निर्माणधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ।
विमानस्थलको भौतिक प्रगति ४२ प्रतिशत भएको जनाइएको छ। विमानस्थलको रनवे, टर्मिनल भवन, एप्रोन, ट्याक्सी पार्किङ, नाला लगायतकाे निर्माण सम्पन्न भइसकेको बताइएको छ। अन्तर्राष्ट्रिय उड्यन संस्था(आइकाओ) को मापदण्ड अनुसार फोरडी मोडलमा पर्ने विमानस्थल निर्माण पूरा भएपछि बोइङ ७ सय ५७ एयरबस जस्ता विमानले उडान भर्न सक्ने छन्।
आर्थिक वर्ष २०७८/०७९ भित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको र चालु आर्थिक वर्षमा ७० प्रतिशत भन्दा बढी काम सकिने गरी काम भइरहेको आयोजनाका निर्देशक प्रदीप अधिकारीले बताए। अहिले विमानस्थल निर्माण कार्यमा ४ सय ५० जनाले काम गरिरहेको छन्।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले केही दिन अगाडी विमानस्थलको अनुगमन गरी काम सन्तोषजनक रहेको बताएका थिए। सन् २०२१ डिसेम्बरमा निर्माण सम्पन्न गर्ने हाम्रो लक्ष्य रहेको र अहिलेकै अवस्थामा काम निरन्तर भएमा लक्ष्य भन्दा अगाडी नै विमानस्थल सम्पन्न हुने मन्त्री भट्टराईकाे भनाई छ।
करिब २२ सय करोड लगानीमा निर्माण हुने विमानस्थलको हालसम्म ६ सय करोड वित्तीय प्रगति भएको छ। आर्थिक वर्ष २०७५/०७६ मा आयोजनाका लागि ६ सय ३० करोड विनियोजन गरिएको थियो, जसको ६९ प्रतिशत अथवा ४ सय ३५ करोड बजेट खर्च भएको छ। आर्थिक वर्ष २०७५/०७६ मा नेपाल सरकारको स्रोतबाट ५० करोड छुट्याएको थियो, त्यसको ८५ प्रतिशत अथवा ४२ करोड वित्तीय प्रगति भएकाे नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
विमानस्थलको टर्मिनल भवन १४ हजार स्क्यार मिटरमा बन्नेछ। चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईले सन् २०१४ मे मा विमानस्थल निर्माणको ठेक्का पाएको थियो।

प्रतिक्रिया