अर्को हप्ताबाट नेपाल एयरलान्स र हिमालय एयरलाइन्सले कतार र चीनमा नियमित उडान गर्ने भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिडसम्बन्धी सहज आपूर्तिको लागि कतार र चीनमा उडान खुल्ला गर्ने निर्णय गरेको हो।
सोमबारको मन्त्रिपरिषदको निर्णय बिहीबार मात्रै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आइपुगेको छ।
‘मन्त्रिपरिषद्को निर्णय आज मात्रै मन्त्रालयमा आएको छ’, मन्त्रालयका सूचना अधिकारी प्रेम सुवेदीले भने, ‘त्यसमा मन्त्रालयले अझै स्पष्ट पार्ने कुरा छन्।’
सुवेदीले जेठ १७ सम्म अन्तर्राष्ट्रिय उडानको निर्णयलाई निरन्तरता दिँदै कोभिड रोकथाम तथा नियन्त्रणका लागि हप्तामा दुई उडान हुने निर्णय प्राप्त भएको जानकारी दिए।
‘कोभिड रोकथाम, नियन्त्रण तथा उपचारसँग सम्बन्धित सहज आवतजावतका लागि कतार र चीनमा उडान गर्न नेपाली वायुसेवा कम्पनीले सहज उडान गर्न अनुमति दिने निर्णय भएको छ’, सुवेदीले भने, ‘तर नियमित उडानमा यात्रु जान पाउने वा नपाउने स्पष्टता मन्त्रालयले गर्छ।’
उनले आगामी हप्ताबाट मात्रै एक–एक नियमित उडान खुल्ला हुने बताए।
त्यसबाहेक सरकारले चार्टड उडानमाफर्त नेपाली विदेशी जान पाउने निर्णय गरेको उनले बताए।

प्रतिक्रिया