कारोबार


सुन तोलाको ३०० ले बढ्यो, खपत घट्यो

सुन तोलाको ३०० ले बढ्यो, खपत घट्यो

नेपालखबर
भदौ ४, २०७६ बुधबार ८:९,

 पछिल्लो एक महिनादेखि निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य स्थानीय बजारमा आज फेरि वृद्धि भएको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला रु ३०० र चाँदीमा प्रतितोला रु ५ ले वृद्धि भएको छ। छापावाला सुन प्रतितोला रु ७१ हजार ३०० पुगेको छ। मंगलबार छापावाला सुन प्रतितोला रु ७१ हजारमा कारोवार भएको थियो।

यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला रु ३०० ले वृद्धि भएको छ। स्थानीय बजारमा तेजाबी सुनको मूल्य प्रतितोला रु ७१ हजार पुगेको छ। मंगलबार तेजाबी सुन प्रतितोला रु ७० हजार ७०० मा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ। बुधबार चाँदीको मूल्य रु पाँचले वृद्धि भएर प्रतितोला रु ८३० पुगेको महासंघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला रु ८२५ मा खरिदबिक्री भएको थियो।

भदौ लागेसँगै स्थिर भएको सुनको मूल्य बुधबार वृद्धि भएको हो। गत साउनको शुरुआतदेखि नै सुनको मूल्य उकालो लाग्न थालेको थियो। साउन महीनामा सुनको मूल्य प्रतितोला रु सात हजार र चाँदीको मूल्य प्रतितोला रु ९५ ले वृद्धि भएको छ।

साउन १ गते छापावाला सुन प्रतितोला रु ६४ हजार ५००, तेजाबी सुन रु ६४ हजार २०० र चाँदी प्रतितोला रु ७४५ मा कारोबार भएको थियो। साउनको अन्तिममा सुनको मूल्य अहिलेसम्मकै उच्च भएको थियो। साउन ३१ र ३२ गते छापावाला सुन प्रतितोला रु ७१ हजार ५००, तेजाबी सुन रु ७१ हजार २०० तथा चाँदी प्रतितोला रु ८४० मा कारोबार भएको महासंघले जनाएको छ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य निरन्तर बढिरहेको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस एक हजार ५०० अमेरिकी डलर पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा परेको हो। चीन–अमेरिका व्यापार टकराव, इरान–अमेरिका विवादले पनि सुनको भाउ बढाउन सहयोग गरेको बताइन्छ।

सुनको मूल्य वृद्धि भएसँगै सुनको खपत भने ह्वात्तै घटेको छ। दैनिक २०÷२५ किलो सुन खपत हुने नेपाली बजारमा पछिल्लो समय मुस्किलले १० किलो पनि बिक्री हुन नसकेको महसंघले जनाएको छ। अहिले सुन किन्नेभन्दा पनि गहना बेच्नेको घुइँचो लाग्ने गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad