कारोबार


असोज १० देखि नयाँ नोट साटिने, कहाँ कहाँ पाइन्छ साट्न?

असोज १० देखि नयाँ नोट साटिने, कहाँ कहाँ पाइन्छ साट्न?

नेपालखबर
असोज ३, २०७६ शुक्रबार ९:१६,

चाडबाडको समयमा नयाँ नोट प्रयोग गरौँ भन्ने इच्छा सबैको हुन्छ। नयाँ टलक्क परेको नोट लिने दिने प्रचलन विशेष गरी दशैँको अवसरमा बढी हुने गरेको छ।

के गाउँ, के शहर सबैतिर नयाँ नोटका बारेमा बढी नै चासो हुने गर्दछ। आम नागरिकको सोही चासोलाई सम्बोधन गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले यही असोज १० गतेदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ। दशैँ पर्वमा खासगरी साना दरका नयाँ सुकिलो नोटको माग उच्च हुने विगतको अनुभवलाई ध्यानमा राखी विभिन्न बैंक तथा वित्तीय संस्थामा उपलब्ध हुने जनाएको छ।

केन्द्रीय बैंकले आफ्नै मुद्रा व्यवस्थापन विभाग, बालुवाटार र विराटनगर, जनकपुर, विरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयमा नयाँ नोट उपलब्ध हुने जनाएको छ।

यस्तै राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका उपत्यकामा विभिन्न कार्यालयमा समेत चाडबाडलाई केन्द्रमा राखेर नयाँ नोट साटन पाइने उल्लेख छ। बैंकले रु पाँच, दश, २०, ५० र १०० दरका एक/एक पकेट गरी प्रति व्यक्ति रु १८ हजार ५०० का दरले नयाँ सटही सुविधा उपलब्ध गराउने जनाएको छ।

सो रकमभन्दा बढी सटही सुविधा आवश्यक हुने व्यक्तिलाई सुकिलो नोट उपलब्ध गराइने बैंकको भनाइ छ। यस्तै बैंकको नोटकोष रहेका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंकका सबै शाखा कार्यालयमा समेत सुकिलो तथा सीमितमात्रामा नयाँ नोट सटही गर्न सकिने व्यवस्था मिलाइएको बैंकले सूचनामार्फत जानकारी दिएको छ।

नेपाल बैंकका नयाँ सडक, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखामा नयाँ नोट उपलब्ध हुनेछ। यस्तै राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार शाखा, टेकु, नयाँ बानेश्वर, सानोथिमि, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखा शाखा तथा कृषि विकास बैंकका गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट नयाँ नोट दिने व्यवस्था मिलाइएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए।

त्यस्तै अन्य वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट पनि सुकिलो तथा सीमितमात्रामा नयाँ नोट सटहीका लागि उपलब्ध गराइनेछ। आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थाबाट पनि सुकिलो नोट सटही गर्न सकिने सूचनामा उल्लेख छ।

नोटमा केरमेट नगर्न आग्रह

केन्द्रीय बैंकले नोटमा केरमेट नगर्न आग्रह गरेको छ। टीका लगाई दक्षिण दिँदा, पूजाआजा गर्दा वा अन्य कुनै धार्मिक वा सांस्कृतिक कार्य गर्दा रङ्ग लागेका वा मैलिएका हातले नोट नछुन बैंकले सबैलाई आग्रह गरेको छ।

त्यस्ता नोट चलनचल्तीमा आउन नसक्ने भएकाले नयाँ वा सुकिलो नोटको सुरक्षा गर्न आग्रह गरेको छ। केन्द्रीय बैंकले अनुरोध गर्दै भनेको छ– ‘नोट राष्ट्रको सम्पत्ति हो, यसको हिफाजत गरौँ।’ यस्तै नेपाली नोटमा कुनै पनि बहानामा रङ्ग लगाउने, लेख्ने, केरमेट गर्ने, नोटको आकार बिगार्ने जस्ता कार्य गरी दुरुपयोग गर्ने, गराउने माथि प्रचलित कानूनबमोजिम कारवाही हुने भन्दै बैंकले सबैलाई त्यस्तो कार्य नगर्न नगराउनसमेत आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad