भारतको राजस्थान प्रान्तअन्तर्गत जालोर जिल्लास्थित सान्चौरनजिक आइतबार बिहान ट्रकसँग कार ठोक्किँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा कारमा सवार सान्चौर निवासी गणपतलाल सुथारका दुई छोरा, पत्नी तथा नाति–नतिनाको मृत्यु भएको हो।
उनीहरू कारमा जोधपुरबाट घरतर्फ सान्चौर आइरहेका थिए। घर पुग्न १० किलोमिटर बाँकी छँदा उनीहरू सवार कारसँग अगाडिबाट तीव्र गतिमा आइरहेको ट्रक ठोक्किएको हो। कारको अघिल्लो भाग ट्रकमुनि छिरेको थियो।

त्यस क्रममा ४ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो।
भारतीय प्रहरीका अनुसार दुर्घटनामा गणपतलाल सुथारका दुई छोरा २५ वर्षका दिनेशकुमार र २२ वर्षका भजनलाल, ५२ वर्षीया पत्नी शान्तिदेवी र उनीहरूका दुई छोरीका छोराछोरी १२ वर्षीय जसराज र ५ वर्षीया हथिसाको मृत्यु भएको हो।
दिनेशकुमारको ३ महिनाअघि मात्र बिहे भएको थियो।


प्रतिक्रिया