कारोबार


साढे ४ अर्बले खुम्चियो सेयर कारोबार रकम, नेप्से पनि ओर्लियो

साढे ४ अर्बले खुम्चियो सेयर कारोबार रकम, नेप्से पनि ओर्लियो

नेपालखबर
असार ३, २०७८ बिहिबार १०:१,

सेयरबजारमा आज पनि गिरावट देखिएको छ।

बजार परिसूचक नेप्से १.२९ अंकले घटेको दिन क वर्गका कम्पनीको मापन गर्ने सेन्सिटिभ सूचक पनि आज शून्य दशमलव ५८ अंकले ओरालो लागेको छ।

अघिल्लो दिन नेप्से ५२ अंकले झरेको थियो।

साताको अन्तिम कारोबार दिन आजको कारोबारमा २ सय २३ कम्पनी सामेल भएकामा २ करोड ३ लाखभन्दा बढी कित्ता सेयर बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

दिनभरिमा १ लाख २४ हजार ५ सय ६१ पटकको खरिदबिक्रीसँगै १० अर्ब ९० करोड ४९ लाखको कारोबार भएको छ।

आज वाणिज्य बैंक, व्यापार, जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र लगानी समूहको सूचक ओरालो लागेका छन्।

घटेको कारोबारमा कमाउने लगानीकर्ताको आम्दानी दर पनि घटेको छ।

आज एउटा पनि कम्पनीको सेयर मूल्यवृद्धिदर १० प्रतिशत पुगेन। नेप्सेका अनुसार खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले आज ६.३६ प्रतिशत अर्थात् प्रतिसेयर १८ रुपैयाँ आम्दानी गरेका छन्।

त्यस्तै, नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताले पनि आज ५.८४ प्रतिशत मात्रै आम्दानी गरेका छन्। उक्त आम्दानी दर आजको सर्वाधिक हो।

गुमाउने लगानीकर्ताले आज ७ प्रतिशतसम्म गुमाएका छन्। सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताले आज सर्वाधिक ६.९६ प्रतिशत गुमाएका छन्।

धितोपत्र बोर्डले गत मंगलबार ५१ कम्पनीको सेयर मूल्य अवस्थाबारे प्रारम्भिक अध्ययन गरेको भन्दै तिनमा सेयर कारोबारमा चलखेल भएको विज्ञप्ति निकालेपछि लगातार दुई दिन सेयरबजारमा गिरावट देखिएको छ। त्यस्तै २० अर्ब दैनिक कारोबार पुगे पनि त्यसयता कारोबार रकममा समेत उल्लेख्य गिरावट देखिएको छ।

हिजोको कारोबार रकमको तुलनामा आज झण्डै साढे चार अर्ब रुपैयाँले कमी आएको नेप्सेको तथ्यांकले देखाएको छ। हिजो १५ अर्ब ४८ करोडको सेयर किनबेच भएको थियो। आज उक्त कारोबार १० अर्ब ९० करोडमा खुम्चिएको छ।

सर्वाधिक कारोबार गर्नेमा भने आज नेपाल पुनर्बीमा कम्पनी छ। उसको ७६ करोडको सेयर किनबेच भएको छ। उसलाई पछ्याएको नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको २९ करोडको, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको २७ करोडको, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको २४ करोडको कारोबार भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad