सिराहाको लहान नगरपालिका–१३ गढियाचोक स्थित अमिता ज्वेलर्सका संचालक प्रदीप विश्वकर्मालाई गोली हानी हत्या गरी पसलमा रहेको सुन चाँदी र नगद लुटेको घटनाप्रति नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
लुटेराहरुको समुहले व्यवसायी विश्वकर्माको शनिवार घरभित्रै सुतिरहेको अवस्थामा हत्या गरेका थिए।
घटनाको घोर भत्र्सना गर्दै महासंघले अपराधीलाई अविलम्व कानूनी कठघरामा ल्याई कडा कारवाही गर्न र क्षतिपूर्ति सहित लुटिएको धनमाल फिर्ता गराई पीडितलाई न्याय दिलाउन सम्बन्धित निकायसँग जोडदार माग गरेको छ। साथै लुटेराहरुको आक्रमणबाट सख्त घाइते भएकी श्रीमती अमिता विश्वकर्माको स्वास्थ्योपचारको अविलम्व उचित व्यवस्था गर्न पनि नेपाल सरकार समक्ष माग गरिएको छ।
ब्यस्त बजारमा गोली हानी व्यवसायीको हत्या हुनु र अपराधीहरु लुटपाट गरी भाग्न सफल हुनु जस्ता घटनाले शान्ति सुरक्षा कमजोर रहेको महासंघको ठहर छ। शान्ति सुरक्षाको कमी कै कारणले आभुषण व्यवसाय जोखिमपूर्ण बन्दै गएको अवस्थामा यस घट्नाले मुलुकभरका गहना व्यवसायीहरु आतंकित र थप त्रसित हुन पुगेका सोमबार जारी विज्ञप्तिमा जनाइएको छ।
‘शान्ति सुरक्षालाई थप प्रभावकारी तुल्याई व्यवसायीहरुको मनोवल बढ्ने अवस्थाको सिर्जना गर्न र यस्ता आपराधिक समूह र तिनीहरुका क्रियाकलाप माथि कडा नियन्त्रण गर्न नेपाल सुन चाँदी रत्न तथा आभुषण महासंघ नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ’ विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया