जेफ लसन आफ्नो नयाँ व्यवसाय सुरु गर्ने तरखरमा थिए। नयाँ स्टार्टअप ट्वलियोका लागि लागि उनले लगानी सुरक्षित गर्दै गएका थिए। तर मानिसहरुले सो कम्पनीको भविष्य उज्वल देखेनन्।
त्यसपछि के भयो त?
यो सन् २००८ को सेप्टेम्बर १५ को कुरा हो। त्यो सोमबार जेफ र उनका दुई संस्थापक सिलिकन भ्यालीमा लगानीकर्तासँग बैठक गर्न जाँदै थिए। ‘त्यहाँबाट आफ्नो व्यवसायको लागि लगानी भित्र्याउने करिब करिब औपचारिकता मात्रै थियो’, जेफ सम्झिन्छन्, ‘अरु सबै कुरा पहिलै तय भइसकेका थिए। ट्वलियोका लागि लगानी कागजी औपचारिकतामा मात्र पूरा हुन बाँकी थियो।’
यो त्यो बेलाको कुरा हो जतिबेला जेफ ३१ वर्षका थिए। दुर्भाग्यवश अमेरिकी लगानी बैंक लेह्मन ब्रदर्स त्यही बेला आर्थिक मन्दीका कारण वित्तीय संकटमा पर्यो। त्यसले उनको सपनालाई धक्का दियो।
जोशका साथ सुरु हुन लागेको एउटा स्टार्टअपका लागि यो एक किसिमको बज्रपातजस्तै थियो। धेरै सपना बुनिरहेका उनी त्यो क्षण सम्झँदा अहिले पनि दिक्क मान्छन्। ‘हामी हिँड्दै थियौँ। त्यतिबेला यस्तो लाग्यो कि चेकबुकहरु बन्द भइसके। मानिसहरु भौतारिरहेका थिए। संसार पग्लिँदै गएझैँ लाग्यो’, उनी भन्छन्।
‘मेरा सहसंस्थापक र मैले एकअर्कातिर हेर्यौं र सोच्यौँ, यो एकदमै रद्दी सोच हो, सायद निकै उच्छृंखल पनि’, जेफ सम्झिन्छन्।
जेफ र उनका साथीहरु एभान कुक र जोन वुल्थससँग सफ्टवेयर व्यवसाय गर्ने सोचमा थिए। एउटा त्यस्तो सेवा जसबाट टेक्स म्यासेज, अडियो र भिडियोमार्फत् प्रयोगकर्तालाई स्वतः सञ्चार गर्ने सुविधा मिल्न सक्थ्यो।
***
त्यो समयलाई बिर्सेर अहिले हेर्ने हो भने सान फ्रान्सिस्कोस्थित ट्वलियो न्युयोर्क स्टक एक्सचेन्जमा सूचीकृत कम्पनी हो। र जेफ फोर्ब्समा सूचिकृत अर्बपति।
यो कम्पनी १४ अर्ब डलर मूल्यको बनेको छ। कम्पनीले सन् २०१८ मा वार्षिक आम्दानी मात्रै ६५ करोड डलरको गरेको थियो। यसका अहिले हजारौँ ग्राहकहरु छन्। उबर, ह्वाट्सएप, कोकाकोला, एयरबीएनबी, ट्विटर, इबे र बेलायती रिटेलर माक्र्स एण्ड स्पेन्सर समेत यो कम्पनीका उपभोक्ता बनेका छन्।
जब तपाईं उबर ड्राइभरबाट टेक्स्ट मेसेज (सन्देश) पाउनुहुन्छ, ट्वलियोको प्रविधिले तपाईंहरुबीचको अन्तक्र्रिया सम्हालेको हुन्छ। त्यस्तै, जब तपाईं एमएण्डएसलाई टेलिफोन गर्नुहुन्छ, ट्वलियोको प्रविधिले तपाईको कल रुट गर्छ। यतिमात्र होइन, धेरै कम्पनीको मोबाइल एपबाट तपाईंले पाउने नोटिफिकेसन पनि ट्वलियोकै प्रविधिमा नियमित हुन्छ।
यति भनिसकेपछि पुनः फर्कौँ सन् २००८ को सेप्टेम्बरमा।
ट्वलियोले उक्त सफलता हासिल गर्न निकै टाढा थियो। जेफ र उनका साथीले मार्चमा कम्पनी खोलेका थिए। लगानी नआउने भएपछि कम्पनीको भविष्य नै संकटमा पर्ने देखियो तर उनीहरुले कम्पनी बन्द नगर्ने अठोट गरे। समस्या एउटै प्रश्नमा गएर अडियो, कसरी सञ्चालन गर्ने त? यो प्रश्न आफैँमा शक्तिशाली थियो। उनीहरुले आफ्ना परिवार र साथीहरुसँग केही खर्च जोहो गरे। र कमसेकम सुहाउँदो उत्पादन निकाल्ने तय गरे। जुन उनीहरुले सोचेभन्दा परको कुरा थियो।
जसोतसो जम्मा पारेको रकम सकिन थालेपछि जेफ र उनकी श्रीमतीले बिहेमा पाएको उपहार बेचे। त्यो एउटा पीडाको क्षण थियो। वास्तवमै त्यतिबेला जेफ कम्पनीका लागि दिलोज्यान दिएर काम गरिरहेका थिए।
ट्वलियोमा पहिलो कर्मचारी एक जना मानिस थिए, जसले हराएको मोबाइल भेट्टाउन मानिसलाई मद्दत गर्ने वेबसाइट डिजाइन गरेका थिए। जेफ र उनका साथी मिलेर त्यो प्रक्रियालाई स्वचालित बनाए।
खासै उल्लेखनीय नभए पनि व्यवसायलाई गुणस्तरीय बनाउन उनीहरुले हार मानेनन्। अन्ततः सोही वर्ष नोभेम्बरमा उनीहरुको व्यवसायको ब्रेक थ्रु भयो। ट्वलियोले आफ्नो प्रविधि बजारमा सार्वजनिक गर्यो। त्यतिबेला माइकेल एरिंग्टन जो टेकक्रन्च संस्थापक समेत हुन्, उनलाई प्रांक गर्दै बेलायती गायक रिक एस्टलेको गीत ‘नेभर गोन्ना गिभ यु अप’ को रेकर्डिङ टेलिफोन गरियो। त्यो बेला अचानक गीत बजाउने क्रेज चलिरहेको थियो।
आकस्मिक रुपमा गीत बज्नुलाई ‘रिकरोलिङ’ परिघटनाका रुपमा लिइन्थ्यो। यही घटनाले ट्वलियोतर्फ धेरैको ध्यान आकर्षित भयो। सोनी म्युजिकले अर्को दिन जेफलाई सम्पर्क गर्यो। ‘हेर्नुहोस्, हामी सानो प्रवद्र्धन गर्दै छौँ जहाँ ब्यान्डले भ्वाइसमेल रेकर्ड गर्छ र हामी यसलाई फ्यानसम्म पुर्याउने प्रयास गर्छौँ, के हामी यो बनाउन सक्छौँ त?’, सोनीले जेफलाई सोधेको थियो।
जेफले तत्कालै जवाफ दिए, ‘यह स्योर’। उनी भन्छन्, ‘मैले त्यस्तो आइडिया कहिल्यै सुनेको थिइनँ।’
क्लाइन्टको रुपमा सोनी म्युजिक सँगै भएपछि जेफले यसअघि गुमाएका लगानीकर्ता पुनः फर्किए। यसपटक उनीहरुले जेफलाई ‘नो’ भनेनन् र ट्वलियोले १० लाख डलरको बीज कोष (बीउपुँजी) सन् २००९ मा प्राप्त गर्यो।
पछि सन् २०१६ सम्म आइपुग्दा उक्त लगानी बढेर २६ करोड १० लाख डलर पुग्यो भने कम्पनी सेयर बजारमा समेत सूचीकृत भयो। आजसम्म ट्वलियोको १० वटा देशमा १६ वटा कार्यालय खुलिसकेका छन्। कम्पनीले १ हजार २ सय ७५ जनालाई रोजगारी समेत दिएको छ। आफ्ना ग्राहकसँग गर्ने हरेक सञ्चार सम्पर्क नै ट्वलियोको ‘बिजनेस मोडल’ हो। सामान्य टेक्स्ट मेसेजका लागि अमेरिकामा ०.००७५ डलर शुल्क लाग्छ। यसरी हेर्दा यो धेरै ठूलो जस्तो लाग्दैन तर जब दशौँ लाख प्रयोगकर्ताले मेसेज गर्छन्, यसले धेरै आम्दानी गर्छ।
जेफ उद्यमी बने
अमेरिकामा कार प्लान्टहरुको सहर भनिने डेट्ररोइटमा हुर्किएका जेफ १३ वर्षदेखि नै उद्यमशीलतामा प्रवेश गरेका थिए। उनले त्यति सानो उमेरमै भिडियो प्रोडक्सन कम्पनी खोलेका थिए। त्यतिबेला उनलाई यो भनेको के हो भन्नेबारे थोरैमात्र जानकारी थियो।
‘मेरो पहिलो अवसर एक जना तीन वर्षीय बालकको बर्थडे पार्टी हो’, उनी भन्छन्, ‘त्यो बेला म विद्यालयबाट ग्रेजुएट थिएँ र विवाह पार्टीको भिडियोहरु बनाउँथेँ।’ त्यसबाट उनले १५ हजार डलर आम्दानी गरेका थिए। विद्यालयबाट ग्रेजुएट हुँदा नै उनी उद्यमशीलताबाट धेरै पैसा बचाउन सफल भइसकेका थिए। त्यसपछि उनले कोडिङ सिके र आफ्नै बाबुको अफिसमा कम्प्युटरमा प्रोग्रामिङ लेखे।
पछि उनले कम्प्युटर विज्ञान र फिल्म पढे। मिचिगन युनिभर्सिटीबाट भिडियो कोर्सहरु गरे। व्यवसायमा उत्तिकै लगाब भएकाले उनले नोट्स फर फ्रि नामको कम्पनी पनि चलाए। यसले साथीहरुसँग नोटहरु र अध्ययन सामग्री बाँड्न सहयोग मिल्यो। त्यसपछि उनले ठूला टिकेटिङ कम्पनीहरु स्टबहब र अमेजनमा पनि काम गर्ने अवसर पाए। अनि बल्ल ट्वलियोको आइडिया उनको मस्तिष्कमा जन्मिएको हो।
खराब समय र परिस्थितिको कारण कम्पनी सफल बन्न सकेको थिएन। यो केवल त्यस्तो व्यवसायका रुपमा देखा प¥यो जसको उद्देश्य युवा लक्षित ग्राहक थियो। उनीहरुले मेसेज पाएर पनि फोन गर्दैनथे। गर्नै परेमा पनि उनीहरु होल्ड गरेर बस्दैनथे।
यो व्यावसायिक यात्रामा उतारचढाव पनि उत्तिकै आइरह्यो। सन् २०१६ र १७ मा त कम्पनीले वाल स्ट्रिटको निर्धारित आम्दानी सीमा समेत भेट्टाउन सकेन। सेयर झन् खस्कियो। प्रविधिमा लगानी ट्रयाक गर्ने क्रन्चबेस वेबसाइटका प्रधानसम्पादक एलेक्स विल्हेल्मका अनुसार सन् २०१६ को मध्य सुरु हुँदा ट्वलियोले आधाभन्दा बढी कम्पनीको मूल्यमा ह्रास भएको थियो। जुन सन् २०१८ को सुरुवातसम्म कायमै रह्यो।
त्यसयता कम्पनी राम्रैसँग चलिरहेको छ। अब यो कम्पनी नाफा बढाउन सफल भएको छ। कम्पनीको मूल्य नै अहिले १४ अर्ब डलर पुगेको छ। (बीबीसीबाट अनुवाद)

प्रतिक्रिया