कारोबार


मल अभाव छैन, वितरणको समस्या चाँडै हल हुन्छ : मन्त्री अर्याल

मल अभाव छैन, वितरणको समस्या चाँडै हल हुन्छ : मन्त्री अर्याल

नेपालखबर
जेठ २१, २०७८ शुक्रबार १३:२,

कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्मा कुमारी अर्यालले मलको अभाव नभएको बताएकी छन्।

शुक्रबार कृषि सामग्री कम्पनी लिमिटेडमा पुगि रासायनिक मलको अवस्थाको बारेमा अनुगमन गरिसकेपछि बोल्दै मन्त्री अर्यालले खेती लगाउने प्रयोजनको निम्ति मलको अभाव नभएको बताएकी हुन्। मल पर्याप्त रहेको उनको भनाई छ।

मल पर्याप्त रहेपनि वितरणमा समस्या देखिएको भन्दै वितरणको समस्यालाई पनि छिटोभन्दा छिटो समाधान गरिने उनले बताइन्। हाल मल असार र साउनको निम्ति खेति लगाउने प्रयोजनका लागि पर्याप्त भएको भन्दै उनले भदौ र असोजका लागि मल ल्याउने तयारी भइरहेको भन्दै स्टक नराख्न किसानहरुलाई आग्रह गरिन्।

उनले भनिन्, ‘आजको दिनमा हाम्रो खेतीबाली लगाउन सम्मको निम्ति मल पर्याप्त छ। थोरै समस्या वितरणसँग जोडिएर छ। वितरणसँग जोडिएका समस्या हामी तुरुन्तै समाधान गर्छौं। भदौमा मल आउँदैन कि, असोजमा मल हुँदैन कि भनेर अहिले यो सिजनको निम्ति हामीले प्रवन्ध गरेको, वितरणको निम्ति ल्याएको मल आफूलाई आवश्यकताभन्दा बेसी राखिदिने अनि भर्खरै किसानले नपाउने, भोलिको निम्ति साँचिदिने त्यो काम नगरिदिनका लागि अनुरोध गर्दछु। असार र साउनका लागि वितरण गरेको मल भदौ र असोजको लागि स्टक नराख्नुहो। मल पर्याप्त छ।’

उनले कृषि सामग्री कम्पनी लिमिटेडलाई कृषकको पहिचान सहित मल वितरणको व्यवस्था मिलाउन निर्देशन समेत दिएकी छन्। उनले सहकारीहरु दोस्रो पटक मल लिन आउँदा पहिलो पटक लगेको मल वितरणको मूल्य सूचिसहितको विवरण माग गरेर मात्रै दिन पनि निर्देशन दिइन्।

स्थानीय तहलाई पनि पत्राचार गरेर मल स्टक नराख्न अनुरोध गर्नुपर्ने, मलको आपुर्ति र वितरण सँग जोडिएका कर्मचारीलाई स्वास्थ्य प्रोटोकल पालना गरेर निरन्तर सेवा प्रवाहमा खट्न पनि उनको निर्देशन छ। उनले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडलाई आपुर्ति र वितरणको दैनिक विवरण कृषि मन्त्रालयमा पेश गर्न निर्देशन दिइन्।

कृषि सामग्री कम्पनी लिमिटेडले हाल रासायनिक मल यूरिया २० हजार ८६ दशमलव ९५० मेट्रिक टन, डि.ए.पी ३९ हजार २ सय ८६ दशमलव ६८८ मेट्रिक टन, पोटास ४ हजार १ सय ४६ दशमलव ६५० मेट्रिक टन र कृषि चुन ४ सय ४४ दशमलव ५७५ मेट्रिक टन मौज्दात रहेको बताएको छ।

साथै साल्ट ट्रेडिङ्ग कर्पोरेशनसँग हाल रासायनिक मल यूरिया मल १५ हजार २ सय ४ मेट्रिक टन, डि.ए.पी. १४ हजार ४ सय ४४ मेट्रिक टन र पोटास ३ हजार ८ सय ९६ मेट्रिक टन मौज्दात रहेको छ जनाएको छ।

त्यस्तै रासायनिक यूरिया मल ६५ हजार मेट्रिक टन असार महिना भित्रै प्राप्त हुने कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङग कर्पोरेशन लिमिटेडले संयुक्त रुपमा जानकारी गराएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad