डयन प्राधिकरणले थोमस कूकले आफ्नो व्यवसाय रोकेको जनाएको छ। यस कम्पनीका चार वटा विमान ग्राउन्डेड गरिएका छन्। विश्वका १६ वटा मुलुकमा रहेका २१ हजार कर्मचारीको जागिर पनि समाप्त भएको छ जसमा नौ हजार बेलायती नागरिक छन्।

ब्रेक्जिटको अन्यौलतासँगै कम्पनीले केही महिना अघि नै बुकिङमा कमी आएको बताउँदै आएको थियो। कम्पनीमाथि ऋणको बोझ निरन्तर थपिँदै गएपछि कम्पनी नै धरासायी भएको हो।

बेलायतको यो १७८ वर्ष पुरानो कम्पनीले आफ्नो साख जोगाउन २५ करोड अमेरिकी डलर ऋण खोजिरहेको थियो। कम्पनीले आफ्ना सेयरहोल्डर र लगानीकर्तासँग पनि यसबारेमा परामर्श गरेको थियो। थोमस कूकका विश्वभर ६०० को हाराहारीमा ट्राभल स्टोर रहेका छन्।

कम्पनीका प्रमुख कार्यकारी पिटर फ्यान्काउजरले कम्पनीको इतिहासमा यो निकै उदास र दुःखद क्षण रहेको बताउँदै यस कम्पनीले बेलायती समेतका लाखौं व्यक्तिको यात्रालाई सहज गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।

उनले जारी गरेको विज्ञप्तिमा कम्पनीलाई विश्वास गर्ने लाखौं उपभोक्ता र हजारौं कर्मचारीसँग आफूले व्यक्तिगत रुपमा क्षमा माग्न चाहेको उल्लेख गरेका छन्।
कम्पनीको सेवा लिएका तर विदेशमा अलपत्र परेका व्यक्तिको उद्धारका लागि बेलायती नागरिक उड्डयन प्राधिकरणले विशेष व्यवस्था गर्न लागेको जनाएको छ।

बेलायती यातायात मन्त्री ग्रान्ट श्याम्प्सले आफ्ना नागरिकको सहज उद्धारका लागि दर्जनौं चार्टर विमानको व्यवस्था गरिएको जानकारी दिउ। यी चार्टर विमानले मलेसियासम्म पुगेर अलपत्र बेलायतीलाई निःशुल्क बेलायत ल्याउने उनले बताए।

थोमस कूकका कर्मचारीसँग सम्बन्धित युनियनले बेलायत सरकार समक्ष थोमस कूकका कारण बेरोजगार भएका व्यक्तिका बारेमा सोच्न र उपयुक्त निकास निकाल्न अनुरोध गरेको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले कम्पनी जोगाउने नाममा सरकारले लगानी गर्न नसक्ने बताउँदै यस प्रवृत्तिले टाट पल्टिन लागेका कम्पनीहरु सरकारमाथि बढी आश्रित हुने खतरा हुने बताए। रासस–एपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad