ad ad

कारोबार


साउन मसान्तसम्म माथिल्लो तामाकोशीका छवटै युनिटबाट विद्युत् उत्पादन सुरु हुन्छः प्राधिकरण

साउन मसान्तसम्म माथिल्लो तामाकोशीका छवटै युनिटबाट विद्युत् उत्पादन सुरु हुन्छः प्राधिकरण

नेपालखबर
बैशाख ५, २०७८ आइतबार ८:२९,

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले वैशाख महिनाभित्रै विद्युत् उत्पादन सुरु गर्ने भएको छ।

संसदको अर्थ समितिको आइतबारको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले वैशाख महिनाभित्रै पहिलो युनिटबाट विद्युत् उत्पादन सुरु हुने जानकारी गराएका हुन्।

उनले पहिलो युनिटबाट वैशाखभित्रै ७६ मेगावाट विद्युत् उत्पादन गर्ने गरी काम तीव्र पारिएको बताए।

उनले भने, ‘आजको स्थितिमा भर्टिकल स्ल्याब सबै सकिएको अवस्था छ र संक्षेपमा भन्दा वैशाखभित्रै ७६ मेगावाटको युनिट सञ्चालन सुनिश्चित भएको छ।’

बाँकी जेठ, असार, साउन र भदौ महिनामा क्रमशः उत्पादन थप्दै लगिने उनको भनाइ छ।

यसरी आगामी भदौ महिनाभित्र माथिल्लो तामाकोशीबाट ४ सय ५६ मेगावाट विद्युत् उत्पादन भइसक्ने पनि सचिव घिमिरेले बताए। उनले भने, ‘हामी वैशाखभित्रमा पहिलो युनिट र लगातार जेठ, असार, साउन, भदौ हुँदै हरेक महिना थप ७६ मेगावाट थप्दै भदौ सम्ममा कुल ४ सय ५६ मेगावाट विद्युत सिस्टममा ल्याउँछौँ।’

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले समय तालिकाअनुसार जेठ २ गते माथिल्लो तामाकोशीबाट विद्युत् उत्पादन सुरु गर्ने रहे पनि वैशाखको ३१ गते नै पहिलो युनिटबाट उत्पादन सुरु गर्ने गरी काम भइराखेको बताए।

वैशाख २० गते पहिलो युनिट घुमाउने तालिका रहे पनि एक दुई दिनअगाडि नै घुमाउन सक्ने सम्भावना भएको र त्यसको १४ दिनपछि विद्युत उत्पादन सुरु हुँदा वैशाख ३१ गते सम्भव हुने उल्लेख गरे।

उनले भने, ‘वैशाख २० गते पहिलो मेसिन घुमाउँछौँ। त्यसमा पनि सबै कुराले साथ दियो भने एक दुई दिन अगाडि आउन सक्छ तर अहिले २० गते भनेका छौँ। त्यसपछि उत्पादन सुरु गर्ने त्यसको १३ देखि १४ दिन भनेको जेठ २ गते हो तर त्यसलाई पनि हामीले स्विच गरेर वैशाख ३१ गते आशा गर्दै छौँ। तर अहिलेको तालिका अनुसार जेठ २ गते भनेर गरेका छौँ। त्यस हिसाबले पहिलो युनिट आइसकेपछाछि असार मसान्तसम्म चारवटा युनिट आउँछ र साउन मसान्तसम्ममा बाँकी २ वटा युनिट गरेर ६ वटा युनिट आउने अवस्था रहेको छ।’

आयोजनाको काममा ढिलाइ भएको भन्ने भएपछि आफू एक÷दुई दिन अघि मात्रै आयोजना स्थलको अनुगमनमा पुगेको बताउँदै कार्यकारी निर्देशक शाक्यले यही गतिमा काम भएमा समयमै आयोजना सम्पन्न हुने पनि बताए।

साउन मसान्तसम्ममा आयोजनाका ६ वटै युनिटबाट विद्युत उत्पादन सुरु भइसक्ने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .