कारोबार


सेयर घट्दा पनि नाफा हुने ‘सर्ट सेलिङ’ प्रणाली लागू गर्दै छौँ: अध्यक्ष भट्ट

सेयर घट्दा पनि नाफा हुने ‘सर्ट सेलिङ’ प्रणाली लागू गर्दै छौँ: अध्यक्ष भट्ट

नेपालखबर
असार ३१, २०८३ बुधबार १२:२३, काठमाडौँ

नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टले पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गर्न लागिएको बताएका छन्। 

बुधबार अर्थ समितिको बैठकमा सेबोन अध्यक्ष भट्टले बजार बढ्दा मात्र नभई घट्दा पनि लगानीकर्ताले प्रतिफल लिनसक्ने व्यवस्था ल्याउन ‘सर्ट सेलिङ’ प्रणाली लागू गर्न लागिएको बताएका हुन्। नेपालमा शेयर बजार सधैं बढिरहनुपर्ने भन्ने मान्यता रहेको उल्लेख गर्दै उनले कुनै पनि देशको पूँजीबजार निरन्तर उकालो मात्रै लाग्न नसक्ने बताए। 

‘नेपालको कन्टेक्स्टमा भन्ने हो भने बजार बढी नै रहनुपर्नेछ। तीन हजारमा पुगेर पनि कोही खुशी हुनेवाला छैन, तीन हजार पाँच सयमा पुगे पनि हुनेवाला छैन, पाँच हजारमा पुगे पनि हुनेवाला छैन। यसको कुनै लिमिट छैन,’ अध्यक्ष भट्टले भने, ‘बजार सधैँ बढिरहन त सक्दैन। संसारको कुनै पनि इन्डेक्सहरू बढेकोबढ्यै गर्नेवाला छैनन्।’

बजार घट्दा धितोपत्र बोर्डमाथि अनावश्यक दबाब दिने गरिएको उनको गुनासो छ। उनले बोर्डको भूमिका बजारको दिशा निर्धारण गर्नु नभई निष्पक्ष ‘प्लेइङ फिल्ड’ उपलब्ध गराउनु मात्रै रहेको बताए। 

‘अहिले हाम्रो बजारको नेचर के छ भने बजार घट्यो भने सबै चिन्तित हुन्छन्, बजार बढ्यो भने सबै खुशी हुन्छन्। बजार जहिले पनि बढिरहनुपर्छ भन्ने मान्यता छ। सबैले भन्छन् कि बजार बढ्नैपर्‍यो, बढ्नैपर्‍यो,’ उनले भने, ‘तर एकचोटी बढ्यो धेरै भने पनि फेरि धितोपत्र बोर्डले के हेरिरहेको अनावश्यक रुपमा यसरी बढेको छ भन्ने प्रश्न पनि आउँछ।’

उनकाअनुसार सर्ट सेलिङ प्रणाली लागू गरेपछि बजार घट्दा हाल आन्दोलनमा उत्रिने समस्याको अन्त्य हुनेछ। ‘अब हामीले बजार जताततै जाओस् तर इन्भेस्टरहरूले रिटर्न लिने मेकानिजम बनाउँदै छौँ। त्यो भनेको के हो भने बजार तल गयो भने पनि रिटर्न आउँछ, बजार माथि गयो भने पनि रिटर्न आउँछ,’ अध्यक्ष भट्टले भने, ‘अब छिट्टै कार्यान्वयन योग्य हुने गरी सर्ट सेलिङ भन्ने एउटा उपकरण हामीले इन्ट्रोड्युस गर्दै छौँ।’

यो प्रणाली लागू भएपछि बजार घट्ने अनुमान गर्ने लगानीकर्ताले शेयर सापटी लिएर विक्री गर्न सक्नेछन् भने मूल्य घटेपछि सोही शेयर किनेर फिर्ता गर्दा मूल्य अन्तरबाट प्रतिफल लिन सकिने व्यवस्था हुनेछ। 

‘अहिले ५० रुपैयाँको शेयर बेचिदियो भनेपछि ३० रुपैयाँ भएको बेलामा किनेर फिर्ता गर्छु भन्न पायो। उसलाई २० रुपैयाँ फाइदा हुन्छ,’ उनले भने, ‘कसैले बजार बढ्ने पो वाला छ भनेर उसले बजारमा अहिले ५० रुपैयाँमा शेयर किन्छ र ८० भएको बेलामा उसले बेचेर फाइदा कमाउँछ।’

बजार बढ्ने अपेक्षा गर्ने लगानीकर्ताले भने अहिलेझैं शेयर किनेर मूल्य बढेपछि विक्री गरी नाफा लिन सक्नेछन्। ‘अहिलेसम्म एकै लाइनमा गइरहेको हुनाले बजार बढ्नै पर्ने बाध्यता भएको हो। सोही कारण पूँजीबजार लगानीकर्ता संघहरू भएर अनि हामीलाई घेराउ गर्छन्। बजार अहिले देखिएको यो समस्या हामी समाप्त गरिदिन्छौँ,’ उनले भने। 

अध्यक्ष भट्टले यस व्यवस्थापछि बजार बढ्नैपर्ने भन्ने एकतर्फी मनोविज्ञान परिवर्तन हुने र लगानीकर्ताले आफ्नै अध्ययन तथा विश्लेषणका आधारमा निर्णय गर्ने वातावरण बन्ने दाबी गरे। उनले धितोपत्र बोर्डको जिम्मेवारी बजारमा नियम, नियमन र समान अवसर सुनिश्चित गर्नु मात्र भएको उल्लेख गर्दै लगानी निर्णय पूर्ण रूपमा लगानीकर्ताको विवेकमा निर्भर रहने बताए। 

अध्यक्ष भट्टले बजारमा फैलिने अफवाह नियन्त्रण गर्न आवश्यक नीतिगत व्यवस्था ल्याउन लागिएको पनि जानकारी दिए। हाल सम्पत्ति छानबिनलगायतका सरकारी कारबाहीका कारण लगानीकर्ताको मनोबल खस्किएको भन्ने गुनासो आएको उनको भनाई छ। 

सम्पत्ति छानबिन, निरीक्षण तथा वित्तीय अपराध नियन्त्रणसम्बन्धी विषयमा धितोपत्र बोर्डले सम्बन्धित सरकारी निकायसँग समन्वय गरेर काम गर्ने पनि उनले जानकारी दिए। उनले नेपालको पूँजीबजार सुधारको लागी बोर्डले हालै ‘नेपालको पूँजी बजार विकास मार्गचित्र, २०८३’ सार्वजानिक गरिएको पनि जानकारी दिए। 

उनले आगामी आर्थिक वर्ष बोर्डले गर्ने कार्यको लागि आर्थिक वर्ष २०८३/८४ को पूँजीँ बजार नीति पनि सार्वजानिक गरिएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad