कारोबार


नलगाड जलविद्युत् आयोजनाको क्षमता वृद्धि

नलगाड जलविद्युत् आयोजनाको क्षमता वृद्धि

नेपालखबर
भदौ ३१, २०७६ मंगलबार १०:७,

जाजरबोट जिल्लाको पूर्वी क्षेत्रमा निर्माण हुन लागेको नलगाड जलविद्युत् आयोजनाको सात मेगावाट विद्युत् उत्पादन क्षमता बढ्ने भएको छ। आयोजनाको विस्तृत योजना प्रतिवेदन (डीपीआर) गर्दा यो तथ्य सार्वजनिक भएको हो। चारसय दश मेघावाटबाट बढेर ४१७ मेघावाट पुग्ने आयोजनाले जनाएको छ। आयोजनाको विद्युत् उत्पादन क्षमता बढेसँगै स्थानीयवासी खुशी भएका छन्।

शुरुमा गरिएको अध्ययनले ४१० मेघावाट विद्युत् उत्पादन हुने सर्वेक्षण गरिएकामा अहिले डीपीआरको प्राराभिक प्रतिवेदनबाट सात मेघावाट विद्युत् उत्पादन क्षमता बढ्ने आयोजनाका इन्जिनियर पदम थापाले बताए।

बारेकोट गाउँपालिकाको अँधेरीखोलामा निर्माण हुने बाँधको उचाइ शुरुमा २०० मिटर रहेकामा अहिले २१० मिटर बनाइएकाले विद्युत् उत्पादन क्षमता बढने उनको भनाइ थियो। सो विषयमा वातावरण प्रभाव मूल्याङ्कनको प्रतिवेदन तयार भई वन मन्त्रालयमा स्वीकृतिका लागि पठाइएको छ। त्यसैगरी आयोजनाको जग्गा अधिग्रहणको काम समेत शुरु गरिएको छ। जलविद्युत् निर्माणस्थलका लागि अधिग्रहण गरिएको चार हजार ४६२ रोपनी ९३ हजार ८६१ कित्ता जग्गाको मुआब्जा उपलव्ध गराउनका लागि सूचनासमेत प्रकाशन गरिएको छ।

सरकारले सबै मुआब्जा दिने गरी रु दुई अर्ब ७२ करोड उपलब्ध गराएको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताए। मुआब्जा यसै वर्षमा वितरण गरिने उनको भनाइ थियो। चार वर्ष अघिदेखि मुआब्जा वितरण शुरु गरिए पनि रकम अभावमा अहिलेसम्म बाँधस्थल अँधेरीखोलामा १५० रोपनी र विद्युत्गृह निर्माणस्थलको २५० रोपनीको मात्र मुआब्जा वितरण गरिएको थियो।

मन्त्री बस्नेतले भने, ‘आयोजना निर्माणका लागि विभिन्न देशसँग छलफल जारी छ र कर्णाली प्रदेशको मुहार फेर्ने यो आयोजना तोकिएकै समयमा निर्माण गर्न हामी निरन्तर लागि परेका छौँ।’ मुआब्जा वितरण गरिएको ठाउँमा यसअघि प्रतिरोपनीे रु चार लाख ७५ हजारका दरले वितरण गरिएको थियो। अब तीन हप्ताभित्र जग्गाको मूल्याङ्कन तथा गुनासा सुनेर जिल्ला प्रशासन कार्यालयले सरोकारवालाको बैठक बोलाइ नयाँ दरभाउ तोकेर मापदण्ड बनाई मुआब्जा वितरण गरिने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए।

दक्षिण एशियाको नमूना बाध बन्न लागेकोले पर्यटकीय हिसाबले समेत यो स्थान महत्वपूर्ण हुने उनले बताए। निर्धारित मिति सकिएको कम्पनीको विस्तृत योजना प्रतिवेदन (डीपीआर)को काम चार महीनाभित्र सकिने कम्पनीका इन्जिनियर पदम थापाले जानकारी दिए। बत्तीस महीनाभित्र निर्माण गरिने भनी सम्झौता गरिएकामा काम नसकिएकाले छ महीना थपिएको थियो। सामग्री ढुवानी, सुरक्षा व्यवस्था र विस्फोटक पदार्थ समयमै आपूर्ति नहुँदा निर्धारित समयमा काम पूरा गर्न नसकिएको उक्त कन्सलटेन्टले बताएको छ।

बारेकोट गाउँपालिकाको अँधेरीखोलामा सो परियोजनाको बाँध निर्माण र नलगाड नगरपालिका–७ दल्लीमा भूमिगत विद्युतगृह निर्माण गरिने भएको छ। विद्युतगृह निर्माणका लागि ३४५ मिटर सुरुङ निर्माण गरी माटोको अवस्था पत्ता लगाउने काम शुरु गरिए पनि थपिएको मिति सकिदासम्म २५० मिटर मात्र निर्माण गरिएको आयोजनाका इन्जिनियर थापाले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad