कारोबार


सहरी योजना आयोगमा ५ सदस्य नियुक्त, उपाध्यक्षसहित सदस्यहरुको शपथ

सहरी योजना आयोगमा ५ सदस्य नियुक्त, उपाध्यक्षसहित सदस्यहरुको शपथ

नेपालखबर
जेठ ३०, २०७६ बिहिबार १०:२६,

महानगरको सहरी योजना आयोगमा ५ सदस्य नियुक्त गरिएको छ। यसरी नियुक्त हुनेमा संस्कृति, सम्पदा तथा पर्यटनतर्फ प्राडा त्रिरत्न बज्राचार्य, शिक्षा, स्वास्थ्य र समुदायतर्फ गुजेश्वरी श्रेष्ठ, व्यवस्थापन प्रशासनतर्फ मनराजा रञ्जित, सहरी योजनातर्फ कृतिकुसुम जोशी, प्राविधिकतर्फ इञ्जिनियर सजीव श्रेष्ठ छन्। उनीहरुलाई काठमाडौँ महानगरपालिका सहरी योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) ऐन २०७५ को व्यवस्थाबमोजिम नियुक्त गरिएको हो । यसै ऐनबमोजिम जेठ १२ गते बसेको कार्यपालिकाको ३३औं बैठकले सरोज बस्नेतलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो । आयोगका पदाधिकारीका रुपमा नियुक्त उपाध्यक्षसहित सदस्यहरुलाई बिहीबार नै आयोगका अध्यक्ष एवं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले पद तथा गोपनीयताको शपथ ग्रहण गराए।

त्यस अवसरमा बोल्दै महानगरका प्रमुख एवं आयोगका अध्यक्ष शाक्यले भने ‘सहरमा धेरैले अनेक खालका समस्या देखेका छन् । ती समस्याको समाधान गर्ने हाम्रो काम हो । अहिले नियमित काममा रहेका कर्मचारीले अतिरिक्त सोच निर्माण गर्ने समय नपाउन सक्छन् । त्यसैले सोचेर सृजनात्मक विधिबाट सहरी समस्या समाधान गर्न विज्ञ सदस्यहरुको नियुक्ति गरिएको हो ।’ उनले समारोहमा बोल्ने क्रममा, विज्ञले जनताका चाहना बुझेर सहरी उन्नतिमा ठोस योगदान पु¥याउनेमा आफू आशावादी भएको बताए।

सन्तुलित विकासबाट दिगो सहरी समृद्धि प्राप्त गर्न नीति तथा योजना निर्माण र सहजीकरणका लागि सहरी योजना आयोग गठन गर्न सहरी योजना आयोग गठन तथा सञ्चालन कार्यविधि ऐन तर्जुमा गरिएको हो । यस ऐनबमोजिम महानगरका प्रमुखको अध्यक्षतामा १४ सदस्यीय सहरी योजना आयोग गठन हुनेछ । यसले स्थानीय तथ्य र तथ्याङ्क संकलन गर्ने, विकास आवश्यकता, आयोजना तथा परियोजनाहरुको अध्ययन, अनुसन्धान, विश्लेषण, अनुगमन, सुपरिवेक्षण तथा मूल्याङ्कनबाट स्थानीय नीति योजना तर्जुमा गर्ने तथा अभिलेख व्यवस्थापन गर्नेछ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ बमोजिम गठन जारी गरिएको यस ऐनमा ७ वटा परिच्छेद, २२ वटा दफा र २ वटा अनुसूची समावेश छन् ।

ऐनको परिच्छेद २ बमोजिम गठित आयोगमा उपप्रमुख आमन्त्रित सदस्यका रुपमा रहनेछन् । कार्यपालिकाको निर्णयबाट आयोगमा एक जना उपाध्यक्ष नियुक्त गरिनेछ । प्रमुख प्रशासकीय अधिकृत सदस्य रहने यस आयोगमा प्रमुखबाट नियुक्त ९ जना सदस्य रहनेछन् जसमा १ जना महिला अनिवार्य गरिएको छ । उपाध्यक्ष तथा सदस्य नियुक्त गर्दा आर्थिक मामिला, सामाजिक, सांस्कृतिक, पर्यटन, सम्पदा तथा पुरातत्व, भौतिक पूर्वाधार तथा यातायात, सूचना तथा प्रविधि, सार्वजनिक प्रशासन, सुशासन तथा व्यवस्थापन, मानव संशाधनजस्ता क्षेत्रको प्रतिनिधित्व गराइनेछ । त्यस्तै सहरी विकास तथा सहरी योजना, कानुन, स्वास्थ्य तथा वातावरण, शिक्षा तथा सहकारी, अन्तर्राष्ट्रिय मामिलाजस्ता क्षेत्रलाई पनि सदस्य नियुक्त गर्ने आधार मानिएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .