बैंकहरुले अब पाँच प्रकारको सेवा मात्रै उपलब्ध गराउने भएका छन्। कोरोनाको जोखिम बढ्दै गएपछि सिमित शाखामात्र खोलेर सिमित सेवामात्र दिने निर्णय गरिएको हो।
नेपाल बैंकर्स संघले वाणिज्य बैंकहरुबाट ५ प्रकारका अत्यावश्यक सेवामात्र प्रवाह गर्ने भन्दै आज प्रेस विज्ञप्ती जारी गरेको छ। आफ्ना सदस्य बैंकहरुबाट ५० हजार रुपैयाँभन्दा बढीमात्र जम्मा गर्न पाउने सो भन्दा कम रकम बैंकले केही समय जम्मा नगर्ने निर्णय गरेको हो।
बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कोभिड–१९ को दोस्रो लहरसँगै मुलुकमा संक्रमितको संख्या बढ्दै गएको छ। तर, असहज परिस्थितिमा समेत बैंकहरुले प्रदान गर्दै आएको सेवामा कटौती गरी सर्वसाधारणको आवश्यकता पुरा गर्ने गरी मात्र सेवा दिने त्यसमा अत्यावश्यक सेवाहरु हुने छ।’
संघले अत्यावश्क अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन गरेको आह्वानलाई मध्यनजर गर्दै सम्पूर्ण ग्राहकमा डिजिटल बैंकिङ्गको प्रयोग गर्न अनुरोध गरेको छ। डिजिटल बैंकिङ प्रयोग गर्दा कुनै समस्या आएमा वा सहयोग आवश्यक परेको खण्डमा सम्बन्धित बैंकमा फोन वा इमेल मार्फत सम्पर्क गर्न सकिने बताइएको छ।
बैंकले प्रदान गर्ने अन्य सेवामा खाताबाट नगद झिक्ने, रकम स्थानान्तरण (चेक–आईपीएस–आरटीजीएस आदि), विप्रेषण भुक्तानी, अन्तर्राष्ट्रिय व्यापारको सहजता प्रदान गर्ने भएको हो।

प्रतिक्रिया