आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आईएमई पे’ एपबाट मध्य भोटेकोशी जलविद्युत् आयोजनाको आईपीओमा आवेदन दिन सकिने भएको छ।
दोस्रो भेरियन्टको कोरोना संक्रमण बढ्दै जाँदा जारी रहेको निषेधाज्ञाका कारण हिँड्डुलमा समेत समस्या रहेको अवस्थालाई मध्यनजर गर्दै आजदेखि आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीय बासिन्दाहरूलाई लक्षित गरी जारी गरेको आईपीओमा आवेदन दिन सकिने व्यवस्था मिलाएको हो।
आयोजनाको आईपीओ बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालका अनुसार आयोजना प्रभावित क्षेत्रका डिम्याट खातावाहक बासिन्दाहरूले आईएमई पेमार्फत आवेदन दिनसक्ने बताउँदै अन्यलाई आवेदन दिनको लागि अर्को व्यवस्था गरिने उल्लेख गरे।
यसरी आईएमई पेबाट आवेदन भर्दा निश्चित प्रक्रियाहरू पूरा गर्नुपर्ने हुन्छ।
कम्पनीका अनुसार तपाईंले पहिलोपटक आईएमई पे प्रयोग गर्दै हुनुहुन्छ यदि भने सबैभन्दा पहिला आईएमई पे एप डाउनलोड गर्नुपर्दछ। तपाईंको कारोबारको सुरक्षा र गोपनीयताका लागि तपाईंको नाम, थर, ठेगाना, सम्पर्क नम्बरलगायत तपाईँसँग सम्बन्धित विवरण त्यो एपमा दर्ता गर्नुपर्दछ।
यसलाई बैंकिङ्ग भाषामा नो योर कस्टुमर (केवाईसी) फारम भनिन्छ। त्यसपछि तपाईं एपको गृहपृष्ठमा प्रवेश गर्न सक्नुहुनेछ। त्यहाँ तपाईंले ‘आईपीओ’ आइकनमा क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि आईपीओसँग सम्बन्धित आफ्नो सबै विवरण भर्नुहोस् र त्यसलाई एकपटक रूजु गरी आफ्नो पिन कोड थिच्नुहोस्। यसरी तपाईंले आफ्नै मोबाइलबाट घरमै बसी आईएमई पेमार्फत मध्य भोटेकोशीको आईपीओ भर्न सक्नुहुनेछ।
यसरी आईपीओ भर्दा कुनै अतिरिक्त सेवा शुल्क नलाग्ने कम्पनीले जनाएको छ। मध्य भोटेकोशीले वैशाख २१ गते मंगलबारदेखि आयोजना प्रभावित स्थानीय वासिन्दाको लागि आईपिओ निष्काशन बिक्री खुला गरेको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीयलाई ६० करोड बराबरको ६० लाख कित्ता सेयर निष्काशन गरेको हो। यसरी निष्काशन गरिएको आईपीओमा न्यूनतम ५० कित्ता र अधिकतम ४ सय कित्तासम्मको लागि आवेदन दिन सकिने छ। छिटोमा जेठ ४ गतेसम्म र सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा जेठ २० गतेसम्म आईपीओमा आवेदन दिन सकिनेछ।
Shares

प्रतिक्रिया