कारोबार


बाँदरले बाली लाउन नदिएपछि भीमफेदीका स्थानीय सिस्नोको पाउडर उत्पादनमा

बाँदरले बाली लाउन नदिएपछि भीमफेदीका स्थानीय सिस्नोको पाउडर उत्पादनमा

रिपेश दाहाल
भदौ २७, २०७६ शुक्रबार ६:४८,

भीमफेदी गाउँपालिकाका स्थानीयहरुले बारीको कान्ला तथा वनजङ्गलमा खेर गइरहेको सिस्नोको सदुपयोग गर्दै पाउडर बनाएर बिक्री वितरण गरेर आम्दानी गर्न थालेका छन्।

बाँदरले अन्नबाली, फलफूल तथा तरकारी बालीसमेत खाएर हैरान भएका किसान बारीका कान्ला तथा वनजङ्गलमा खेर गइरहेकोे सिस्नोको पाउडर बनाएर महङ्गो मूल्यमा बेचेर आम्दानी गरिरहेको गाउँपालिका–६ का अध्यक्ष जाहरसिंह लामाले जानकारी दिए।

केही स्थानीयले सिस्नोको पाउडर उत्पादन गरेर विभिन्न देशहरुमा प्रतिकिलो सात सय रुपैयाँसम्ममा निर्यात गरिरहेको र स्वदेशका विभिन्न शहरहरु र तारे हाटलमा समेत प्रतिकिलो पाँच सय रुपैयाँसम्ममा बिक्री गरिरहेको अध्यक्ष लामाले बताए। वडाले अन्नबालीको विकल्पको रूपमा सिस्नो र टिम्मुर खेतीलाई प्रवर्द्धन गर्न प्रयास गरिरहेको वडाध्यक्ष लामाको भनाइ छ। एक घण्टामा दुई डोको सिस्नोको मुन्टा टिप्न सकिने र दुई डोको सिस्नुको एक किलो धूलो बनिने अनि एक किलो सिस्नोको धूलो पाउडर प्रतिकिलो पाँच सयदेखि सात सय रुपैयाँसम्ममा बिक्री हुने भएपछि स्थानीय यसतर्फ आकर्षित भएका हुन्।

विभिन्न मुलुक र नेपालमै पनि सिस्नुको पाउडरको माग अत्यधिक रहेकाले सिस्नोलाई बालीकै रूपमा खेती गरेर किसानको आम्दानीको स्रोत बढाउने कार्यक्रम थालेको वडाध्यक्ष लामाले बताए। हाल कतिपय किसानले ओखलमा पिनेर धूलो बनाउने गरेको भए पनि उत्पादन वृद्धि गर्न र लागत खर्च घटाउन गाउँपालिकाले वडामा चार समूह बनाएर सिस्नोको पाउडर बनाउने मेसिन वितरण गरेको अध्यक्ष लामाको भनाइ छ।

सिस्नोको मुन्टा टिपेर प्रत्यक्षरूपमा घाम नपर्ने गरी केही दिन सुकाएर अख्र्याएपछि मेसिनमा वा ओखलमा पिनेर पाउडर बनाउन मिल्ने बताउँछिन् सिस्नोको पाउडर बनाउने तालिम दिँदै आएकी विमला विश्वकर्मा। वडा सदस्यसमेत रहेकी विश्वकर्माका अनुसार खुल्ला आकाशमा प्रत्यक्ष घाम पर्ने गरी सुकाउँदा सिस्नोको हरियोपना र औषधीय गुण नष्ट हुनुका साथै धूलो पर्न सक्ने हुँदा सिस्नोलाई खुल्ला आकाशमा सुकाउनुहुँदैन।

सिस्नो औषधीय गुणले भरिपूर्ण भएको कारण धेरै व्यक्तिहरुले यसको सेवन गर्ने गरेको बताउँछन् त्रिभुवन विश्वविद्यालय वन विज्ञान क्याम्पसका प्राध्यापक कृष्णप्रसाद दाहाल। वनजङ्गल वन्यजन्तु तथा वातावरण विज्ञ प्राध्यापक दाहालका अनुसार मुन्टा टिप्दा वा फेर्दै लगाएर काट्दासमेत सिस्नो मासिदैन झन मौलाएर आउँछ।

समुद्री सतहबाट २०० मिटरदेखिको चिस्यानयुक्त माटोमा सिस्नो पाइए पनि ७०० देखि एक हजार ३०० मिटरको उचाइमा सिस्नो प्रशस्त पाइन्छ। खेतीकै रूपमा लगाउने हो भने फलफूलको बगैँचाभित्र लगाएर दोहोरो आम्दानी गर्न सकिने उनको भनाइ छ। प्रत्यक्ष घाम नलाग्ने ठाउँमा राम्रोसँग सप्रिने हुँदा सेपिलो वा अन्य बाली नसप्रने ठाउँमा पनि सिस्नो लगाउन सकिने उनले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad