कारोबार


तलबको १० प्रतिशत रकम आमाबुबाको खातामा

तलबको १० प्रतिशत रकम आमाबुबाको खातामा

नेपालखबर
भदौ ४, २०७६ बुधबार ७:१३,

 नवलपरासी पूर्वको देवचुली नगरपालिकाले तलबको दश प्रतिशत रकम आफ्ना आमाबुबाको खातामा जम्मा गर्नुुपर्ने नीति लिएको छ।

ज्येष्ठ नागरिकको सम्मानका लागि नगरपालिकाले नगरसभामामार्फत् चालू आर्थिक वर्षबाट आफ्नो तलबको दश प्रतिशत रकम आमाबुबाको खातामा जम्मा गर्ने निर्णय गरिएको हो।

नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा समेत यस विषयलाई समावेश गरेको छ। सोही आधारमा नगरपालिकाले सार्वजनिक सूचना जारी गरी नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षकलाई आफ्नो तलबको दश प्रतिशत रकम आमाबुबाको बैंक खातामा जम्मा गर्न आग्रह गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसालले बताए।

ज्येष्ठ नागरिकले विभिन्न समयमा यसप्रकारको माग गर्दै आएकोमा नगरपालिकाले सोहीअनुसार उनीहरुको माग सम्बोधन गर्न यस्तो निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत भुसालले बताए। नगरपालिकाले निजी क्षेत्रमा कार्य गर्ने कर्मचारीलाई समेत १० प्रतिशत रकम जम्माका लागि आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत भुसालले बताए। उनका अनुसार नगरपालिकामा रहेका व्यापार, व्यवसाय गर्ने उद्योगी र व्यापारीलाई समेत आफ्नो आम्दानीको १० प्रतिशत आमाबुबाको खातामा जम्मा गर्न भनिएको छ। ‘ज्येष्ठ नागरिकको सम्मानका लागि नगरपालिकाले यस्तो नीति लिएको हो, हामीले सबैमा आग्रह गरेका छौँ’, प्रमुख प्रशासकीय अधिकृत भुसालले भने, ‘यो स्वच्छिक विषय हो।’

नगरपालिकाले आमाबुबाको खातामा पैसा जम्मा गर्नेको विवरणसमेत संकलन गरेर राख्ने बताउँदै उनले यही आधारमा भोलिका दिनमा यससम्बन्धी थप योजना निर्माण गरिने जानकारी दिए। ‘हामीले सबैमा आह्वान गरेका छौँ गत महिनाको तलब निकासा भएको छैन, हामीलाई विश्वास छ, सबैले यसलाई अनुशरण गर्नुहुनेछ’, प्रमुख प्रशासकीय अधिकृत भुसालले भने।

नगरपालिकाबाट सम्बन्धित व्यक्तिको खातामा पारिश्रमिक गएपछि, सोहीअनुसार आफूले प्राप्त गरको रकमबाट दश प्रतिशत रकम आमाबुबाको छुट्टै बैंक खातामा जम्मा गर्न भनिएको उनले बताए।

ज्येष्ठ नागरिकको सम्मानसहित उनीहरुको उपचार, पोषणमा सहयोग पु¥याउने उद्देश्यले यस्तो नीति लिइएको देवचुली नगरपालिका प्रमुख पूर्णकुमार श्रेष्ठले बताए। नगरपालिकाको यो नीतिले ज्येष्ठ नागरिक उत्साही भएको उनले बताए।

यस्तो नीतिले कुनै पनि परिवारमा ज्येष्ठ नागरिकलाई नहेर्ने गरेको भए नैतिक दबाब सिर्जना हुने बताउँदै नगर प्रमुख श्रेष्ठले ज्येष्ठ नागरिक परिवारमा अपहेलित हुने, बिरामी पर्दा समयमा उपचार नहुने, आफ्ना आवश्यकता पूरा गर्न पैसा नहुँदा समस्यामा पर्नेजस्तो कुरालाई यसले न्यूनीकरण गर्ने धारणा व्यक्त गरे। ‘नैतिकरुपमा आफ्ना आमाबुबाप्रति जिम्मेवार बनाउन यस्तो कदम चालिएको हो, यसले पारिवारिक सम्बन्धसमेत मजबुत बनाउन सहयोग पुग्ने छ’, नगर प्रमुख श्रेष्ठले भने। यसलाई कार्यान्वयन गराउन सबै जनप्रतिनिधि एकमत भएकाले यो लागू हुने विश्वास उनको छ।

नगरपालिकाले शुरुआत गरेको कदम सिर्जनात्मक भएको देवचुलीका सामाजिक अगुवा खिमानन्द भुसालले बताए। नगरपालिकाको यो कार्य राम्रो भएको भए पनि यसलाई व्यापक छलफल गरी सोहीअनुसार कार्यविधि बनाएर कार्यान्वयमा जाँदा अझै राम्रो हुने उनको दाबी छ । विवाहित महिला जागीरे हुँदा आमाबुबा वा सासूससुरा कस्कोमा रकम जम्मा गर्ने स्पष्ट नभएको भुसालले बताए। अंशसमेत लिई अलग्गै बसेकाको हकमा के गर्ने, सन्तानको तलबभन्दा धेरै पेन्सन पाउने आमाबुबाको हकमा के गर्ने, तोकेबमोजिम नगर्नेलाई कसरी दायरामा ल्याउनेजस्ता विषयमा स्पष्ट भएर कार्यविधि बनाउँदा कार्यान्वयनमा सहजता हुने उनले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad