कारोबार


महासंघ भन्छः कोभिडले ७० प्रतिशत उद्योग व्यवसाय प्रभावित

महासंघ भन्छः कोभिडले ७० प्रतिशत उद्योग व्यवसाय प्रभावित

नेपालखबर
जेठ २१, २०७८ शुक्रबार ६:४०,

नेपाल उद्योग वाणिज्य महासंघले करिब ७० प्रतिशत उद्योग व्यवसाय कोभिड कारण प्रत्यक्ष प्रभावित भएको बताएको छ।

महासंघले बन्दाबन्दी र निशेधाज्ञाले उद्योग व्यवसायमा पारेको असरका विषयमा टेलिफोन सम्वाद हुँदा ६८ देखि ७० प्रतिशत उद्योग व्यवसाय कोभिडका कारण प्रत्यक्ष प्रभावित पाइएको हो।

प्रदेशगतरूपमा हेर्दा प्रदेश नम्बर १मा ८२.७, गण्डकी प्रदेश ७५, वाग्मती प्रदेश ६९, प्रदेश नम्बर २मा ६९, लुम्बिनी प्रदेशमा ६४.५ सुदूरपश्चिममा ५७.७ र कर्णाली प्रदेशमा ४५.५ प्रतिशत उद्योग व्यवसायमा असर पर्न गएको महासंघले जनाएको छ।

महासंघका अनुसार खाद्यान्न, स्वास्थ्यसँग सम्बन्धित, स्वास्थ्य तथा अत्यावश्यक वस्तु तथा सेवामा आधारित उद्योग व्यवसाय, पिउने पानी, कृषि बाहेक सबै क्षेत्रका उद्योग व्यवसाय ठप्प रहेका छन्।

पसलहरू बिहान ३–४ घण्टा मात्र खुल्ने गरेका छन्। उद्योग व्यवसाय चलाउने लाखौं मानिसहरू घरभित्र थुनिएर बसेका छन्। यो बेलामा उद्योग व्यवसायभन्दा पनि सामाजिक भावना अनुरूप आम नेपालीको स्वास्थ्य बचाउनु ठूलो कुरा भएकाले सिंगो निजी क्षेत्रले सम्पूर्ण रूपमा सरकारलाई साथ दिइरहेको महासंघको भनाइ छ।

कोभिड महामारीको चपेटामा उद्योगी व्यवसायीहरू पनि परेका छन्। कतिपय उद्योगी व्यवसायीको कोभिडकै कारण ज्यान समेत गइसकेको छ।

संक्रमित हुनेको संख्या पनि निकै ठूलो हुन सक्छ। आफ्नो ज्यानको समेत परवाह नगरी अहिले उद्योग व्यवसाय क्षेत्र अग्रभागमा रहेर सकेको सहयोग गर्न जुटिरहेको बताएको छ।

महासंघले उद्यमी व्यवसायीहरू कोभिड समस्यामा परेका मानिसहरूलाई सहयोग गर्न अहोरात्र खटिरहेको बताएको छ।

आइसोलेसन निर्माण, संचालन, स्वास्थ्य सामग्रीहरूको व्यवस्था, अक्सिजन÷कन्सन्ट्रेटर लगायतका अत्यावश्यक औषधिहरूको सहज आपूर्ति, अक्सिजन बैंकको स्थापना मार्फत अक्सिजन आपूर्ति, स्वास्थ्य सामग्रीहरू हस्तान्तरण, हेल्प डेस्कमार्फत सहयोगमा जुटिरहेका छन्।

त्यस्तै स्वास्थ्य परामर्श, एम्बुलेन्स सेवामा सहजीकरण, विरामीलाई अस्पतालसम्म लैजान यातायातको समन्वय, वेड तथा भेन्टिलेटरको व्यवस्था, खाद्यान्न सामग्रीको वितरण तथा खाना खुवाउने प्रवन्ध, जनचेतना विस्तारमा निजी क्षेत्र खटिरहेको छ।

महासंघले यस बीचमा संघहरूसंग गरिएको सम्पर्कका आधारमा प्राप्त विवरणलाई अध्ययन गर्दा करिव १ सय वटा जिल्ला नगर उद्योग वाणिज्य संघहरू यतिवेला कुनै न कुनै रूपमा मानवीय सहायता जोडिएका छन्।

महासंघका केही सदस्य उद्योग वाणिज्य संघहरूले राहत कोषनै खडा गरी स्वास्थ सहयोग गरीरहेको बताएको छ।

कतिपयले स्थानीय निकाय र अस्पतालसंग समन्वय गरी वेड विस्तार, आइसियू वार्ड निर्माण, कोरोना विशेष अस्पताल निर्माण, आइशोलेशन केन्द्र निर्माण तथा संचालन लगायतमा सहयोग गरीरहेका छन्।

त्यस्तै कतिपय संघहरूले स्थानीय निकाय र स्थानीय अस्पतालसंग मिलेर अक्सिजन प्लान्ट स्थापनाकै तयारीमा लागेका छन्।

विशेषगरी अधिकांशबाट अक्सिजनको व्यवस्थापन, अक्सिजन संकलन तथा वितरण, रेमडेसिभर लगायतका अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीहरूको संकलन तथा वितरणमा सहयोग गरिरहेको जनाएको छ।

महासंघ आफैले पनि काठमाडौं र ललितपुरमा गरी तीनवटा आइशोलशेन सञ्चालन गरी कोभिड संक्रमितहरूको उपचार, खाने बस्ने व्यवस्थाका लागि सहयोग गरिरहेको उल्लेख गरेको छ।

यसका लागि महासंघले राहत कोष नै खडा गरेको छ। महासंघले क्षेत्रपाटीस्थित पुरानो गोरखा अस्पतालमा चलाएको आइसोलेसन केन्द्र अक्सिजनसहित चालू छ भने जैन निकेतन कमलपोखरी र अक्षेश्वर महाविहार ललितपुर अक्सिजनविनाको ड्राइ आइसाेलेसनका रुपमा चालू रहेका छन्।

महासंघले सवै आइसोलेसन केन्द्रमा चौविसै घण्टा स्वास्थ्य चेकजांच तथा औषधिको प्रबन्धसहितको व्यवस्था छ। आवश्यकताका आधारमा थप विस्तार गर्दै जाने महासंघको योजना छ।

महासंघले कोभिड संक्रमित बिरामीहरूको सहयोगका लागि सञ्चालन गरेको हेल्लो डाक्टर स्वास्थ्य परामर्श र कोभिड १९ सहायता केन्द्रबाट हालसम्म सयौं बिरामीहरूले स्वास्थ्य परामर्श र आवश्यक स्वास्थ्य सहायता लिएको जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad