कारोबार


नक्कली बिजक बिक्री गर्ने तीन कम्पनीविरूद्ध ३६ करोड बिगो माग्दै मुद्दा

नक्कली बिजक बिक्री गर्ने तीन कम्पनीविरूद्ध ३६ करोड बिगो माग्दै मुद्दा

नेपालखबर
असोज २, २०७६ बिहिबार ४:४७,

राजश्व छली गरेको आरोपमा तीन व्यावसायिक कम्पनीका सञ्चालक तथा सहयोगीविरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ। विभागले ती कम्पनीबाट झण्डै रु ३६ करोड २४ लाख बिगो कायम हुने गरी सजायको माग गर्दै मुद्दा दर्ता गरेको हो।

झुट्टा तथा नक्कली बिजक बिक्री गरी राजश्व छली गर्ने काठमाडौंको एएस हार्डवेयरका सञ्चालक सरला श्रेष्ठसमेत सात, काठमाडौँको बत्तीसपुतलीस्थित रुक्मिणि इण्डस्ट्रिज प्रालिका सञ्चालक र कपिलवस्तुको कृष्ण ट्रेडिङ सप्लायर्सका सञ्चालक तथा सहयोगीविरुद्ध मुद्दा दर्ता गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए।

विभागले हार्डवेयरसँग रु २२ करोड २६ लाख ९०० बिगो कायमको माग दाबीसहित काठमाडौं जिल्ला अदालतमा, रुक्मिणि इण्डस्ट्रविरुद्ध रु १२ करोड ४६ लाख बिगो कायम गरी बारा जिल्ला अदालतमा र कृष्ण ट्रेडिङ सप्लायर्सविरुद्ध रु एक करोड ५२ लाखको बिगो कायमको माग दाबीसहित कपिलवस्तु जिल्ला अदालतमा मुद्दा दायर गरिएको जनाएको छ।

विभागले बुधबार एक विज्ञप्ति जारी गरी सरला श्रेष्ठको फार्मबाट वस्तु वा सेवा खरीद नै नगरी झुट्टा तथा नक्कली कर बिजक मात्र खरीद बिक्री गरेको देखिएको जनाएको छ। सो नक्कली काममा अनङ्गपाल श्रेष्ठ र घनश्याम पोखरेलको प्रत्यक्ष सहभागिता रहेको र किशोरप्रसाद पुडासैनी, चेतना पुडासैनी, उमेशकुमार भट्टराई र शालिकराम गौतम सहयोगी देखिएको अनुसन्धानमा खुलेको छ।

यस्तै रुक्मिणी इण्डस्ट्रिजले अन्तःशुल्क इजाजतपत्र नलिई वस्तु उत्पादन गरी स्थानीय बजारमा बिक्री वितरण गर्दा असुल गर्नुपर्ने अन्तःशुल्क छली गरेको र सो अन्तःशुल्कमा लाग्ने मूल्य अभिवृद्धिकर असुल नगरी कारोवार गरेको देखिएको विभागले जनाएको छ।

कृष्ण ट्रेडिङ सप्लायर्समार्फत गोपाल अग्रहरी भनिने मनिष लोहारले कर्मचारी बिक्की भनिने सुनिलकुमार गुप्ताको नाममा गोदाम भाडामा लिई भन्सार चोरी पैठारी गरी राजश्व चुहावट गरेको विभागले जनाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad