ad ad

कारोबार


ओली र नेपाललाई मेरियटमा भेट गराउने एमएस ग्रुपले भित्र्याउँदै छ टाटा नुन

ओली र नेपाललाई मेरियटमा भेट गराउने एमएस ग्रुपले भित्र्याउँदै छ टाटा नुन

दीपक भट्ट
असार ११, २०७८ शुक्रबार १२:४१,

नेकपाको विवाद चरम विन्दुमा पुगेका बेला केपी शर्मा ओली र माधवकुमार नेपाललाई मेरिएट होटलमा राखेर छलफल गराउने एमएस ग्रुपका सञ्चालकहरुले भारतको टाटा नुन भित्र्याउने तयारी थालेका छन्।

एमएस ग्रुपले नेपालमा पाँचतारे होटल सञ्चालन गर्दै आइरहेको छ। सोही होटलमा गत वैशाख ८ गते पार्टीको आन्तरिक विवादमा मुछिएका प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकमाुर नेपालबीच भेटवार्ता भएको थियो।

त्यो समयमा बजेट निर्माणको काम हुँदै थियो। संविधानअनुसार हरेक वर्ष जेठ १५ मा बजेट सार्वजनिक गर्नुपर्छ। त्योअघि नै बजेटमा निजी क्षेत्रले आफ्नो माग र सुझाव राख्ने समेत गर्छन्। त्यसमा सरकारले उपयुक्त देखेको खण्डमा माग सम्बोधन गर्ने समेत गर्छ।

एमएस ग्रुपले पनि नेपालको नुन बिक्रीमा साल्ट ट्रेडिङ कर्पोरेसनको मात्रै सिन्डिकेट रहेको र त्यसमा निजी क्षेत्रलाई समेत दिनुपर्ने माग राखेको थियो।

तर दुई वर्षअघि नै एमएस ग्रुपले दुई वर्षदेखि भारतको टाटा नुन बिक्री गर्न चाहिरहेको थियो। यसै सिलसिलामा दुई वर्षअघि एक दैनिक पत्रिकामा विज्ञापन समेत गरेको थियो। नेपालभर टाटा नुनको बिक्री गर्न चाहने बिक्रेताको आवेदन माग गरेको थियो।

यो आवेदन माग गर्ने कम्पनी थियो– मिलिनिया ग्लोबल प्रालि।

यो एमएस ग्रुपअन्तर्गतको कम्पनी हो। तर त्यति बेला मिलिनिया ग्लोबलले नेपालमा नुनको कारोबार गर्न पाएन।

नेपालमा नुनको कारोबार गर्ने अधिकार साल्ट ट्रेडिङलाई मात्र दिइँदै आएको छ।

KPOli MadhavNepal Marriott Baisakh77वैशाख ८ गते मेरियट होटेलमा भेटवार्ता गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल

को हो मिलिनिया ग्लोबलको नेतृत्वकर्ता?
दुई वर्ष अघिसम्म एमएस ग्रुपका अध्यक्ष शशीकान्तका बाबु शिवकुमार अग्रवाल रहेका थिए। उनको निधन भएपछि यो ग्रुपको अध्यक्षता शशीकान्त अग्रवालले गर्दै आएका छन्।

नेपालमा एमएस ग्रुपको बिजनेस सुरु गर्ने संस्थापक मित्रलाल अग्रवाल हुन्। उनी शशीकान्त अग्रवालका हजुरबुबा हुन्। मित्रलालका छोरा शिवकुमार र शिवकुमारका छोरा शशीकान्त अग्रवाल हुन्।

अहिले नुनको कारोबारको नेतृत्वचाहिँ शशीकान्त अग्रवालले गर्न लागेका होइनन्। उनका भतिज उमंग अग्रवालले नुनको कारोबार गर्न लागेका हुन्।

उनी अहिले पनि भारतको टाटा कम्पनीको मसलालगायतका वस्तुहरु नेपालमा बिक्रीवितरण गर्ने गर्छन्।

यस्तो छ नीतिगत व्यवस्था
आगामी आर्थिक वर्षका लागि सार्वजनिक बजेटको बुँदा नम्बर २११ मा नुनको आपूर्तिसम्बन्धी कुरा उल्लेख छ।

जसमा भनिएको छ, ‘आयोडिनयुक्त नुन आपूर्तिलाई सर्वसुलभ, गुणस्तरीय एवम् न्यून मूल्यमा उपलब्ध गराउन निजी क्षेत्रको सहभागितामा नुन उत्पादन तथा वितरण प्रतिस्पर्धी बनाइनेछ।’

यस व्यवस्थाले अब साल्ट ट्रेडिङबाहेक जोसुकै व्यवसायीले पनि नेपालमा नुन बिक्रीवितरण गर्न सक्ने भएका छन्।

जेठ १५ मा आएको बजेटको कार्यान्वयन भने साउन १ गतेदेखि मात्रै हुन्छ।

तर यो अवधिमा नै मिलिनिया ग्लोबल कम्पनीले सरकारसमक्ष नुन बिक्रीको आधिकारिक बिक्रेता बन्न चासो देखाइसकेको छ।

त्यसको लागि आधिकारिक कागजात पेस नभए पनि मौखिक रुपमा प्रस्ताव अघि बढाइसकेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीले नेपालखबरलाई जानकारी दिए।

दुगडलाई आरोप मात्र
प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार तथा व्यवसायी मोतिलाल दुगडलाई नुन बिक्री गर्न बजेटमा नीतिगत व्यवस्था गर्न लगाएको आरोप सरोकारवालाहरुले लगाएका छन्।

साल्ट ट्रेडिङले नै बिक्री गरेको नुन नयाँ बट्टामा प्याकेजिङ गरेर सेन्चुरियन ब्राण्डमा बिक्री गरेका दुगडलाई केही समयअघि त्यसरी नुन बिक्री गर्न नहुने भन्दै उपभोक्ता अधिकारकर्मीहरुले विरोध गरेका थिए। त्यसपछि उनले नुन व्यवसाय नै बन्द गरे।

उनी गत कात्तिकमा नै यसरी विवादमा आएपछि अहिलेको बजेटमा समेत नुनको कारोबार गर्न बजेटमार्फत नीतिगत व्यवस्था गराइएको आरोप लगाइएको हो।

तर उनी भने आफूलाई नुनको कारोबारमा कुनै चाहना नै नभएको बताउँछन्।

उनले भने, ‘निजी क्षेत्रलाई नुन बिक्री गर्न दिनु भन्ने मेरो कुनै लबिङ पनि छैन। र, मलाई व्यक्तिगत रुपमा त्यसमा चाहना पनि छैन। त्यस्तो आरोप लगाउनु व्यर्थ हो।’

त्यसरी नुनको कारोबार गर्न दिन सरकारले गरेको नीतिगत व्यवस्थामा आफ्नो नाम मुछिनु निन्दनीय भएको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .