कारोबार


सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल

सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल

नेपालखबर
चैत १९, २०७७ बिहिबार १५:१७,

आन्तरिक राजस्व विभागले मुलुकभरबाट छनोट गरी सबैभन्दा बढी कर तिरेर उत्कृष्ट घोषित १५ करदातालाई सम्मान गरेको छ।

आर्थिक वर्ष २०७५-७६ मा सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल प्राली रहेको छ। सूर्य नेपाल विगतमा पनि पटकपटक उत्कृष्ट करदाता घोषित भएको थियो। निर्यातकर्तामध्ये डाबर नेपाल प्रालीले सबैभन्दा बढी आयकर तिरेको छ। सबैभन्दा बढी आयकर तिर्ने विशेष उद्योगतर्फ हिमाल पावर लिमिटेड रहेको विभागले जनाएको छ। सबै उत्कृष्ट करदातालाई आज काठमाडौँमा विशेष समारोहका बीच सम्मान गरिएको थियो।

कृषि तथा पशुपक्षी उद्योगमध्ये सबैभन्दा बढी आयकर तिर्नेमा अन्नपूर्ण एग्रो इण्डष्ट्रिज प्राली रहेको छ भने सहकारी तथा लघु वित्तमध्येबाट छिमेकी लघुवित्त वित्तीय लिमिटेडले सबैभन्दा बढी कर तिरेको छ। बैंक वित्तीय संस्थातर्फ नवील बैंक लिमिटेड, बीमा व्यवसायमध्येबाट नेपाल पुर्नबीमा कम्पनी लिमिटेड, शिक्षा सेवामध्येबाट मनिपाल एजुकेशन एण्ड मेडिकल ग्रुप नेपाल प्राली, विप्रेषण कारोवारतर्फ आइएमइ लिमिटेड उत्कृष्ट करदाता बन्दै सम्मान प्राप्त गर्न सफल भएका छन्।

व्यापार व्यवसायमध्येबाट अग्नि इन्कर्पोरेट प्रालि, पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले सबैभन्दा बढी कर तिरेको छ। मध्यमस्तरीय करदाता कार्यालयको कार्य क्षेत्रभित्र पर्ने करदातामध्येबाट कामना सेवा विकास बैंकले सबैभन्दा बढी कर तिरेको छ।

आन्तरिक राजस्व कार्यालयको कार्य क्षेत्रभित्रबाट सबैभन्दा बढी कर तिर्नेमा भिएस सर्भिस (मोरिसस) प्राली उत्कृष्ट करदाता घोषित भएको छ भने व्यवसायी विजयकुमार शाहले व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिरेको विभागले जनाएको छ।

उत्कृष्ट कर सहभागितामध्येबाट मूल्य अभिवृद्धि करतर्फ विसं २०६५ देखि २०७७ सम्म समयमै कर विवरण बुझाएका र आव २०७६-७७ मा सबैभन्दा बढी मूल्य अभिवृद्धि कर तिर्नेमा घोराही सिमेन्ट इण्डष्ट्रिज प्राली रहेको छ। सबै उत्कृष्ट करदातालाई अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए।

नवौँ राष्ट्रिय कर दिवसका अवसरमा गत मङ्सिरमा गर्नुपर्ने उक्त सम्मान कोभिड–१९ का कारण ढिला गरी आयोजना गरिएको हो। उक्त समारोहमा अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले कर तिर्नु स्वयं व्यक्तिको प्रतिष्ठा र गौरवको विषय भएको स्मरण गर्दै कोभिडका बेलामा आर्थिक संकट हुँदा पनि कर तिरिदिएर राष्ट्रिय विकासमा योगदान गरेकामा करदातालाई धन्यवाद दिए।

उनले विगतको आर्थिक वर्षमा लक्ष्य नभेटिए पनि विषम परिस्थिति कायमै रहेको चालू आर्थिक वर्षमा पर्यटन क्षेत्रबाहेकका व्यवसाय पुरानै अवस्थामा फर्कनु सकारात्मक हो भने। उनले अघिल्लो वर्षभन्दा पाँच प्रतिशत कर वृद्धि भएको जानकारीसमेत गराए। पछिल्लो समयमा सरकारले कर प्रणालीमा आमूल सुधार गरेको पनि उनको भनाइ थियो।

सचिव पुडासैनीले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा रहेकाले आवश्यक सुझाव दिन व्यवसायीलाई अनुरोध गरे। कर तिर्ने वातावरण बनाउने, दायरा फराकिलो पार्ने, करदातामैत्री व्यवहार निर्माण गर्ने विषयमा सरकार गम्भीर रहेको सचिव पुडासैनीले बताए।

उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्र मुलुकलाई समृद्ध बनाउने सवालमा हातेमालो गर्न तयार रहेको उल्लेख गर्दै अहिले पनि कर संकलनका हिसाबले नेपाल दक्षिण एशियामै अब्बल देखिएको दाबी गरे। गोल्छाले कोभिडका बेलामा पनि ६५ प्रतिशत उद्योगी व्यवसायीले कर तिरेर जिम्मेवारी पूरा गरेको जिकिर गरे।

‘सर्वोच्च अदालतले कर तिर्न पर्दैनभन्दा पनि निजी क्षेत्रका सक्नेले कर तिरेर ठूलो योगदान पुर्‍याएका छन्’, गोल्छाले भने, ‘विषम परिस्थितिमा पनि निजी क्षेत्र सङ्कुचित छैन भन्ने यसले प्रष्ट पार्छ।’

उनले साना मझौला व्यवसायको अनुगमन हुँदा न्यायिक निष्कर्ष नहुँदै अनावश्यक दुःख दिएको भन्ने गुनासो आएको र त्यसले व्यवसायीलाई मानमर्दन भएको दुखेसो गरे। उनले अर्थतन्त्रलाई २०३० सम्ममा अब्बल बनाउँदै २३ लाखलाई रोजगारी दिने लक्ष्य राखिएको जानकारी गराउँदै त्यसका लागि कृषि, उद्योग र सेवा क्षेत्रका १०० प्राथमिक क्षेत्र छुट्याएर कार्यक्रम अघि बढाउन लागिएको जानकारी दिए। उक्त योजना यही २८ गते सार्वजनिक गर्ने उनले जानकारी दिए।

नेपाल चेम्बर्स अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले आफूले तिरेको कर सदुपयोग भएको खबर बडापत्रमार्फत सार्वजनिक गर्न सरकारसँग माग गरे। उहाँले तीनवटै सरकारलाई मान्य हुने कर नीति ल्याउन र कर प्रशासनलाई सुधार गर्दै डिजिटलाइजेसनमा लैजान सुझाव दिए। समारोहमा व्यवसायीले राजस्व र आयातमुखी कर प्रणालीलाई औद्योगिक र रोजगारमुखी बनाउन सुझाव दिएका थिए।

समारोहमा आन्तरिक राजस्व विभागका महानिर्देशक झक्कप्रसाद आचार्यले आगामी वर्ष उत्कृष्ट करदाता सम्मानको दायरा बढाउँदै स्थानीय तहगतरुपमा सम्मान गर्ने योजना रहेको जानकारी गराए। कर प्रणालीलाई प्रविधिमैत्री बनाउँदै करको विवरण मोबाइलबाटै भर्न मिल्ने बनाइएको जानकारी गराउँदै आचार्यले आगामी वर्ष अझै देखिने गरी सुधार गर्ने प्रतिबद्धता जनाए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad