ad ad

कारोबार


अन्तर्राष्ट्रिय उडान: आफ्ना नागरिकलाई प्रतिबन्ध, भारतीयलाई अनुमति!

अन्तर्राष्ट्रिय उडान: आफ्ना नागरिकलाई प्रतिबन्ध, भारतीयलाई अनुमति!

उजिर कार्की
जेठ २, २०७८ आइतबार १६:५९,

सरकारले नेपाललाई ‘ट्रान्जिट’ बनाएर विदेश जान नदिने भने पनि भारतीय नागरिकका लागि भने सातामा १० उडान अनुमति दिएको छ। भारतीय दूतावासको आग्रहमा भन्दै साउदी अरेबियाका विभिन्न गन्तव्यमा एकतर्फी यात्रु बोक्ने गरी सातामा १० उडान गर्न अनुमति दिइएको हो।

सातामा नेपाल एयरलाइन्सले ७ र हिमालयन एयरलाइन्सले ३ उडान गर्न अनुमति पाएका हुन्। परराष्ट्र मन्त्रालय र भारतीय दूतावासबाट पत्र आएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान अनुमति दिएको हो।

भारतीय दूतावासले आग्रह गरेकै दिन गत वैशाख २९ गते परराष्ट्र मन्त्रालयले मागअनुसार उडान अनुमतिका लागि पर्यटन मन्त्रालयमा सिफारिस गरेको थियो। वैशाख ३० गते पर्यटन मन्त्रालयले भारतीय नागरिकलाई रोजगारीका लागि साउदी लैजान अनुमति दिएको हो। मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणमा पत्र पठाउँदै अनुमति कार्यान्वयन गर्न भनेको थियो।

sanskriti paryatan

कोरोनाको नयाँ भेरिएन्टको जोखिम बढेको भन्दै अध्यागमन विभागले नेपाललाई ट्रान्जिट बनाएर अन्य गन्तव्यमा यात्रा गर्न रोक लगाएको थियो। वैशाख १५ गतेदेखि रोक लगाउने अध्यागमन विभागको निर्णय १५ दिन नबित्दै भारतीय नागरिकका लागि भने खुला गरिएको हो।

साउदीले भारतलाई यात्रा प्रतिबन्ध लगाए पनि नेपाललाई भने अझै आवतजावत गर्न अनुमति दिइरहेको छ। यसैको फाइदा उठाउँदै भारतीय नागरिक नेपाल भएर रोजगारीका लागि साउदी जान थालेका हुन्।

स्थल तथा हवाई मार्गबाट भारतीय नागरिक नेपाल प्रवेश गरिरहेको पाइएको छ। सरकारले नेपाल आउने भारतीयले नेपालमा होटल बुक गरेको पाइए स्थलमार्गबाट पनि आउन दिने निर्णय गरेको छ।

नेपाल–भारत एयर बबल सम्झौताअनुसार सातामा २ उडान हुन्छन्। यसअन्तर्गत आफ्ना नागरिक फर्काउन भनिए पनि भारतले एयर बबल सम्झौतालाई रोजगारीका लागि साउदी पठाउन प्रयोग गरिरहेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई उसले ट्रान्जिट बनाएको हो।

साउदी जाने भारतीय नागरिकले यहीँका अस्पतालमा कोरोना परीक्षण गर्ने गरेका छन्। यसै क्रममा काठमाडौंको ह्याम्स अस्पतालमा आइतबार उनीहरूको भीड लागेको थियो। 

indian yatruत्रिभुवन विमानस्थलबाट साउदी उड्न पीसीआर परीक्षणका लागि ह्याम्स अस्पतालमा लाइन लागेका भारतीय नागरिक।

जहाँ रिपोर्ट लिन पुगेका एक भारतीय नागरिकले मंगलबार आफ्नो उडान रहेको बताए। अन्तर्राष्ट्रिय उडान गर्न यात्रुसँग ७२ घण्टाभित्र गरिएको कोरोना परीक्षणको रिपोर्ट चाहिन्छ।

indian yatru2

भारतीय नागरिकलाई ठूलो संख्यामा आवतजावत गर्न दिँदा नेपालमा कोरोना संक्रमणको जोखिम थप हुनाका साथै साउदीले नेपाललाई पनि यात्रा प्रतिबन्ध लगाउने खतरा बढेको वैदेशिक रोजगार व्यवसायी बताउँछन्।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष बलबहादुर तामाङ यसले नेपालीको रोजगारीमा समेत असर पर्ने आशंका गर्छन्। भारतीयका कारण नेपालीलाई प्रतिबन्ध लाग्ने र त्यसले त्यहाँ रहेका नेपाली श्रमिकलाई अप्ठेरो पर्न सक्ने उनको भनाइ छ। नेपाललाई प्रतिबन्ध लागे स्वदेश फर्किएका नागरिकले रोजगारी गुमाउने छन्।

सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरेका कारण आफ्नै नागरिक भने संसारका सबै मुलुक जानबाट वञ्चित भइरहेका छन्। श्रम स्वीकृतिसमेत अनलाइनबाट मात्रै जारी भइरहेको छ। अहिले नेपाली श्रमिकलाई चार्टर उडान गरेर वैदेशिक रोजगारीमा पठाउने अवस्था नरहेको तामाङले बताए।

सरकारले यही जेठ १७ गतेसम्मका लागि अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ। आन्तरिक उडान अनिश्चित कालका लागि बन्द छन्। चार्टर्ड र उद्धार उडान हुन सक्ने भनिए पनि सरकारले आफ्ना नागरिकका लागि कुनै देशमा उडान गरेको छैन।

तत्काल उडान गर्ने योजना पनि नरहेको परराष्ट्र र पर्यटन मन्त्रालयले जनाएका छन्। भारतले भने नेपालबाट जहाज चार्टर गरेर आफ्ना नागरिकलाई वैदेशिक रोजगारीमा पठाइरहेको हो।

भारतमा कोरोना महामारीको दोस्रो लहर भयावह भएपछि साउदीले भारतबाट हुने हवाई उडानमा प्रतिबन्ध लगाएको छ। यसैकारण भारतीय नागरिकले साउदी जान नेपाल प्रयोग गर्न थालेका हुन्।

यसअघि नियमित उडानका बेलादेखि नै नेपालीभन्दा बढी भारतीय नागरिक रोजगारीका लागि साउदी गएका छन्। त्यतिबेला पनि सरकारले भारतीय नागरिकलाई एनओसीसमेत नचाहिने व्यवस्था गरेको थियो। सुरुमा एनओसी लिएर गए पनि दूतावासमा भीड लागेपछि रोजगारीमा जाने आफ्ना नागरिकलाई एनओसीबिनै जाने व्यवस्था गर्न भारतीय दूतावासले नेपाललाई भनेको थियो।

आफ्ना नागरिकको भने शवसमेत विदेशमै रोकिएका छन्। रोजगारी अवधि सकिएका नेपाली पनि फर्किन पाएका छैनन्। मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले स्वदेश फर्किन नपाएर अलपत्र परेको केही नागरिकलाई त्यहाँस्थित नेपालीकै होटलमा बस्ने व्यवस्था गरिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .