कारोबार


एनसेलले लैनचौरमा खेल मैदानसहितको हरित उद्यान निर्माण गर्ने

एनसेलले लैनचौरमा खेल मैदानसहितको हरित उद्यान निर्माण गर्ने

नेपालखबर
बैशाख १०, २०७८ शुक्रबार ७:५४,

एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत काठमाडौंको मुटुमा रहेको लैनचौर मैदानको निर्माण तथा संरक्षण गर्दै छ।

आयोजना अन्तर्गत निर्माण हुने खेल मैदान सहितको हरित उद्यानले स्वच्छ, सफा, हराभरा सहर निर्माणमा योगदान पुर्याउने उद्देश्य लिएको छ।

यो हरित उद्यान काठमाडौं महानगरपालिका वडा नं. २६ मा रहेको लैनचौर मैदानमा बनिरहेको छ।

उद्यानमा मिनी फुटबल मैदान, बास्केटबल कोर्ट, खुला जिमखाना र बालबालिकाका लागि खेल्ने स्थान लगायतका विषेशताहरु रहने छन्। यो उद्यान ५४,९२१ वर्ग फिट क्षेत्रफल रहेको हालको लैनचौर मैदानमा बन्नेछ।

एनसेल र काठमाडौं महानगरपालिका वडा नं. २६ ले एनसेलको व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत यो हरित उद्यान निर्माण तथा संरक्षणका लागि समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ। समझदारी अनुसार, एनसेलले काठमाडौं महानगरपालिकाले तयार तथा स्वीकृत गरेको डिजाइन अनुसार लैनचौर हरित उद्यान निर्माणको कार्य गरिरेहकोे छ।

ncell park lainachaur2

ग्राउण्ड क्लेरेन्सको कार्य सम्पन्न गरी हाल उद्यान निर्माणका लागि मैदान उत्खननको कार्य भइरहेको छ। परम्परागत ढुङ्गेधारा, उद्यानमा आउने मानिसहरुका लागि पार्किङ्, शौचालय सुविधा र सोलार बत्तिको व्यवस्था यस उद्यानका केही थप विषेशताहरु हुन्।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले यस सामाजिक पहलका बारेमा उत्साह व्यक्त गर्दै भने, “सामाजिक आर्थिक विकासमा योगदान पुर्याउँदै तथा वातावरण क्षेत्रलाई प्राथमिकतामा राख्दै हामीले हाम्रो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आएका छौं। यो पहलले समुदायमा स्वस्थ वातावरण निमार्ण गर्दै वातावरण र पर्यावरण सम्बन्धी लक्ष्यप्राप्तिमा योगदान पुर्याउने छ। सरकारसँग सहकार्य गर्दै काठमाडौंको मुटुमा उदाहरणीय हरित उद्यान निर्माणका लागि योगदान पुर्याउन पाएकोमा हामी खुसी छौं।”

“यस सहकार्यका लागि हामी एनसेल प्रति आभारी छौं। यस योजनाको सफल कार्यान्वयनका लागि आवश्यक पर्ने कुनै पनि सहयोग चाहिएमा हामी प्रदान गर्नेछौं। यो हाम्रो समुदाय र वडाको एउटा ठूलो सम्पत्ति हुनेछ र साथै यसले स्वस्थ हराभरा सहर निर्माणमा योगदान दिनेछ,” काठमाडौं महानगरपालिका वडा नं २६ का वडा अध्यक्ष ख्याम तिवारीले भने।

एक जिम्मेवार कर्पोरेट नागरिकको रुपमा एनसेलले दीगो विकासका लक्ष्य (एसडीजी) अन्तर्गतका शिक्षा र स्वास्थ्यका साथसाथै वातावरण संरक्षण तथा जलवायु (क्लाइमेट एक्सन) लाई प्राथमिकतामा राख्दै सामाजिक कार्यहरु गर्दै आएकोे छ।

औद्योगिक व्यवसाय नियमावली २०७६ ले पनि व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत वातावरण संरक्षणलाई एक प्रमुख क्षेत्रको रुपमा राखेको छ।

ncell park lainachaur3

एनसेलले विभिन्न सामाजिक पहल अन्तर्गत आफ्नो स्थापनाकालदेखि स्वास्थ्य, शिक्षा, वातावरण, प्रकोप रोकथाम तथा प्रतिकार्य र जिविकोपार्जनमा सहयोग लगायतका विभिन्न क्षेत्रमा १.२७ अर्बभन्दा बढिको योगदान गर्दै सामाजिक तथा आर्थिक विकासको लागि सहयोग पुर्याएको छ। स्वास्थ्य, शिक्षा र वातावरण क्षेत्र एनसेलको प्राथमिकतामा रहेको छ।

वातावरण क्षेत्र अन्तर्गत, एनसेलले वन तथा भु–संरक्षण विभागसँगको सहकार्यमा कोटेश्वर देखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्ने काम पनि गर्दै आएको छ। झण्डै १०.२ किलोमिटर दुरी रहेको यस सडक खण्डको हरियाली विकास तथा संरक्षण गर्दै एनसेलले वातावरण संरक्षणमा योगदान पुर्याउने उद्देश्य लिएको छ।

यस अघि एनसेलले धनुषाधाम संरक्षित वनको ३३ हेक्टर जमिनमा ५० हजार बोटबिरुवा रोपण गरेको थियो र यसका साथै धनुषामा वृक्षारोपण र पर्यावरण संरक्षण तथा प्रवर्द्धनसम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रमहरु संचालन गरेको थियो।

यस पहलको सफल कार्यन्वयन पछि सरकारले धनुषाधाम संरक्षित वनलाई ‘खुल्ला चरिचरन तथा अनियमित कटान मुक्त क्षेत्र’ पनि घोषणा गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad