आगामी आर्थिक वर्षको बजेट आउन १३ दिन मात्रै बाँकी छ।
तर सरकारी तथ्यांकअनुसार चालू आवको लागि विनियोजन भएको कुल विकास बजेट १० महिना बितिसक्दा साढे ३५ प्रतिशत मात्रै खर्च भएको छ।
गत वर्ष जेठ १५ गते ल्याएको बजेटमा अझै साढे ६४ प्रतिशत विकास बजेट खर्च गर्न बाँकी रहेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको हो।
कोभिड महामारीका कारण अधिकांश विकास निर्माण कार्य ठप्प भएकाले ६४ प्रतिशत बजेट खर्च नै नहुने चिन्ता बढेको छ।
दैनिक ६ किलोमिटर सडक निर्माण गरेको दाबी गर्ने सरकारले बजेट कार्यान्वयनमा आएको १० महिनामा जम्मा १ खर्ब २५ अर्ब रुपैयाँमात्रै खर्च गर्न सकेको छ।
चालू आर्थिक वर्षमा ३ खर्ब ५२ अर्ब विकास बजेट विनियोजन गरिएको थियो । जसमध्ये अधिकांश बजेट ‘फ्रिज’ हुने देखिएको छ।
सरकारले ठूला आयोजनालाई तीव्रताका साथ अगाडि बढाउन नसक्दा विकास बजेट फ्रिज हुने देखिएको हो।
१० महिनामा चालू अर्थात् प्रशासनिक खर्च दर भने ६६ प्रतिशत छ। ९ खर्ब ४८ बजेट विनियोजन गरिएकोमा ६ खर्ब ३० अर्ब रुपैयाँ खर्च भएको कार्यालयले उल्लेख गरेको छ।
त्यसैगरी वित्तीय खर्च ३९ प्रतिशत गरेको छ। १ खर्ब ७२ अर्ब रुपैयाँ बजेट विनियोजन गरे पनि ६८ अर्ब रुपैयाँमात्रै वित्तीय खर्च भएको छ।
७५ प्रतिशत राजस्व संकलन
सरकारले चालू आर्थिक वर्षमा १० खर्ब ११ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा हालसम्म ७ खर्ब ६१ अर्ब रुपैयाँ संकलन गरिसकेको छ।
सरकारले आफ्नो लक्ष्य भेटाउन ६० दिनमा २५ प्रतिशत राजस्व संकलन गरिसक्नुपर्नेछ।
सरकारले ६० अर्ब अनुदान ल्याउने लक्ष्य राखेको भए पनि जम्मा १६.६५ प्रतिशत मात्रै अनुदान प्राप्त गरेको छ।
हालसम्म १० अर्ब रुपैयाँमात्रै बजेटरी अनुदान पाएको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ।
Shares

प्रतिक्रिया