कारोबार


वाणिज्य बैंकहरुको नाफा ६५ अर्ब बढी, कुन बैंकले कति कमाए? (सूची)

वाणिज्य बैंकहरुको नाफा ६५ अर्ब बढी, कुन बैंकले कति कमाए? (सूची)

नेपालखबर
भदौ ४, २०७६ बुधबार ७:३०,

आर्थिक वर्ष २०७४/०७५ को तुलनामा गत आव (२०७५/०७६) मा व्यावसायिक विस्तार राम्रो भएकाले वाणिज्य बैंकहरु मुनाफा बढाउन सफल देखिएका छन्।

उक्त अवधिमा वाणिज्य बैंकहरुको नाफा ६५ अर्बभन्दा बढी देखिएको छ। बैंकहरुको औसत कर्जा विस्तार १८ दशमलव १९ प्रतिशतले बढेपछि अधिकांश वाणिज्य बैंकहरुले नाफा वृद्धि गरेका छन्। २८ वाणिज्य बैंकहरुले औसत २५ प्रतिशतले नाफा बढाएको सार्वजनिक तथ्यांकले देखाएको छ।

कुन बैंकले कति नाफा कमाए ?

राष्ट्रिय वाणिज्य बैंक
गत आर्थिक वर्षमा सरकारी स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा बढी नाफा कमाउनेमा पहिलो भएको छ। बैंकले अरुलाई पछि पार्दै सबैभन्दा बढी नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षमा बैंकले पाँच अर्ब ३२ करोड ८३ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा हालसम्मकै उच्च हो। अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकले ४५ दशमलव ६१ प्रतिशतले नाफा बढाएको छ। अघिल्लो वर्ष बैंकले तीन अर्ब ६५ करोड ९२ लाख रुपैयाँ खुद नाफा गरेको थियो।

नबिल बैंक
नबिल बैंकले गत आर्थिक वर्षमा सात दशमलव ८५ प्रतिशतले बढाएर चार अर्ब २९ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले तीन अर्ब ९८ करोड १८ लाख रुपैयाँ नाफा गरेको थियो। अघिल्लो वर्षको तुलनामा बैंकले ३१ करोड २२ लाख रुपैयाँ मात्र नाफा बढाएको हो। गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई तीन अर्ब १८ करोड ४६ लाख रुपैयाँ लाभांश वितरण गर्न सकिने नबिलले जानकारी दिएको छ। गत वर्ष नबिलले सात अर्ब ३३ करोड ६० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष ब्याज आम्दानी रकम छ अर्ब २६ करोड २० लाख रुपैयाँ थियो ।

कृषि विकास बैंक
कृषि विकास बैंकले गत आर्थिक वर्षमा चार अर्ब ३५ करोड रुपैयाँ नाफा कमाएको छ। बैंकले गत आवमा कमाएको नाफा अघिल्लो वर्ष २०७४÷०७५ को भन्दा १९ दशमलव १५ प्रतिशतले बढी हो। बैंकले अघिल्लो आवमा तीन अर्ब ६५ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको वितरणयोग्य नाफा भने तीन अर्ब ३१ करोड रुपैयाँ रहेको छ।

नेपाल इन्भेष्टमेन्ट बैंक
नेपाल इन्भेष्टमेन्ट बैंकको गत आवको नाफा घटेको छ। बैंकको नाफा सात प्रतिशत घटेर तीन अर्ब ४१ करोड ५६ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा इन्भेष्टमेन्टले तीन अर्ब ६५ करोड ९३ लाख रुपैयाँ खुद नाफा गरेको थियो। अघिल्लो वर्षको तुलनामा गत वर्ष नाफा २४ करोड ३७ लाख रुपैयाँ घटेको बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ। नाफा घटेपछि इन्भेष्टमेन्टको लाभांश दिने क्षमता एक अर्ब ३९ करोड रुपैयाँमा झरेको छ ।

एनआईसी एसिया
एनआईसी एसिया बैंकले नाफा १ सय २९ प्रतिशत बढाएको छ। बैंकले गत आर्थिक वर्षमा तीन अर्ब पाँच करोड ३३ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले एक अर्ब ३३ करोड ४८ लाख रुपैयाँ खुद नाफा गरेको थियो। बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणमा गत वर्ष नाफा एक अर्ब ७१ करोड ८४ लाख रुपैयाँ बढेको उल्लेख छ। गत वर्षको नाफाबाट सेयरधनीलाई दुई अर्ब १५ करोड २८ लाख रुपैयाँ लाभांश दिनसक्ने वित्तीय विवरणमा उल्लेख छ।

सिभिल बैंक
सिभिल बैंकले २० दशमलव ७१ प्रतिशतले नाफा बढाएको छ। बैंकले असार मसान्तसम्म ७६ करोड चार लाख रुपैयाँ नाफा गरेको हो। अघिल्लो आर्थिक वर्ष ६२ करोड ९८ लाख रुपैयाँ थियो। खुद ब्याज आम्दानी दुई अर्ब २० करोड रुपैयाँ आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष यस्तो आम्दानी एक अर्ब ४० करोड रुपैयाँ थियो। बैंकले सर्वसाधारण निक्षेपभन्दा ऋण लगानी धेरै गरेको छ।

सेञ्चुरी कमर्सियल बैंक
सेञ्चुरी कमर्सियल बैंकको नाफा घटेको छ । बैंकले गएको आर्थिक वर्ष २०७५÷०७६ मा ८६ करोड नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्ष २०७४÷०७५ मा बैंकले ९१ करोड नाफा आर्जन गरेको थियो । बैंकको वितरणयोग्य नाफा ५३ करोड रुपैयाँ कायम भएको छ। आठ अर्ब ४१ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा एक अर्ब तीन करोड रुपैयाँ रहेको छ। बैंकले ५७ अर्ब निक्षेप संकलन गरेर ५६ अर्ब कर्जा लगानी गरेको छ।

नेपाल बंगलादेश बैंक
नेपाल बंगलादेश बैंकले एक अर्ब ६१ करोड रुपैयाँ नाफा कमाएको छ। बैंकले गएको आवमा ४१.२२ प्रतिशतले नाफा वृद्धि गरेकोे छ। अघिल्लो आर्थिक वर्ष २०७५÷०७६ मा बैंकले एक अर्ब १४ करोड नाफा आर्जन गरेको थियो। बैंकको वितरणयोग्य नाफा भने एक अर्ब तीन करोड रुपैयाँ रहेको छ। आठ अर्ब आठ करोड चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा भने तीन अर्ब ३२ करोड रुपैयाँ रहेको छ। बैंकले ५९ अर्ब निक्षेप संकलन गरेर ५२ अर्ब कर्जा लगानी प्रवाह गरेको छ।

जनता बैंक
गत आर्थिक वर्ष २०७५/०७६ मा जनता बैंकको नाफा एक अर्ब ३४ करोड पुगेको छ। बैंकले अघिल्लो आवमा एक अर्ब रुपैयाँ नाफा आर्जन गरेको थियो। बैंकको वितरणयोग्य नाफा एक अर्ब १८ करोड रुपैयाँ रहेको छ । आठ अर्ब चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा एक अर्ब ७० करोड रुपैंयाँ रहेको छ। बैंकले ७५ अर्ब निक्षेप संकलन गरेर ६६ अर्ब कर्जा लगानी गर्दा सीसीडी रेसियो ७७.३४ प्रतिशत कायम गराएको छ। बैंकको आधार ब्याजदर ९.९५ प्रतिशत छ।

हेर्नुहाेस् तालिकाः 

bank nafa 2 updated

कुमारी बैंक
कुमारी बैंकले गत आर्थिक वर्षमा नाफा २८ प्रतिशत बढाएको छ। गत आर्थिक वर्षमा कुमारीले एक अर्ब ३३ करोड ४० लाख रुपैयाँ खुद नाफा गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कुमारीले एक अर्ब चार करोड १८ लाख रुपैयाँ खुद नाफा गरेको थियो। एक वर्षको अवधिमा कुमारीले २९ करोड २१ लाख रुपैयाँ नाफा बढाएको छ। गत वर्षको नाफाबाट कुमारीले सेयरधनीलाई ९६ करोड ७० लाख रुपैयाँ लाभांश वितरण गर्नसक्ने बैंकले जनाएको छ। कुमारीले ब्याज आम्दानी बढाएपछि नाफा बढेको हो।

लक्ष्मी बैंक
लक्ष्मी बैंक गत आर्थिक वर्षमा नाफा ३३ दशमलव ४३ प्रतिशत बढाएको छ। लक्ष्मीले गत वर्ष एक अर्ब ५७ करोड ६० लाख रुपैयाँ खुद नाफा गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा लक्ष्मीले एक अर्ब १८ करोड १० लाख रुपैयाँ खुद नाफा गरेको थियो। बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणमा अघिल्लो वर्षको तुलनामा गत वर्ष नाफा ३९ करोड ४९ लाख रुपैयाँ थपिएको उल्लेख गरेको छ। ब्याज आम्दानी बढेपछि नाफामा पनि वृद्धि भएको हो। गत वर्षको नाफाबाट सेयरधनीलाई एक अर्ब १५ करोड ६१ लाख रुपैयाँ लाभांश वितरण गर्नसक्ने बैंकले जनाएको छ ।

बैंक अफ काठमाण्डु
बैंक अफ काठमाण्डु लिमिटेडले नाफा ४६ दशमलव ७० प्रतिशत बढाएको छ। गत आर्थिक वर्षमा बीओकेले एक अर्ब ९३ करोड ८२ लाख रुपैयाँ खुद नाफा गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा बीओकेले एक अर्ब ३२ करोड ११ लाख रुपैयाँ खुद नाफा गरेको थियो। बैंक सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणमा अघिल्लो वर्षको तुलनामा गत वर्ष ६१ करोड ७० लाख रुपैयाँ नाफा बढाएको जानकारी दिएको छ। गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १ अर्ब ३० करोड रुपैयाँ लाभांश वितरण गर्नसक्ने बैंकले जनाएको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक
स्ट्याण्डर्ड चार्टर्ड बैंकको खुदनाफा १३.९४ प्रतिशत बढेको छ। गत आर्थिक वर्षमा बैंकले दुई अर्ब ४९ करोड ५३ लाख रुपैयाँ नाफा गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा स्ट्याण्डर्डले दुई अर्ब १८ करोड ९८ लाख रुपैयाँ नाफा गरेको थियो। गत वर्ष स्ट्याण्डर्डले नाफा ३० करोड ५३ लाख रुपैयाँ बढाएको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ। गत वर्षको नाफाबाट सेयरधनीलाई एक अर्ब ८० करोड २४ लाख रुपैयाँ लाभांश वितरण गर्नसक्ने बैंक जनाएको छ।

सनराइज बैंक
सनराइज बैंकले नाफा १५ दशमलव ५७ प्रतिशत बढाएको छ। गत आर्थिक वर्षमा सनराइजले एक अर्ब ७० करोड ७० लाख रुपैयाँ खुद नाफा गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा सनराइजले एक अर्ब ४७ करोड ६९ लाख रुपैयाँ नाफा गरेको थियो। गत वर्ष नाफा २३ करोड रुपैयाँ बढेको सनराइजले जनाएको छ। गत वर्षको नाफाबाट सेयरधनीलाई एक अर्ब ११ करोड ७७ लाख रुपैयाँ लाभांश वितरण गर्नसक्ने सनराइजले जानकारी दिएको छ।

मेगा बैंक
मेगा बैंक नाफा साढे ३० प्रतिशत बढाएको छ। गत आर्थिक वर्षमा मेगाले एक अर्ब ७१ करोड ९२ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले एक अर्ब ३१ करोड ७३ लाख रुपैयाँ गरेको थियो । मेगाले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणमा खुदनाफा ४० करोड १९ लाख रुपैयाँ बढेको उल्लेख छ। गत वर्ष गरेको नाफाबाट सेयरधनीलाई एक अर्ब ३५ करोड ८० लाख रुपैयाँ लाभांश वितरण गर्नसक्ने मेगाले जानकारी दिएको छ।

नेपाल क्रेडिट एन्ड कमर्स
नेपाल क्रेडिट एन्ड कमर्स एनसीसी बैंकले नाफा १३ दशमलव ८१ प्रतिशत मात्र बढाएको छ। एनसीसीले गत आर्थिक वर्षमा एक अर्ब ५२ करोड ६८ लाख रुपैयाँ खुदनाफा गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा एनसीसीले एक अर्ब ३४ करोड १५ लाख रुपैयाँ नाफा गरेको थियो । एनसीसीले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणमा नाफा १८ करोड ५३ लाख रुपैयाँ मात्र बढाएको छ । गत वर्ष गरेको नाफाबाट सेयरधनीलाई १ अर्ब १९ करोड ९७ लाख रुपैयाँ लाभांश दिन सक्ने एनसीसीले जनाएको छ।

हिमालयन बैंक
हिमालयन बैंक नाफा ५१ दशमलव ७९ प्रतिशत बढाएको छ। हिमालयनले गत आर्थिक वर्षमा २ अर्ब ८४ करोड ७० लाख रुपैयाँ खुद नाफा गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा हिमालयनले १ अर्ब ८७ करोड ५६ लाख रुपैयाँ खुद नाफा गरेको थियो। हिमालयनले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणमा नाफा ९७ करोड १३ लाख रुपैयाँ बढेको देखाएको छ। हिमालयनले गत वर्षको नाफाबाट सेयरधनीलाई २ अर्ब २ करोड २४ लाख रुपैयाँ लाभांश वितरण गर्नसक्ने देखाएको छ।

एनएमबी बैंक
एनएमबी बैंकले नाफा २७.६६ प्रतिशतले बढाएको छ। एनएमबीले गत आर्थिक वर्षमा २ अर्ब ३१ करोड रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा एनएमबीले १ अर्ब ८५ करोड ३७ लाख रुपैयाँ खुद नाफा गरेको थियो। बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणमा अघिल्लो वर्षको तुलनामा गत वर्ष नाफा ५० करोड रुपैयाँ बढेको उल्लेख गरेको छ। एनमएबीको सेयरधनीलाई लाभांश दिने क्षमता १ अर्ब २७ करोड ४७ लाख रुपैयाँ मात्र छ।

एभरेष्ट बैंक
एभरेष्ट बैंकले गत आर्थिक वर्षमा खुद नाफा १८ प्रतिशत बढाएको छ। गत आर्थिक वर्षमा एभरेष्टले तीन अर्ब चार करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लोे वर्षको सोही अवधिमा बैंकले दुई अर्ब ५८ करोड १६ लाख रुपैयाँ नाफा गरेको थियो। अघिल्लो वर्षको तुलनामा गत वर्ष ४६ करोड ४४ लाख रुपैयाँ नाफा बढेको एभरेष्टले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ। प्रतिसेयर खुद सम्पत्ति दुई सय १८ रुपैयाँ पुगेको छ। बैंकले एक खर्ब २९ अर्ब ५५ करोड रुपैयाँ निक्षेप परिचालन गरी एक खर्ब चार अर्ब ५६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको विवरणमा उल्लेख छ। गत आर्थिक वर्षमा गरेको खुदनाफाबाट एभरेष्टले सेयरधनीलाई दुई अर्ब १८ करोड ८० लाख रुपैयाँ लाभांश वितरण गर्नसक्ने वित्तीय विवरणमा उल्लेख छ। बैंकको निष्क्रिय कर्जा घटेर शून्य दशमलव १६ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष यस्तो कर्जा शून्य दशमलव २० प्रतिशत थियो। निक्षेप लागत ६ दशमलव २१, सीसीडी रेसियो ७५, आधार दर ८ दशमलव १२ र ब्याजदर अन्तर ४ दशमलव २९ प्रतिशत रहेको छ।

नेपाल बैंक
नेपाल बैंकले गत आवमा दुई अर्ब ६१ करोड रुपैयाँ नाफा गरेको छ। एनएफआरएस प्रणालीअनुसार बैंकले प्रकाशित गरेको वित्तीय विवरणमा बैंकको नाफा दुई अर्ब ६१ करोड रहेको छ। यो नाफा बैंकको अघिल्लो वर्षभन्दा ६० करोडले कम हो। २०७५ असार मसान्तसम्मको अवधिमा बैंकले तीन अर्ब २१ करोड नाफा आर्जन गरेको थियो। नौ अर्ब ८१ करोड चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा १३ अर्ब ३४ करोड रुपैयाँ रहेको छ। नाफा र जगेडा कोषमा भएको रकम समेत गरेर तीन अर्ब ४५ करोड रुपैयाँ सेयरधनीलाई लाभांश बाँड्न सकिने बैंकले विवरणमा उल्लेख गरेको छ। बैंकले एक खर्ब १७ अर्ब निक्षेप संकलन गरेर ९२ अर्ब कर्जा लगानी गर्दा सीसीडी रेसियो ७० प्रतिशतमा कायम राखेको छ। बैंकको खराब कर्जा २.५८ प्रतिशत छ भने आधार ब्याजदर ७.९८ प्रतिशत छ। स्प्रेडदर ४ दशमलव ४५ प्रतिशत कायम गरेको बैंकको कस्ट अफ फण्ड ५ दशमलव ५० प्रतिशत छ। यो अवधिमा बैंकले प्रतिसेयर आम्दानी २७ दशमलव १५ रुपैयाँ पुर्याएको छ।

ग्लोबल आईएमई बैंक
त्यस्तै ग्लोबल आईएमई बैंकको नाफा २ अर्ब ७८ करोड पुगेको छ। बैंकले गत आर्थिक वर्षमा ३८ प्रतिशतले नाफा बढाएको देखिएको छ। बैंकले २०७५ असार मसान्तमा २ अर्ब १ करोड नाफा आर्जन गर्नसकेको थियो। ग्लोबलको लाभांश वितरण गर्नसक्ने नाफा भने दुई अर्ब ४२ करोड रुपैयाँ रहेको छ। १० अर्ब ३१ करोड चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा तीन अर्ब २१ करोड रुपैयाँ रहेको छ। बैंकले एक खर्ब २० अर्ब निक्षेप संकलन गरेर एक खर्ब १२ अर्ब कर्जा लगानी गरेको छ। बैंकको सीसीडी रेसियो ७८ दशमलव ६९ प्रतिशत रहेको छ। बैंकको खराब कर्जा शून्य दशमलव ५५ प्रतिशत छ भने कस्ट अफ फण्ड ७ दशमलव १८ प्रतिशत छ। आधार ब्याजदर ९ दशमलव ५४ प्रतिशत रहेको बैंकको स्प्रेडदर ४ दशमलव ४७ प्रतिशत रहेको छ। बैंकको प्रतिसेयर आम्दानी २७ दशमलव ११ रुपैंयाँ हुँदा प्रतिसेयर नेटवर्थ १५८ दशमलव ६२ रुपैयाँ रहेको छ।

सानिमा बैंक
सानिमा बैंकले गत आवमा दुई अर्ब २४ करोड नाफा आर्जन गरेको छ। अघिल्लो वर्षका तुलनामा उक्त बैंकले ३२ प्रतिशतले नाफा वृद्धि गरेको हो। २०७५ असार मसान्तमा बैंकले १ अर्ब ६८ करोड नाफा आर्जन गरेको थियो। गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार बैंकको वितरणयोग्य नाफा भने एक अर्ब २४ करोड रुपैयाँ रहेको छ। सानिमाले गत आर्थिक वर्षमा आठ अर्ब चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा दुई अर्ब २५ करोड रुपैयाँ रहेको छ। बैंकले गत आर्थिक वर्षमा ८९ अर्ब निक्षेप संकलन गरेर ८१ अर्ब कर्जा लगानी गरेको छ। बैंकको सीसीडी रेसियो ७७ दशमलव ९१ प्रतिशत छ। शून्य दशमलव आठ प्रतिशत मात्रै खराब कर्जा रहेको बैंकको आधार ब्याजदर ९ दशमलव ४७ प्रतिशत र स्प्रेडदर चार दशमलव ३५ प्रतिशत छ। त्यस्तै, कस्ट अफ फण्ड सात दशमलव ३९ रहँदा प्रतिसेयर आम्दानी २८ दशमलव चार रुपैयाँ छ ।

प्रभु बैंक
प्रतिशतको हिसाबमा हेर्ने हो भने सबैभन्दा धेरै नाफा बढाउने बैंकमा प्रभु बैंक देखा परेको छ। प्रभु बैंकको नाफा गत आर्थिक वर्षमा एक सय ४४ प्रतिशतले वृद्धि भएको हो। २०७५ असार मसान्त अवधिमा ८३ करोड रुपैयाँ मात्रै नाफा कमाएको प्रभु बैंकले २०७६ असार मसान्त अवधिमा भने २ अर्ब ३ करोड नाफा आर्जन गर्न सफल भएको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यो नाफा रकम २०७५ असार मसान्तभन्दा एक अर्ब २० करोड बढी हो। नाफाबाट सेयरधनीलाई एक अर्ब ७३ करोड ३८ लाख रुपैयाँ लाभांश वितरण गर्न सकिने देखिएको वित्तीय विवरणमा उल्लेख छ। प्रभु बैंकले असार मसान्त अवधिमा एक सय १२ अर्ब निक्षेप संकलन गर्न सफल भएको छ। चैत मसान्तमा ९७ अर्ब निक्षेप संकलन गरेको बैंकले तीन महिनामा त्यसलाई बढाएर एक खर्ब १२ अर्ब पुर्याएको हो। यो अवधिसम्ममा बैंकले ८६ अर्ब कर्जा लगानी गरेको छ। प्रभुको खराब कर्जा २ दशमलव ३१ प्रतिशत छ भने आधार ब्याजदर ९ दशमलव ३६ प्रतिशत छ। बैंकको स्प्रेडदर भने ४ दशमलव ७० प्रतिशत रहेको छ। बैंकको प्रतिसेयर आम्दानी २४ दशमलव १८ रुपैयाँ छ।

सिटिजन्स बैंक
सिटिजन्स बैंकको नाफा एक अर्ब ४८ करोड रुपैयाँ पुगेको छ। बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार अघिल्लो वर्षको तुलनामा २६ करोडले बढी नाफा आर्जन भएको छ। २०७५ असार मसान्तमा बैंकले जम्मा एक अर्ब २२ करोड नाफा आर्जन गर्न सफल भएको थियो। बैंकको लाभांश अर्थात् वितरणयोग्य नाफा भने एक अर्ब ११ करोड रुपैंयाँ कायम भएको छ। आठ अर्ब ३७ करोड चुक्ता पुँजी रहेको सिटिजन्सको जगेडा कोषमा दुई अर्ब ७७ करोड रुपैयाँ छ। सिटिजन्सले गत आर्थिक वर्षमा ७० अर्ब निक्षेप संकलन गरेर ६२ अर्ब कर्जा लगानी गरेको छ। सिटिजन्सको प्रतिसेयर आम्दानी १७ दशमलव ७९ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १ सय ४८ रुपैयाँ कायम छ। बैंकको आधार ब्याजदर ११ दशमलव ७८ प्रतिशत कायम हुँदा स्प्रेडदर भने तीन दशमलव ८४ प्रतिशत छ। जुन राष्ट्र बैंकले तोकेको सीमाभन्दा पनि कम हो। राष्ट्र बैंकले बढीमा चार दशमलव चारको स्प्रेडदर हुनुपर्ने व्यवस्था गरेको छ।

माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षमा एक अर्ब ७० करोड रुपैयाँ नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अघिल्लो वर्षभन्दा ३६ प्रतिशतले नाफा बढाएको हो। एक अर्ब २४ करोड रुपैयाँ नाफा गरेको थियो। बैंकले खुद ब्याज आम्दानी २९ प्रतिशतले बढाएर तीन अर्ब ५३ करोड रुपैयाँ आर्जन गरेको हो। गत वर्ष यस्तो आम्दानी दुई अर्ब ७३ करोड रुपैयाँ थियो। बैंकको निक्षेप संकलन १७ दशमलव ५५ प्रतिशतले बढ्दा ऋण लगानी भने १५ दशमलव ६९ प्रतिशतले बढाएको छ। बैंकले एक वर्षमा ८५ अर्ब १९ करोड रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब ४७ करोड रुपैयाँ ऋण लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले ७५ अर्ब २९ करोड रुपैयाँ निक्षेप संकलन गरी ६५ अर्ब ८ करोड रुपैयाँ ऋण लगानी गरेको थियो। बैंकको यो वर्षको वितरणयोग्य नाफा भने एक अर्ब ३२ करोड रुपैयाँ रहेको छ। त्यस्तै, बैंकको खराब कर्जा शून्य दशमलव ४४ प्रतिशतबाट शून्य दशमलव ३७ प्रतिशतमा झरेको छ। आधार ब्याजदर पनि ११ दशमलव ०६ प्रतिशतबाट १० दशमलव ३७ प्रतिशतमा झार्न सफल भएको छ। बैंकको स्प्रेडदर ४ दशमलव २७ प्रतिशतमा कायम रहेको छ।

नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकले गत आवमा १३ प्रतिशतले नाफा बढाएको छ। बैंकले सार्वजनिक गरेको गत आवको वित्तीय विवरणमा दुई अर्ब ३० करोड ३६ लाख रुपैयाँ कमाएको देखिएको हो। अघिल्लो आवमा बैंकले दुई अर्ब दुई करोड ३५ लाख रुपैयाँ नाफा कमाएको थियो। बैंकले गत आर्थिक वर्षको चौँथो त्रैमासिक अवधिसम्ममा खुद ब्याज आम्दानी १४ दशमलव ६५ प्रतिशतले बढाएर चार अर्ब ७४ करोड ६९ लाख रुपैयाँ पुर्याएको छ। त्यस्तै बैंकले वितरणयोग्य नाफा भने एक अर्ब ५९ करोड रुपैयाँ पुर्याएको छ। सञ्चालन नाफा १३ दशमलव ४८ ले बढेर तीन अर्ब १३ करोड ३९ लाख पुग्दा बैंकको प्रतिसेयर आम्दानी दुई रुपैयाँ एक पैसाले बढेर २७ रुपैयाँ २६ पैसा पुगेको वित्तीय विवरणले देखाएको छ।

सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले पनि गत आवमा नाफा बढाउन सफल भएको छ। बैंकले सार्वजनिक गरेको गत आवको वित्तीय विवरणअनुसार बैंकको नाफा नाफा २१ प्रतिशतले बढेर दुई अर्ब ३० करोड ८८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको बैंकको नाफा एक अर्ब ९० करोड ४० लाख रुपैयाँ थियो। सिद्धार्थ बैंकले यसबाट सेयरधनीलाई एक अर्ब ६५ करोड २० लाख रुपैयाँ लाभांश वितरण गर्न सक्नेछ। बैंकको खुदब्याज आम्दानी चार अर्ब ६७ करोड रुपैयाँ छ। अघिल्लो वर्षको सोही अवधिमा तीन अर्ब ४३ करोड रुपैयाँ गरेको थियो। सिद्धार्थको निष्क्रिय कर्जा अनुपात घटेर शून्य दशमलव ७५ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष यस्तो कर्जा १ दशमलव ९ प्रतिशत थियो। निक्षेप लागत ७ दशमलव ५४, आधारदर १० दशमलव ५७, कर्जा र निक्षेप ब्याजदर अन्तर अर्थात् स्प्रेडदर ४ दशमलव ०७ प्रतिशत कायम रहेको बैंकले वित्तीय विवरणमा उल्लेख गरेको छ। त्यस्तै बैंकको औसत प्रतिफल १६ प्रतिशत छ भने प्रतिसेयर आम्दानी २६ रुपैयाँ ५९ पैसा रहेको छ।

प्राइम बैंक
प्राइम बैंकले गत आर्थिक वर्षमा ३७ प्रतिशतले नाफा बढाएको छ। बैंकले दुई अर्ब ३६ करोड रुपैयाँ नाफा गरेको हो। अघिल्लो वर्ष एक अर्ब ७२ करोड रुपैयाँ थियो। बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब ६० करोड छ । यस हिसाबले बैंकले करिब १७ प्रतिशतसम्म लाभांश दिन सक्ने देखिन्छ। बैंकले ७७ अर्ब ४ करोड रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब ५१ करोड रुपैयाँ ऋण लगानी गरेको छ। बैंकको ६.०६ प्रतिशत तथा कर्जा ८.०१ प्रतिशतले बढेको छ। जसबाट तीन अर्ब ५९ करोड रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ। खुद ब्याज आम्दानी करिब ३५ प्रतिशत धेरै हो। बैंकको चुक्ता पुँजी ९ अर्ब ३१ करोड रुपैयाँ छ भने जगेडा कोषमा दुई अर्ब ६० करोड रुपैयाँ जम्मा भएको छ। बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ३८ पैसा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad