राजनीति


०१८ सालमा यसरी डिजाइन भएको थियो नेपालको झण्डा

०१८ सालमा यसरी डिजाइन भएको थियो नेपालको झण्डा

नारायण ढुङ्गाना
असोज २, २०७६ बिहिबार ४:७,

नेपालमा पहिलो संविधानसभा बनेपछि एकथरि नेपालको झण्डा नै फेर्न लागेका थिए । कोही त्यसमा भएका रङ र केही प्रतीक परिवर्तन गर्नुपर्छ भन्ने तर्क राख्थे।

हाम्रो झण्डाको वैदिक, वैज्ञानिक र व्यावहारिक महत्व बुझ्दै गएपछि त्यस्तो विचार र तर्क आफैँ हराउँदै गए । अहिले सरकारले संविधान दिवसका दिन राष्ट्रिय झण्डालाई महत्व दिएपछि झण्डाको चर्चा फेरि चल्न थालेको छ।

नेपालको संविधानको धारा ८ मा सिम्रिक रङको भुइँ र गाढा नीलो रङको किनारा भएको दुई त्रिकोण अलिकति जोडिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अङ्कित भएको झण्डा नेपालको राष्ट्रिय झण्डा हो भनिएको छ।

झण्डाको धार्मिक, आध्यात्मिक तथा व्यावहारिक महत्व ठूलो छ । हालको अवस्थाको झण्डाको डिजाइन गर्ने आर्किटेक्ट तथा इञ्जिनियर ८५ वर्षीय शङ्करनाथ रिमाल हुनुहुन्छ । काठमाण्डौको नक्सालमा बस्दै आउनुभएका नेपाल कला परिषद्का महासचिव रिमाल बुढेसकालमा समेत कला सिर्जनामा तल्लीन हुनुहुन्छ।

काठमाण्डौको टङ्गालमा जन्मनुभएका रिमाल कोलकाता विश्वविद्यालय अन्तरगत बङ्गाल इञ्जिनियरिङ कलेजबाट सन् १९५७ मा इञ्जिनियरिङ पास गर्नुभएको हो । त्यसपछि उहाँ सदर पब्लिक निक्सारी अड्डामा जागिरे हुनुभयो।

२०१८ वैशाख १ गते राजा महेन्द्रबाट उद्घाटन भएको राजधानीकै आकर्षक शहीदगेट उहाँले नै डिजाइन गर्नुभएको हो । होटल सोल्टी, नेपाल प्रज्ञा–प्रतिष्ठान, अमृत साइन्स कलेज, शान्तिगृह, शारदा सदन, भैरहवा र पोखराको नेपाल राष्ट्र बैंक उहाँकै डिजाइनमा तयार भएको हो।

राष्ट्रकै गौरव गर्नलायक हालको अवस्थाको राष्ट्रिय झण्डाको डिजाइनर रिमाल अहिले झण्डाको महत्व बढ्दै गएकामा हर्षित हुनुहुन्छ । उहाँले आफ्नो शशी शङ्कर कलालयमा राष्ट्रिय झण्डाको डिजाइन अध्येताहलाई अध्ययन गर्न मिल्ने गरी बनाएरै राख्नुभएको छ।

झण्डाको महत्वलाई सर्वसाधारण नागरिकले बुझून् र उनीहरुमा पनि अपनत्व महसुस होस् भन्ने हेतुले सरकारले हरेक नागरिकको घरघरमा राष्ट्रिय झण्डा फहराउन सक्ने गरी कार्यविधि संशोधनसमेत गरिसकेको छ।

यस पटकको संविधान दिवस नै झण्डामय बनाउन सरकारले आह्वान गरेपछि झण्डाको महत्व र चर्चा चुलिँदो छ । दयाराम श्रेष्ठद्वारा लिखित ‘नेपालको राष्ट्रिय झण्डा’ इतिहासमूलक कृतिले विसं २०५३ मा मदन पुरस्कार पाएको कुरा पनि यहाँनिर स्मरणीय छ।

यसरी बन्यो डिजाइन
२०१९ अघि नेपालमा निश्चित मापदण्डको झण्डा थिएन । परम्परादेखि नै दुई त्रिभुज र चन्द्रसूर्य राख्ने चलन थियो । कसैले सूर्यमाथि त कसैले तल राखेर झण्डा बनाउँथे । त्यसमा मान्छेको अनुहार पनि राखिएको हुन्थ्यो।

‘चन्द्रसूर्य भनेको छ, आफूखुशी जे कल्पना गरेर राखे पनि भो, तर त्रिकोण, चन्द्रसूर्य, रातो र नीलो रङचाहिँ जसले पनि राख्थे’ रिमालले विगतको अनुभव सुनाउँदै भन्नुभयो।

रिमालका अनुसार नेपाल संयुक्त राष्ट्र सङ्घको सदस्य बनेपछि मन्त्री जाँदा एउटा झण्डा, राजा जाँदा अर्को झण्डा, सचिव जाँदा अर्को झण्डा प्रयोग हुन्थ्यो । फरकफरक झण्डा देखेपछि नेपाललाई सोधिएको थियो, नेपालको आधिकारिक झण्डा कुन हो? सबै अक्क न बक्क भए । यो खबर राजाकहाँ पुग्यो । त्यस बेला संविधान निर्माण समितिका प्रमुख होराप्रसाद जोशी हुनुहुन्थ्यो।

राजा महेन्द्रले शासन हातमा लिएपछि २०१८ सालमा नयाँ संविधान लेख्ने बेला थियो । त्यस समितिका सदस्य कृष्णप्रसाद पन्त हुनुहुन्थ्यो । उहाँका भिनाजु डाक्टर बलराम जोशीको घर पनि रिमालले नै डिजाइन गरेकाले नियमित अन्तरक्रिया पनि भइरहन्थ्यो।

त्यही सम्पर्कका कारण उहाँलाई राष्ट्रिय झण्डा बनाउने महत्वपूर्ण अवसर मिलेको हो । रिमालले सम्झनुभयो, ‘गर्न सक्छौ भन्दा, मैले सक्छु भनेँ।’

त्यसै बनाएर त भएन । ठूलै चुनौतीको भारी बोकेर उहाँले अनुसन्धान शुरु गर्नुभयो । त्यस बेलाका बूढापाका जानकारहरुसँग भेट्न थाल्नुभयो । संयोग आफ्ना हजुरबा शिवनाथ कविराज र संस्कृतका धुरन्धर विद्वान् हुनुहुन्थ्यो।

जिजुबाजे पण्डित विश्वनाथ शास्त्री पाणिनिको अवतार नै भनिनुहुन्थ्यो । उहाँहरुबाट प्राप्त सूचना झण्डा बनाउनका लागि अमूल्य स्रोत बन्यो।

उहाँले वास्तुशास्त्र पनि अध्ययन गर्नुभयो । ुशास्त्रमा तीन बाई चारको रेक्टेङगल बनायो भने अनन्त हुन्छ, यो भन्दा राम्रो नाउँ केही पनि छैन भन्ने पत्ता लाग्यो।

हाम्रो झण्डाको नीलो रङ अनन्तको रङ हो, पानी र आकाशको रङ पनि नीलो, आकाश भनेको अनन्त हो, अनन्त कालदेखि आइराखेको मुलुक फेरि अनन्तसम्म जानुपर्‍यो भनेर डिजाइन गरेँ, झण्डाको डिजाइनबारे रिमालले भन्नुभयो। तीन हप्ताको प्रयासमा तयार भयो ।

‘बनाएर बुझाउनेबित्तिकै सबैले हेरे, मन पराए, चित्त बुझाए, ओके गरे, कसैको प्रतिक्रिया नै आएन, एकै पटक संविधानमा आयो सकियो’ रिमालले भन्नुभयो।

तीन बाई चारको रेक्टेङगललाई हेरेर चन्द्रसूर्यलाई डायग्राममा तयार पारिएको उहाँ बताउनुहुन्छ । रङ फेर्नुपर्छ कि भन्ने उहाँलाई लागेको थियो तर गोपालप्रसाद रिमालले ‘रातो र चन्द्रसूर्य जङ्गी निशान हाम्रो’ भनेर लेख्नुभएकाले त्यसलाई परिवर्तन गर्दा परम्परा बिग्रन्छ भन्ने उहाँलाई लाग्यो।

सिम्रिक रङ विवाह, व्रतबन्धलगायत कुनै शुभकार्य, चुनाव लड्दा होस् या घरमा बिदाइ हुँदा होस् या होलीमा होस् हरेक समय प्रयोग हुन्छ । शक्ति र क्रान्तिको रङ पनि रातो हो । त्यसकारण यति धेरै कुरा मिल्ने हुँदाहुँदै परिवर्तन गर्न मनले मानेन।

रिमालले थप्नुभयो, ‘नीलो भनेको शान्ति, जल र आकाशको पनि रङ भो । त्यो अनन्तकाललाई मास्ने कुरै भएन । सेतोको अर्थ शुद्ध अथवा पवित्रता भइहाल्यो।’

कलाकार रिमाल महाभारतकालदेखि नै यही किसिमको झण्डा प्रयोग भएकाले यो नेपालको परम्परा हो भन्नुहुन्छ । महाभारतमा कौरवलाई मद्दत गर्न नेपाल (त्यतिबेला नेपाल नै नाम भन्ने थिएन) बाट पनि सेना गएको थियो।

“त्यो बेलामा पनि नेपाल भन्ने शब्द रहेछ, हाम्रो हिसाबले त सात हजार वर्ष पहिलेको कुरा हो । त्यसैले त्यो महत्व हराउनु पनि भएन,” रिमाल थप्नुहुन्छ।

चन्द्र र सूर्यको प्रयोग
झण्डाको माथिल्लो भागमा चन्द्रमा र तल्लो भागमा सूर्यको प्रयोग हुन्छ । सूर्यको बाह्र कला हुन्छ भन्ने मान्यता छ । चन्द्रमाको १६ कला हो । कसैले माथि सूर्य राख्ने कसैले चन्द्र माथि राख्ने गर्थे।

हालको झण्डामा माथि चन्द्रमाको आठ कला मात्रै देखिएको छ । तल सूर्यको १२ कला छ।

सूर्यलाई धेरै पराक्रमी मानिन्छ । सूर्य प्रज्ञा र चन्द्रमा करुणाका प्रतीक हुन् । ‘प्रज्ञाभन्दा त करुणा धेरै महत्वपूर्ण हुन्छ नि होइन र, जतिसुकै प्राज्ञ भए पनि करुणा भएन भने रावण जस्तो हुन्छ, करुणा हुनेबित्तिकै बुद्ध हुन्छ, धार्मिक हिसाबले पनि झण्डामा प्रयोग भएको चन्द्रसूर्यको त्यति ठूलो महत्व छु’ उहाँले प्रष्ट्याउनुभयो।

२०६६–६७ मा झण्डा फेर्ने कुरा आउँदा उहाँ दुखित हुनुभयो। धार्मिक मान्यता, झण्डाको इतिहास र महत्व बुझेपछि भने झण्डा फेर्ने कुरा हराएको उहाँले बताउनुभयो।

चन्द्र र सूर्य अनुपम
पाकिस्तानको चन्द्र बेग्लै छ । जापानले सूर्योदयको देश भनेर सूर्य राखेको छ । हाम्रो सूर्य र चन्द्रको उपयोग फरक छ । धेरै देशले सूर्य र चन्द्र प्रयोग गरेका छन् तर हाम्रो व्याख्यासँग कसैको मिल्दैन।

त्रिकोण आकारको नेपालको झण्डा विश्वकै एक मात्र हो । सबै देशको झण्डा चार कुना छ । हाम्रो झण्डाको माथिल्लो त्रिकोणको माथिको भाग ५७।९४४११ डिग्रीको कोणमा बनेको छ । त्यसको अर्को छेउको दायाँ कुना ३२।७५५८९ डिग्रीको छ।

तल्लो त्रिकोण केही ठूलो छ । त्यसको बायाँ कुना ९० डिग्रीको छ भने दायाँ छेउको कुना ४५ डिग्रीको छ । तलमाथिको छेउको रातो भागको चोसो बराबर रेखामा हुन्छ भने माथिको नीलो चोसो अलिकति बाहिर जान्छ।

उहाँ भन्नुहुन्छ, ‘हाम्रो पहाडहरु सबै त्रिकोण नै त्रिकोण छ, हामीलाई त्रिकोण फेर्नुपर्ने के दरकार, हेर्नेबित्तिकै यो नेपालको झण्डा हो भन्ने सिधै पत्ता लाग्छ, अरुको झण्डा एउटै रङको छ, कसैको माथि फर्केको छ, कसैको तल फर्केको छ, कसैको अगाडि त कसैको पछाडि छ, सबै झण्डामा पाँच छ वटा रङमा त छ नि, अलिकति फरक भनेको अफ्रिकनको हो।’

अरु देशको झण्डा चिन्न त सोध्न जानुपर्छ या इन्साइक्लोपिडिया पल्टाउनुपर्छ तर नेपालको झण्डा खोजिरहनु पर्दैन। यसले परम्परादेखि नै हाम्रो पहिचान राखेर छाडेको उहाँ बताउनुहुन्छ।

‘यस्तो यूनिक देश छ नि हाम्रो, त्यसैले झण्डा पनि यूनिक छ, सानो देश जहिले पनि संसारमा हेर्नैपर्ने भनेर किन हाम्रो देश माथि आउँछ त? फरक छ नि त हाम्रो मुलुक, भलै आर्थिकमा पछि परेको होला’ उहाँले भन्नुभयो।

घरघरमा झण्डा
अमेरिकामा हरेक व्यक्तिले घरमा र मोटरमा समेत झण्डा राख्न पाउँछन्। अहिले सरकारले नागरिकले समेत झण्डा राख्न पाउने व्यवस्था गरेका मा रिमाल खुशी हुनुहुन्छ । ‘ढिलै भए पनि सरकारले बुद्धिमतापूर्वक काम गरेको छ, आफ्नो गौरव हो, हरेकको घरमा राख्न किन नदिने ?’ उहाँले खुशी हुँदै भन्नुभयो।

अमेरिकामा झण्डा फ्याँक्न पाइँदैन । लडाउन र रङ पोत्न पनि पाइँदैन । सबैले पालना गरेका छन् । नेपालमा भने सरकाले जनतालाई झण्डा प्रयोग गर्न सिकाउनु पर्ने उहाँको सुझाव छ।

सरकारले यही असोज ३ गते संविधान दिवस नै झण्डामय बनाएर मनाउन लागेको सुन्दा रिमाल औधि खुशी हुनुहुन्छ।

‘पहिले नै गर्नुपर्ने काम ढिलै भए पनि गरेकामा सरकारलाई धेरैधेरै धन्यवाद दिन चाहन्छु’ खुशी हुँदै रिमालले भन्नुभयो।

यस वर्षको संविधान दिवसको नारा नै ‘संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔँ, घरघरमा राष्ट्रिय झण्डा फहराऔँ’ भन्ने छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad