बाँकेका किसानहरु पहिलो पटक चैते धान उत्पादन गर्न सफल भएका छन्।
वर्षे धानभन्दा चैते धान उत्पादनमा दोब्बर वृद्धि भएको किसानहरुले अनुमान गरेका छन्। उत्पादन देखेर गाउँका अन्य किसानहरु पनि आकर्षित भएका छन्।
पश्चिम तराईको बाँके र बर्दिया जिल्लालाई अन्नको भण्डार भनेर चिनिन्छ।
बर्दियाका किसानहरु १ दशक अघिदेखि चैते धानतर्फ आकर्षित भए पनि उत्पादन लिन सकिरहेका थिएनन्।
यो वर्ष भने बाँकेका किसानहरुले चैते धान फलाउन सफल भएका हुन्। राष्ट्रिय गौरवको आयोजनाले नहरमा पानी आउन थालेपछि चैते धान लगाउन किसान उत्साही भएका थिए।
नहरमा अहिले १२ महिना नै पानी आउनथालेको छ।
योसँगै किसानहरुलाई कृषि ज्ञान केन्द्र बाँकेले मल र धानको बीउ उपलब्ध गराएको थियोे।
चैते धान फलाउन सफल बैजनाथ गाउँपालिका ८ झिंगौराका किसान अजित कुमार सुनारले यो वर्षको परीक्षण सफल भएकोले अर्को वर्षदेखि थप जमिनमा धान रोप्ने सोच बनाएको बताए।
यस्तै कोहलपुर नगरपालिका १५ चौधरिया गाउँका किसान ज्ञान बहादुर नेपालले पनि ११ कट्ठा जमिनमा चैते धान फलाउन सफल भएका छन्।
किसान नेपालले असार पहिलो सातासम्म चैते धान थन्काएर वर्षे धान लगाउने तयारी गरेको बताए।
परीक्षणको रुपमा हल्दीनाथ– ३ र चैेते धान– ५ नामक धानको खेती गरेका छन्।
लामो समयदेखि कृषि पेशामा आबद्ध नेपालले सिक्टा सिँचाइको नहर घर नजिकै पुगेपछि अन्य किसानलाई पनि सिकाइ हुने भन्दै चैते धानको खेती गरेको बताए।
एक वर्षमै सुरुमा वर्षेधान, त्यसपछि हिउँदमा मसुरो हुँदै चैतमा चैते धान खेती गरेको नेपालले बताए।
घरनजिकैको शाखा नहरमा सिक्टा सिँचाइको पानी आउन थालेपछि अन्य खेतीपाती पनि राम्रो हुन थालेको नेपालले बताए।
उनले धानको खेती गर्ने जानकारी गराएपछि सिक्टा सिँचाइ आयोजनाबाट प्राप्त हौसला र सहयोगले आफूलाई थप प्रोत्साहन मिलेको बताए।
कृषि ज्ञान केन्द्र बाँकेले किसान अजित सुनारलाई प्रोत्साहन गर्न यो वर्ष चैते १ जातको धान उपलब्ध गराएको थियो।
धान लगाउनका लागि ज्ञान केन्द्रले किसानलाई निःशुल्क परामर्श र मल बीउ समेत उपलब्ध गराएको कृषि ज्ञान केन्द्र बाँकेका अधिकृत दिनेश भट्टराईले बताए। अर्को वर्ष थप किसानहरुलाई चैते धान रोपाइँको कार्यक्रम ल्याउने उनको भनाइ छ।
किसानहरुले गर्मी हुने ठाउँमा चैते धान फलाएर अन्य किसानहरुलाई उत्पादनमा जोडिन हौसला दिएका छन्।
बाँकेमा चैते धान फल्ने खेतमा गहुँ, मकै र तरकारीको खेती गर्ने चलन छ। सिक्टा सिँचाइ आयोजनाको सिञ्चित हुने क्षेत्रमा धान उत्पादन गरेर किसानहरुलाई वैकल्पिक उत्पादनको बाटो देखाएको छ।
आगामी वर्षमा किसानहरुलाई ज्ञान केन्द्रले चैते धान खेती गर्न चाहने किसानहरुलाई निःशुल्क मल र धानको बीउ उपलब्ध गराए चैते धान लगाउने किसानहरुलाई थप हौसला पुग्नेछ।

प्रतिक्रिया