कारोबार


बाह्र वर्षपछि फेरि निगम जापान जाँदै

बाह्र वर्षपछि फेरि निगम जापान जाँदै

रमेश पाेख्रेल
भदौ ३, २०७६ मंगलबार ११:४८,

नेपाली उखान नै छ ‘खोला १२ वर्षपछि पनि फर्किन्छ’। हो, यही उखान नेपाली एक मात्र ध्वजावाहक कम्पनी नेपाल वायुसेवा निगमको हकमा चरितार्थ भएको छ। १२ वर्षदेखि रोकिएको निगमको जापान उडान पुनः सञ्चालनमा आउँदैछ।

यही भदौ १२ गतेदेखि निगमले जापानी सहर ओसाकामा नियमित उडान गर्ने भएको हो। मंगलबार आयोजित पत्रकार सम्मेलनमा जापान उडानको  आवश्यक सम्पूर्ण तयारी पूरा भएको जानकारी निगमले दिएको छ।

वाइडबडी जहाजले काठमाडौंबाट जापानसम्म सिधा उडान नियमित रुपमा गर्ने भएकाले त्यसबाट जापानमा रहेका नेपालीलाई ठूलो राहत हुने निगमको दाबी छ। ओसाका उडानका लागि टिकट बुकिङ खुला गरिसकेको छ। सेप्टेम्बरसम्मका लागि दुई तर्फी टिकटदर ७० हजार रूपैयाँमा उपलब्ध गराएको निगमले त्यसपछि सरदर १ लाख नेपाली रुपैयाँ पर्न आउने जानकारी दिएको छ।

अहिले निर्धारित उडान तालिकाअनुसार हप्ताको तीन: मंगलबार, बिहीबार र शनिबार उडान हुनेछन्। काठमाडौंबाट ओसाकासम्मको उडान दूरी ६ घण्टा ३० मिनेटको हुनेछ। निगमको जहाज काठमाडौँबाट रातिको २ बजेर ३० मिनेटमा ओसाकाका लागि उड्नेछ। जापानको स्थानीय समयअनुसार दिनको ११ बजेर ५५ मिनेटमा ओसाकामा अवतरण गर्नेछ। त्यस्तै, सोही दिन दिनको १ः५५ बजे ओसाकाबाट उडान गरी नेपालमा साँझ अवतरण गर्नेछ।

अहिले निगमसँग दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी समेत गरी अन्तर्राष्ट्रिय उडानका लागि चारवटा विमान रहेका छन्। ओसाकाको सबै उडानहरु वाइडबडी ए ३३०–२०० बाट हुनेछन्।

ओसाका निगमको पुरानो गन्तव्य
ओसाकासम्मको उडान निगमले यसअघि पनि सञ्चालन गरेको थियो। बजार पाए पनि पर्याप्त विमान नहुँदा ओसाका उडान स्थगित गर्नुपरेको थियो। विगतमा काठमाडौँ-ओसाका उडान सन् १९९४ मा सुरु भएको थियाे। सन् २००७ सम्म सो गन्तव्यमा निगमका जहाज उडेका थिए। बोइङ्ग ७५७ जहाजबाट हुने त्यतिबेलाको उडान चीनको सांघाई ट्रान्जिट भएर हुने गरेको थियो।

सन् २००० मा जापानबाट काठमाडौंका लागि सबैभन्दा बढी ४१ हजार ७० जनाले नेपाल यात्रा गरेका थिए। यसमध्ये निगमको विमानबाट करिब २२ हजार यात्रु आएका थिए। ध्वजावाहकको सेवा नभएपछि यात्रुसंख्या घट्दै गएर सन् २०१५ मा १७ हजार ६ सय १३ यात्रुमा सीमित भएको थियो।

निगमले ओसाका र नारितामा हप्ताको चार उडान थालेपछि वार्षिक सिट क्षमता ५७ हजार हुने र यसबाट यात्रु संख्या बढ्न गई नेपालको अर्थतन्त्रमा सकारात्मक परिणाम ल्याउने आशा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad