नेपाल विद्युत प्राधिकरणले भाडावालसँग चर्को दरमा विद्युत महसुल नउठाउन घरबेटीहरुलाई सचेत गराएको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मिटर बिलमा उल्लेख गरिएभन्दा बढी महसुल भाडावालसँग घरबेटीहरुले लिने गरेको पाइएको उल्लेख गर्दै त्यसो नगर्न सचेत गराएका हुन्।
उनले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मिटर बिलमा उठेभन्दा बढी महसुल घरबेटीलाई नबुझाउन भाडावालहरुलाई पनि आग्रह गरे। नेपाल विद्युत प्राधिकरणको मिटर बिलमा उल्लेख गरिएभन्दा बढी भाडा लिन नपाउने कानुनी व्यवस्था रहेको पनि कार्यकारी निर्देशक घिसिङले स्पष्ट पारे। प्राधिकरणले विद्युत महशुल आफ्नो वेबसाईटमा उल्लेख गरिएकाले त्यसमा हेरेर त्यसको महशुल थाहा पाउन पनि उपभोक्ताहरुलाई आह्वान गरेको छ।
प्राधिकरणले आगामी चैत्र महिना भित्र ४५६ मेघावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गर्ने लक्ष्य पनि बनाएको छ । त्यसैगरी १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना, १४ दशमलव ८ मेघावाटको माथिल्लो सान्जेन विद्युत आयोजना र निजी क्षेत्रका आयोजनाहरु समेत गरेर चालू आर्थिक वर्ष भित्र एक हजार मेघावाट विद्युत थप गर्ने योजना पनि तय गरिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए।
प्राधिकरणले चालू आर्थिक वर्ष भित्रै रुकुम पूर्व, कालिकोट, जुम्ला र बाजुरा गरी ४ जिल्लामा पनि राष्ट्रिय ग्रिड पु¥याउने योजना तय गरेको छ। कार्यकारी निर्देशक घिसिङले चालू आर्थिक वर्षभित्र देशभर स्मार्ट मिटर जडान कार्य सम्पन्न गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।

प्रतिक्रिया