कारोबार


क्रिप्टोकरेन्सीले अमेरिकी डलरलाई विस्थापित गर्न सक्ला?

क्रिप्टोकरेन्सीले अमेरिकी डलरलाई विस्थापित गर्न सक्ला?

केभिन ट्रबलेट
भदौ १८, २०७६ बुधबार १०:४३,

बैंक  अफ इङल्यान्डका गभर्नर मार्क कार्नीले फेसबुकको लिब्राजस्तै क्रिप्टोकरेन्सीले एक दिन विदेशी विनिमय बजारमा अमेरिकी डलरको एकल साम्राज्य ढाल्न सक्ने चेतावनी दिएका छन्। कार्नीले हालै केन्द्रीय बैंकरहरूको ज्याक्सन होल सिम्पोजियममा अमेरिकी डलरको विश्वव्यापी आधिपत्य जोगाउन केही सुझावहरु दिए।

यहाँ किन अमेरिकी हरियो नोटले आफ्नो चमक गुमाउँदै छ र कार्नीको नयाँ डिजिटल मुद्रासम्बन्धी दृष्टिकोण के हो भन्नेबारे संक्षिप्त आँकलन गरिएको छ। कार्नीको नयाँ डिजिटल मुद्रासम्बन्धी दृष्टिकोणलाई विश्वका प्रमुख केन्द्रीय बैंकहरूले समर्थन गर्ने विश्वास गरिएको छ।

डलरको वर्चस्व किन ?
सन् १९४४ को ब्रेटन वुड्स सम्झौतापछि अमेरिकी डलरलाई विश्वकै सन्दर्भ मुद्राका रुपमा लिँइदै आएको छ र त्यतिबेला विभिन्न प्रमुख एकाईहरुलाई हरियो नोटसँग सामान्जस्य बनाइएको थियो। त्यसयता, संयुक्तराज्य अमेरिकाको आर्थिक र राजनीतिक शक्तिका कारण डलरले विश्वव्यापी वर्चस्वलाई कायमै राखेको छ ।

'प्रमुख मुद्राले सधैँ विश्वको सबैभन्दा ठूलो राजनीतिक शक्तिको मान्यता हासिल गरेको हुन्छ', ओस्ट्रम एसेट म्यानेजमेन्टका अनुसन्धान प्रमुख फिलिप विच्टरले उल्लेख गरे। अन्तर्राष्ट्रिय मुद्राकोषका अनुसार सन् २०१९ को पहिलो त्रैमासिकमा विश्वव्यापी विदेशी विनिमय सञ्चितिको करिब ६२ प्रतिशत हिस्सा डलरको थियो।

युरोपेलीको एकल मुद्रा यूरोको २०.२ प्रतिशतसहित दोस्रो स्थानमा थियो। जबकि अमेरिकापछि विश्वको दोस्रो सर्वाधिक ठूलो अर्थतन्त्रको रूपमा उदय भए पनि चिनियाँ युआनले दुई प्रतिशतमात्र हिस्सा ओगटेको छ।

हरियो नोटको आकर्षण किन खस्किँदै छ?
विश्वव्यापीकरण र परिवर्तित विश्व अर्थव्यवस्थाका कारण अमेरिकी डलरले आफ्नो चमक गुमाएको देखिए पनि डलरको व्यापक स्वीकार्यताले अझै पनि विश्व अर्थतन्त्रलाई प्रभावित तुल्याइरहेकै छ ।

mark carneyबैंक अफ इंग्ल्यान्डका गभर्नर मार्क कार्ने।

'व्यापार र अमेरिकी अर्थतन्त्रसँग सापेक्षित रुपमा सीमित प्रत्यक्ष जोखिमबाट मुलुकहरुको वित्तीय अवस्था दुवैमा अमेरिकी विकासले अत्यावश्यकीय प्रभाव सिर्जना गरिरहेको छ', वाओमिङमा हालै बैङ्करहरूसँगको भेटमा कार्नीले भने। जब डलरको अधिमूल्यन हुन्छ, जसबाट कयौँ उदीयमान मुलुकहरूको पुनर्भुक्तानीमा पनि अधिमूल्यन हुन्छ किनभने ती मुलुकहरूले डलरमै ऋण भुक्तानी गर्नुपर्दछ।

सन् २०२० को जनवरीबाट पदमुक्त हुन लाग्नुभएका गभर्नर कार्नीले भने, 'पछि गएर हामीले यो खेललाई बदल्नै पर्दछ।'

केन्द्रीय बैंकको भूमिका?

कार्नीका अनुसार केन्द्रीय बैङ्कको रूपमा सरकारले नयाँ भर्चुअल मुद्राका लागि सर्वोत्कृष्ट व्यवस्था गर्नुको विकल्प छैन । 'सार्वजनिक क्षेत्र सम्भवतः केन्द्रीय बैङ्कहरुको सञ्जाल मार्फत डिजिटल मुद्रा (क्रिप्टोकरेन्सी) लाई खुला प्रचलनमा ल्याउन सक्लान् त भन्ने यो एउटा खुला प्रश्न हो', कार्नीले भने।

फेरि पनि केन्द्रीय बैङ्करहरू र विश्वका नेताहरू क्रिप्टोकरेन्सीको वर्तमान खेतीप्रति चिन्तित रहेका छन् किनकी तिनीहरू अवैध र अनियन्त्रित छन्। डलरजत्तिको भरपर्दो नभएको र कुनै स्थायी वा निर्भरता नभएकाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफैँले बिटकोइन र फेसबुकले चलनचल्तीमा ल्याउन खोजेको लिब्राको आलोचना गरेका छन्।

विश्वको प्रमुख सञ्चित मुद्राको रूपमा विश्वभर बर्चश्व कायम राखेको हरियो नोटको प्रतिष्ठा र लोकप्रियता खस्कियोस् भन्नेमा अमेरिका पक्कै छैन। विश्वका प्रबुद्ध टिप्पणीकारहरु अमेरिकाले डलरको बर्चश्व जोगाउन भरमग्दुर प्रयत्न गर्नेमा विश्वस्त छन् ।

'कुनै लडाइँबेगर अमेरिकाले यस्तो गर्ने अनुमति अरुलाई दिने छैन । कोही पनि अहिल्यै अमेरिकासँग लड्न इच्छुक देखिँदैन', राबो बैङ्कका विश्लेषकहरूले बताए ।

लिब्राको भविष्य के हुनेछ ?
गभर्नर कार्नीले जुन महिनामा सामाजिक सञ्जाल फेसबुकले सार्वजनिक गरेको लिब्रा नामको क्रिप्टोकरेन्सीको उदाहरण दिए। कार्नीले बिटकोइनका बारेमा केही भन्नु भएन । समकालीन विश्वमा यो सबैभन्दा लोकप्रिय डिजिटल मुद्रा हो तर यसमाथि विश्वासको संकट छ।

libraaaa

सन् २०२० को पहिलो छ महिनामा प्रयोगमा ल्याउने उद्देश्य रहेको लिब्रालाई बिटकोइन र अन्य भर्चुअल मुद्राजस्तै अनियन्त्रित घटबढबाट बचाउन जरुरी छ। यहाँ विश्व बजारमा लिब्राको प्रवेशले केन्द्रीय बैङ्कहरूको भूमिकालाई पुनः आकर्षित गरेको छ।

'केन्द्रीय बैङ्कहरू परिवर्त्य मुद्रालाई निजीकरण गर्ने फेसबुकको प्रयासबाट केही क्रुद्ध बनेका छन्”, पेरिस स्कूल अफ इकोनमिक्सका अनुसन्धाता एग्नेस बेनासी–क्वेरले भने। लिब्रा फेसबुकसहित १०० साझेदार फर्महरूद्वारा सह–व्यवस्थित हुनेछ जबकि बिटकोइन पूर्ण रुपमा विकेन्द्रित छ। (रासस/एएफपी)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad