ad ad

कारोबार


संघईले आईएलओ बैठकमा भने : धेरैको रोजगारी गुम्यो आपसी सहयोग गरौं

संघईले आईएलओ बैठकमा भने : धेरैको रोजगारी गुम्यो आपसी सहयोग गरौं

नेपालखबर
जेठ २८, २०७८ शुक्रबार १६:१३,

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति रामचन्द्र संघईले अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०९ औँ बैठकलाई नेपालको रोजगारदाताको तर्फबाट आज साँझ सम्बोधन गरेका छन्।

कोरोना महामारीको कारण पहिलो पटक भर्चुअल माध्यमबाट आयोजना भइरहेको उक्त सम्मेलनलाई सम्बोधन गर्ने क्रममा रोजगारदाता परिषदका सभापति संघईले कोभिड–१९ महामारीको पीडा सम्पूर्ण विश्वले नै भोग्नु परेको र यो महामारीले अर्थतन्त्रका सबै क्षेत्र, रोजगारी र समग्र सामाजिक जनजीवनलाई प्रभावित पारेको बताए।

उनले अगाडि भने, ‘यसबाट भएको आर्थिक सामाजिक नोक्सानीको क्षतिपुर्ति हुन केही वर्ष लाग्ने हुँदा सबै मुलुकबीचको आपसी सहयोग र सहकार्यका लागि अनुरोध गर्दछु।’

]सम्बोधनको क्रममा सभापति संघईले गतवर्ष नेपालमा कोरोना संक्रमण फैलिन सुरू भए लगत्तै सरकारले देशव्यापी बन्दाबन्दी जारी गरेको र यो बन्दाबन्दी लगातार तीन महिनाभन्दा बढी कायम रहदा सम्पूर्ण आर्थिक गतिविधिहरू ठप्प हुन गई ठूलो नोक्सानी व्यहोर्नु परेको, यसबाट पर्यटन क्षेत्र, लघु, घरेलु र साना उद्योग व्यवसाय अत्यन्त प्रभावित हुनुको साथै पहिलो पटक दुई दशक यता मुलुकको आर्थिक वृद्धि ऋणात्मक भएको, कुल ग्राहस्थ उत्पादन घटन गएको, लाखौंको रोजगारी गुमेको र गरिबीको प्रतिशत बढन गएको उल्लेख गरे।

महामारीका कारण अहिले मुलुक कठिन अवस्थाबाट गुज्रिरहेको र कोरोनाको नयां भेरियन्ट तीब्र रूपमा फैलिरहेको हुँदा यसमा नियन्त्रण गर्न सरकारले प्रयास गरिरहेको र निजी क्षेत्रले पनि सामाजिक जिम्मेवारी महशुस गरी सरकारसँग सहकार्य गर्दै कोरोना प्रभावित जनतालाई विभिन्न माध्यमबाट सहयोग गरिरहेको सभापति संघईले बताए।

मुलुकमा असल श्रम सम्बन्धको प्रवद्र्धनका साथै महामारीबाट सिर्जित परिस्थितिको सामना गर्न हामी रोजगारदाताले ट्रेड यूनियनसँगको संवादलाई महत्व दिएको र लकडाउन अवधिको ज्याला भुक्तानी लगायतका विषयमा सहमति समेत गरेको उल्लेख गरे।

परिवर्तित सन्दर्भमा सूचना प्रविधिको बढ्दो प्रयोग, काम गर्ने पद्धतिमा आएको परिवर्तनबाट श्रम बजार र श्रम सम्बन्धमा पनि परिवर्तन आउने र यसबाट रोजगारी कटौती तथा नयां शीपयुक्त जनशक्तिको आवश्यकता पर्ने उल्लेख गरे। साथै उनले कार्यस्थलको सुधार, स्वास्थ्य सेवा र सामाजिक सुरक्षाका क्षेत्रमा थप लगानी गर्नु पर्ने आवश्यकता रहेको कुरामा पनि जोड दिए।

सभापति संघईले अहिले नेपालको रोजगारदाता संस्थाले नीतिगत सुधार एवं केन्द्र, प्रदेश र स्थानीय सवै तहमा सामाजिक संवादको संयन्त्रणको सवलीकरण गर्ने काम गरिरहेको र रोजगारदाता संस्थाले तय गरेका रणनीति र कार्यक्रमहरू रोजगारी सिर्जना, आर्थिक वृद्धि र व्यसायको दीगोपनमा केन्द्रित रहेको उल्लेख गर्दै आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान गर्ने, साना तथा मझौला व्यवसायको प्रवद्र्धनमा प्राथमिकता दिई काम गरिरहेको बताए। रोजगारदाताले तय गरेका कार्यक्रमहरु सञ्चालन गर्न आईएलओबाट थप सहयोग प्राप्त हुने अपेक्षा गरे।

१७६ भन्दा वढी मुलुकका प्रतिनिधिहरूको सहभागिता रहेको आईएलओ बैठक जून ३ देखि १८ सम्म सञ्चालन हुने र श्रम सम्मेलनमा कोभिड–१९ महामारीको संकटबाट मुक्त हुन अपनाउनु पर्ने उपाय र रणनीति, दिगो आर्थिक पुनरुत्थान, सामाजिक सुरक्षा, बालश्रम र अन्तर्राष्ट्रिय श्रम संगठन शताव्दी घोषणाको कार्यान्वयन लगायतका विषयमा छलफल हुने कार्यक्रम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .