कारोबार


उद्योगमा बिजुली पुर्‍याउने प्रसारणलाइन र सबस्टेसनको निर्माण तीव्र

उद्योगमा बिजुली पुर्‍याउने प्रसारणलाइन र सबस्टेसनको निर्माण तीव्र

नेपालखबर
असोज ५, २०७६ आइतबार ७:२,

प्रदेश ५को रुपन्देही तथा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा सञ्चालित र आगामी दिनमा खुल्ने उद्योगलाई पर्याप्त विद्युत् आपूर्ति गर्न प्रसारण लाइन र सबस्टेसनको निर्माण धमाधम भइरहेको छ।

बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन र मैनहिया १३२/३३/११ केभी सबस्टेसन आयोजनाको समग्र भौतिक प्रगति करिब ४५ प्रतिशत छ। रुपन्देहीको योगीकुटी सबस्टेसनबाट सुरु भई मैनहिया पुग्ने प्रसारण लाइनको लम्बाइ १८ किलोमिटर छ। दुई किलोमिटर भूमिगतसहित प्रसारण लाइन आयोजनाले ५७ टावर निर्माण गर्नुपर्नेछ।

रुपन्देहीको भैरहवा क्षेत्रमा रहेका उद्योग र आम उपभोक्तालाई गुणस्तरीय, विश्वसनीय विद्युत आपूर्ति गर्न, चुहावट घटाउन, प्रसारण क्षमता सुदृढ बनाउन यो आयोजनाको निर्माण हुन लागेको हो।

यसैगरी, चिनियाँ लगानीमा खुलेको होङशी सिमेन्टलाई विद्युत आपूर्ति गर्न निर्माण भइरहेको बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण भौतिक प्रगति करिब ४५ प्रतिशत छ। २० किलोमिटर लामो आयोजनाले ६७ टावर निर्माण गर्नुपर्नेछ। त्यसमध्ये ४० टावरको जग हालिएको छ। बर्दघाट सबस्टेसनको स्तरोन्नती अन्तिम चरणमा पुगेको छ।
प्रसारण लाइनको टावर रहने स्थानको निजी जग्गा प्राप्ति, वन क्षेत्रको जग्गा प्रयोगमा रहेको अधिकांश समस्याहरु समाधान भइसकेको र निर्माण सामग्री आयोजनास्थलमा आइसकेकाले दुवै आयोजनाका काम बढीमा ६ महिना सकिने छ।

प्रसारण लाइन र सबस्टेसन निर्माणमा ढिलाइ हुँदा पर्याप्त विद्युत नपाएको गुनासो आएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रबार र शनिवार आयोजनाहरुको निर्माणस्थल निरीक्षण गरेका छन्। कार्यकारी निर्देशक घिसिङले आयोजना व्यवस्थापन, ठेकेदारसँग निर्माणमा रहेको जग्गा अधिकग्रहण, वन क्षेत्रको जग्गा प्रयोग लगायतमा देखिएका समस्याबारेमा जानकारी लिएका छन्।

उनले बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण आगामी माघभित्र (जनवरी २०२०) र मैनहिया सबस्टेसनको काम पुस (डिसेम्बर २०१९)भित्र सक्न निर्देशन दिएका छन्। प्रसारण लाइन र सबस्टेसनको ठेकेदार कम्पनीहरुले तोकिएकै समयमा काम सक्ने प्रतिबद्धता जनाएका छन्।

‘निजी जग्गा अधिग्रहण, वन क्षेत्रको जग्गा प्रयोगमा रहेका समस्या समाधान गरी हामी साइट उपलब्ध गराउँछौं, अत्यन्तै महत्वका आयोजनाहरुको निर्माण जतिसक्दो छिट्टो सम्पन्न गर्न जनशक्ति थप्नुहोस्, समयमै काम सक्नु भयो भने फूलमाला लगाएर पुरस्कृत गर्छौ, ढिलाइ गरेमा ठेक्का सम्झौतामा भएको व्यवस्थाअनुसार कारबाही प्रक्रिया अगाडि बढाउँछौं’,उनले ठेकेदार कम्पनीहरुलाई निर्देशक दिंदै भने।

‘हालको प्रसारण तथा वितरण प्रणालीको क्षमतालाई नधान्ने भएकाले यस क्षेत्रका उद्योगलाई माग अनुसारको विद्युत् दिन सकिरहेका छैनौं, तपाईहरुले छिट्टो काम गरिदिनु भयो भने विद्युत माग दुई सय मेगावाटभन्दा बढी बढ्छ, यस क्षेत्रको विद्युत् चुहावट करिब ५प्रतिशत घट्छ।’ घिसिङले बर्दघाट–सर्दी १३२ केभी प्रसारणलाइन आयोजनाको बर्दघाट नगरपालिका क्षेत्रमा जग्गा अधिग्रहणमा रहेको समस्या समाधान गर्न त्यहाँका मेयर धीरज शर्मासँग पनि छलफल गरेका छन्। मुलुकको औद्योगिक विकाससँग जोडिएका यो प्रसारण लाइनको निर्माणमा सहयोग गरिदिन उनले आग्रह गरेका थिए।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिमन्ट उद्योगसँग विद्युत् पुर्याउने घोषणा अनुसार यो लाइन बनिरहेको हो। लाइन नपुग्दा होङशी सिमेन्टले अहिले डिजेलमार्फत विद्युत् उत्पादन गरी प्रयोग गरिरहेको छ। उद्योगको क्षमता विस्तार गर्न लागेकाले होङशीलाई मात्रै करिब ८० मेगावाट विद्युत आवश्यक पर्ने बताइएको छ।

यसैगरी, चितवनको भरतपुरदेखि नवलपरासीको बर्दघाटसम्मको २२० केभी प्रसारण लाइनको पनि निर्माण धमाधम भइरहेको छ। २४६ टावरमध्ये १८०को जग हालिएको छ भने १५१ खडा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad