माछापुच्छ्रे बैंकले श्वेताश्री फाउण्डेसनद्वारा सिन्धुपाल्चोकमा निर्माणाधीन एकीकृत नमूना माझी बस्तीलाई आर्थिक सहयोग गरेको छ। बैंककोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले फाउण्डेसनकी अध्यक्ष नायिका श्वेता खड्कालाई सात लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
श्वेताश्री फाउण्डेसनले भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोक जिल्लाको चौतारा, साँगाचोकमा माझी बस्तीको लागि ५३ वटा भूकम्प प्रतिरोधात्मक घरहरु निर्माण गरिरहेको छ। ५३ वटा भूकम्प प्रतिरोधात्मक आवाससहित अन्य पूर्वाधारको समुचित व्यवस्थापन गरी एकीकृत नमूना बस्तीको निर्माण गरिरहेको फाउण्डेसनलाई आवश्यक अन्य पूर्वाधार निर्माणमा सहज होस भन्ने उद्देश्यले बैंकले उक्त आर्थिक सहयोग गरेको हो।
अहिलेसम्म ५३ वटा आवास निर्माणको कार्य सकिए पनि आर्थिक अभावका कारण सडक, बालबगैँचा, स्वास्थ्य चौकी, रिटेनिङ्ग वाललगायत अन्य आवश्यक पूर्वाधारहरु निर्माणको काम अगाडि बढ्न कठिनाइ देखिएको कारण बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको हो ।
माछापुच्छ्रे बैंकले आफ्नो संस्थागत सामाजिक उत्तदायित्वअन्तर्गत सुरक्षा निकायका विभिन्न अंगहरुलाई भौतिक सहयोग तथा दैवी प्रकोपबाट प्रभावितहरुको उद्धार तथा पुनर्स्थापनामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ भने देशका विभिन्न स्थानहरुमा वृक्षरोपण, वित्तीय साक्षरतालगायतका कार्यक्रमहरुको आयोजना समेत गर्दै आएको छ।

प्रतिक्रिया