कृषिमा वैदेशिक लगानी भित्र्याउँदा कुन कुन क्षेत्रमा भित्र्याउने हो स्पष्ट रुपमा उल्लेख हुनुपर्ने सांसदहरुले बताएका छन्।
आइतबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसदहरुले सरकारले कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय गर्दा कुन कुन क्षेत्रमा भित्र्याउने हो स्पष्ट पार्नुपर्ने बताए। सरकारले कृषिमा विदेशी लगानी भित्र्याउने भनिए पनि कुन कुन क्षेत्रमा प्राथमिकता दिने हो स्पष्ट नभएको सांसदहरुले बताएका हुन्।
बैठकमा बोल्दै समिति सभापति विमल प्रसाद श्रीवास्तवले कृषिको कुन कुन क्षेत्रमा विदेशी लगानी आवश्यक हो स्पष्ट हुनुपर्ने बताए। स्पष्ट रुपमा विधागत रुपमा छुट्याउनुपर्ने बताए।
सांसद अमृतादेवी अग्रहरीले नेपालको कृषिमा वैदेशिक लगानी आवश्यक रहेको बताइन्। कृषिमा उत्पादन बढाई निर्यात गर्नका लागि विदेशी लगानी आवश्यक रहेको उनले बताइन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले कृषि उत्पादनलाई आत्मनिर्भर बनाउँदै निर्यातको चरणमा जान ठूलो लगानीको आवश्यकता पर्ने भएकाले कृषिमा विदेशी लगानीको आवश्यकता देखिएको बताए। स्वदेशमै रोजगारी सिर्जना गर्न उद्योगहरु स्थापना गर्नका लागि राज्यले आवश्यकता ठानेर नै कृषिमा विदेशी लगानी भित्राउन लागेको बताए।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव प्रेमनारायण कंडेलले नेपालको प्राथमिक उत्पादनलाई हानी नहुने गरी कृषिमा विदेशी लगानी भित्राउनुपर्ने बताए। कृषि क्षेत्रमा लगानी गर्न नीजि क्षेत्रहरु पनि आकर्षित रहेको सन्दर्भमा त्यस तर्फपनि ध्यान दिनुपर्ने बताए।
कृषिमा विदेशी लगानी खुला गर्ने सन्दर्भमा समितिमा सरोकारवाला निकायसँग विभिन्न चरणमा छलफल भइरहेको छ। आगामी बैठकमा अझ बिस्तृत रुपमा सम्बन्धित मन्त्रालयका मन्त्रीसहित बसेर समितिमा छलफल गरिने भएको छ।

प्रतिक्रिया