कारोबार


तीन नेपाली पक्राउ, सात चिनियाँ र एक फ्रान्सेली नागरिकको संलग्नता पुष्टि

तीन नेपाली पक्राउ, सात चिनियाँ र एक फ्रान्सेली नागरिकको संलग्नता पुष्टि

दीपक खरेल
भदौ १६, २०७६ सोमबार ९:५६,

एटीएम ह्याक गरी पैसा लुट्ने ह्याकहरूविरुद्ध प्रहरीले शनिबार साँझ ४ बजे सुरु गरेको कारबाहीमा पाँच जना चिनियाँ र एक फ्रान्सेली नागरिकलाई पक्राउ गरेको छ।

अनुसन्धान अधिकारीहरुका अनुसार सोमबार अपराह्नसम्मको अनुसन्धानमा घटनामा आठ जना विदेशी नागरिकको संलग्नता पुष्टि भएको छ। उनीहरुलाई सघाउने तीन नेपाली पक्राउ परेका छन्।

प्रहरीले चिनियाँ ह्याकरविरुद्धको अप्रेसनमा उनीहरुले नेपाली रुपैयाँ साट्ने दुई मनि चेञ्जरको पहिचान गरेको हाे। महानगरीय प्रहरीपरिसर काठमाडौंको विशेष टोलीले चिनियाँ टोलीले २९ लाख ९९ हजार रुपैयाँबराबर अमेरिकी डलर साट्ने दुई मनि चेञ्जरका सञ्चालक र प्रबन्धकलाई पक्राउ गरेको छ।

परिसरका अनुसार ठमेलमा रहेको डेक्सो मनि चेञ्जर र नेपालय मनि चेञ्जरले अनधिकृत रुपमा चारजना चिनियाँलाई २८ हजार ८ सय ६२ अमेरिकी डलर सटही गरिदिएका थिए। नेपाली रुपैयाँ सस्तोमा किनेर महंगोमा डलर बेच्ने डेक्सोका सञ्चालक वेदनाथ लामिछाने र नेपालयका सञ्चालक रोशन प्रधान श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। घटनामा प्रत्यक्ष संलग्न रहेका नेपाललयका प्रबन्धक रेवती दवाडी समेत पक्राउ परेका छन्।

अनुसन्धान अधिकारीहरुका अनुसार शनिबार बिहानदेखि एटीएमबाट पैसा निकाल्न थालेका चार जना चिनियाँले आलोपालो गरी ठमेलका यी दुई मनि चेञ्जरमा पुगेर पैसा साटिरहेको क्लोज सर्किट क्यामेरामा भेटिएको छ।

प्रहरीले दुवै मनि चेञ्जरका सीसीटीभी फुटेज समेत लिएर अनुसन्धान गरिरहेको छ। शनिबार राति भएको एटीएम ह्याक घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको छ। सोही क्रममा थप विवरण सार्वजनिक भएको हो।

परिसरबाट अनुसन्धानको नेतृत्व गरिरहेका डीएसपी होविन्द्र बोगटीले मनि चेञ्जरबाट लुटिएको रकम बरामद भएको बताए। उनले दुवै मनि चेञ्जरले गैरकानुनी रुपमा नेपाली रुपैयाँ सटही गरेकाले सोही कसुरअनुसार मुद्दा अघि बढने बताए।

‘हामीले नेपाल राष्ट्र बैंकको रिपोर्टअनुसार लुटिएको रकम लगभग बरामद गरेका छौं,’ डीएसपी बोगटीले भने, ‘विमानस्थलमा पक्राउ परेका आरोपीसँग समेत ६ हजार अमेरिकी डलर बरामद भएको छ।’ बोगटीले फरार रहेका दुई जनाले मनि चेञ्जरबाट साटेको रकम लिएर फरार भएको आशंका व्यक्त गरे।

परिसरको टोलीले भिसा कार्डको एउटा स्विच ह्याक गरेर करिब दुई करोड रकम निकाल्ने ५ चिनियाँ र एकजना फ्रान्सेली नागरिकलाई पक्राउ गरेका अनुसन्धान गरिरहेको छ। परिसरको विशेष टोलीले शनिबार राति नियन्त्रणमा लिएका पाँच जना चिनियाँ नागरिकसँग चीनको राहदानी फेला परेको छ।

विमानस्थलबाट पक्राउ परेका नागरिकसँग फ्रान्सको राहदानी फेला परेको छ। प्रहरी खोजीमा रहेका अन्य दुईको विवरण प्रहरीले गोप्य राखेको छ।

डीएसपी बोगटीले फरार रहेका दुई जना समेत चीनकै राहदानी वाहक भएको बताए। उनले दुवैको खोजी भइरहेको बताउँदै उनीहरू फेला नपरे मुद्दा अघि बढ्ने र इन्टरपोलको सहयोग लिने समेत बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .