मुस्ताङस्थित लक्जरी होटल ‘शिन्तामणि मुस्ताङ’ संसारकै सबैभन्दा लक्जरी होटलको रूपमा सूचीकृत भएको छ।
प्रसिद्ध लक्जरी लाइफस्टाइल म्यागेजिन रोब रिपोर्टले सन् २०२६ का लागि तयार पारेको ‘५० ग्रेटेस्ट लक्जरी होटल्स् अन अर्थ २०२६’ सूचीको पहिलो नम्बरमा शिन्तामणि परेको हो।
विश्वभरका उत्कृष्ट होटल, रिसोर्ट र सफारी क्याम्पहरूलाई उछिन्दै नेपालको यो रिसोर्ट विश्वकै अद्वितीय विलासी गन्तव्यको सूचीमा पर्न सफल भएको हो।
कालीगण्डकी नदीको किनारमा रहेको यो रिसोर्ट प्रख्यात म्याक्सिमलिस्ट डिजाइनर बिल बेन्स्लीको परिकल्पना हो।
उनले कल्पनाको संसार झल्किने शैलीमा निर्माण गरेका उत्कृष्ट र विलासी रिसोर्टहरूमध्ये यो पनि एक हो।

यो रिसोर्टका भवन बागलुङको ढुंगाबाट बनाइएको छ। उक्त रिसोर्टको प्रत्येक कोठाबाट नजिकैका हिमालहरूको मनमोहक दृश्य देख्न सकिन्छ।
यात्रा विज्ञ क्रिस्टोफर विलमट–सिटवेलले रिसोर्टका बारेमा भनेका छन्, ‘शरीर, मन र आत्मालाई पूर्ण विश्राम दिने अनुपम आश्रयस्थल, जहाँका दृश्य साँच्चिकै श्वास रोक्ने खालका छन्।’ यहाँ कम्तीमा पाँच रात बस्नुपर्ने व्यवस्था भएकाले पाहुनाले साँच्चिकै तनावमुक्त भई विश्राम गर्ने पर्याप्त समय पाउँछन्।
२९ कोठा रहेको यो रिसोर्ट नेपालको दुर्गम क्षेत्र मानिने मुस्ताङमा अवस्थित छ। त्यस क्षेत्रमा घोडचढी गर्न, धनुर्विद्या (आर्चरी) अभ्यास गर्न वा साहसिक पदयात्रामार्फत दुर्गम प्राकृतिक भूभागको अन्वेषण गर्न सकिने उक्त रोब म्यागेजिनले उल्लेख गरेको छ।
म्यागेजिनमा उल्लेख भएअनुसार यात्रा विज्ञ तान्या डाल्टनले भनेका छन्, ‘यहाँको भू–दृश्य यति नाटकीय र अद्भूत छ कि यो वास्तविकभन्दा पनि कुनै कल्पनाको संसारजस्तै महसुस हुन्छ।’
रिसोर्टमा बसाइँका क्रममा करिब ८०० वर्ष पुरानो लुब्रा गाउँ पुग्ने अवसर छुटाउनु हुँदैन। यो गाउँ आज पनि बोन बौद्ध परम्पराको महत्त्वपूर्ण केन्द्रका रूपमा परिचित छ।
साथै, रिसोर्टमै रहेका परम्परागत तिब्बती आम्ची चिकित्सकबाट कम्प्लिमेन्टरी चिकित्सा सेवा लिन सकिने व्यवस्था पनि यहाँको अर्को विशेष आकर्षण रहेको म्यागेजिनले उल्लेख गरेको छ।
रोब रिपोर्टले २४ जना ट्राभलर्सको सिफारिस र स्थलगत अनुभवका आधारमा उत्कृष्ट १० होटलको सूची तयार पारेको हो।
सेवाको गुणस्तर, लोकेसन, व्यवस्थापन र मौलिकतालाई आधार मानेर गरिने यो मूल्यांकनमा शिन्तामणि मुस्ताङले सबैभन्दा बढी अंक बटुल्दै शीर्ष स्थान ओगट्न सफल भएको रोबले बताएको छ।
Shares

प्रतिक्रिया