कारोबार


खोप लगाउन नपाएको भन्दै ट्यांकर चालकले रोके पेट्रोलियम पदार्थको ढुवानी

खोप लगाउन नपाएको भन्दै ट्यांकर चालकले रोके पेट्रोलियम पदार्थको ढुवानी

नेपालखबर
जेठ ३१, २०७८ सोमबार १४:४०,

कोरोनाविरुद्धको खोप उपलब्ध नभएको भन्दै नेपाल पेट्रोलियम ट्यांकर चालक संघले पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेका छन्।

पकटपटक सम्बन्धित निकायमा माग गर्दा खोप उपलब्ध नभएको भन्दै चालकहरुले आइतबारदेखि ढुवानी बन्द गरेका हुन्। यसबाट निजी पम्पहरु प्रभावित भएका छन्। सरकारले अत्यावश्यक सेवामा बन्द, हड्ताल गर्न नपाउने गरी कानून लागू गरेको स्थितिमा ढुवानी बन्द भएको छ।

चालक संघका अध्यक्ष इश्वर लामाले आइतबारदेखि बरौनी, अमलेखगञ्ज क्षेत्र तथा आन्तरिक ढुवानी रोकिएको जानकारी दिए। ढुवानीकर्ताको अवरोधका कारण आज पनि प्रदेशभरको आपूर्ति प्रभावित भएको आयल निगमको वागमती प्रादेशिक डिपो थानकोटले जनाएको छ।

मंगलबारदेखि निषेधाज्ञामा केही खुकुलो भएसगैँ पेट्रोलियम पदार्थको अभाव हुन सक्ने नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएशनले जनाएको छ। आइतबारदेखि थानकोट डिपोबाट पेट्रोलियम पदार्थको ढुवानी रोकिँदा मङ्गलबारदेखि अभाव हुनसक्ने एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले जानकारी दिए। उनका अनुसार काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) मा १७६ वटा निजी पेट्रोल पम्प सञ्चालनमा छन्।

सीसीएमसीसँग खोप माग
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अत्यावश्यक वस्तु तथा सेवा प्रवाह गर्ने व्यवसायीलाई खोप उपलब्ध गराउन माग गरेको छ। कोभिड संकट व्यवस्थापन केन्द्रलाई पत्र लेख्दै उद्योग मन्त्रालयले पेट्रोल तथा ग्यास व्यवसायीलाई लगाउन १ लाख ५७ हजार ५ सय ९६ डोज खोप उपलब्ध गराउन माग गरेको छ।

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय महासंघलाई १० हजार ३ सय ४६ डोज, नेपाल ट्रक यातायात व्यवसायी महासंघलाई १ लाख ४० हजार डोज र ग्यास बिक्रेता महासंघलाई ४ हजार ६ सय डोज खोप उपलब्ध गराउन मन्त्रालयले माग गरेको छ।

यस्तै, नेपाल पेट्रोलियम ट्यांकर चालक संघ थानकोटलाई १५ हजार, नेपाल आयल निगमलाई १ हजार डोज र साल्ट ट्रेडिङ कर्पोरेशनलाई १५० डोज खोप उपलबध गराउन माग गर्दै मन्त्रालयले सोमबार कोभिड संकट व्यवस्थापन केन्द्रलाई पत्र लेखेको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad