कारोबार


डडेलधुराको जुनार बजार खोज्दै काठमाडौंमा

डडेलधुराको जुनार बजार खोज्दै काठमाडौंमा

नेपालखबर
चैत १९, २०७७ बिहिबार १५:०,

डडेलधुरा जिल्लामा उत्पादन भएको जुनार बजारीकरणका निम्ती त्यहाँका किसानहरुले पहलकदमी थालेका छन्।

यसैक्रममा डडेलधुराका जुनार उत्पादक किसानहरुले आज (बिहिवार) कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्याललाई भेटेर उत्पादन र बजारीकरणमा सहयोग गरिदिन आग्रह गरेका छन्।

त्यसक्रममा किसानहरुले मन्त्री अर्याललाई त्यहाँ उत्पादित जुनार उपहार दिँदै सिँचाईको अभावमा जुनारको बोट मर्ने समस्या रहेको भन्दै त्यसको समाधानका निम्ती सिचाईको व्यवस्थाका निम्ती सहयोग गर्न आग्रह गरेका थिए। त्यस अवसरमा बोल्दै मन्त्री अर्यालले डडेलधुराको जुनार उत्पादन बृद्धि गर्न आगामी वर्षको कार्यक्रममा विशेष व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरिन्।

बजारीकरणको क्षेत्रमा कालिमाटी फलफूल तथा तरकारी बजारमा डडेलधुराका कृषकहरुको उत्पादनलाई बिक्रिवितरण गर्न सहजिकरण गरिने समेत मन्त्री अर्यालले आश्वासन दिइन्। उनले जुनार उत्पादन क्षेत्रमा सिंचाईको व्यवस्था समेत गरिने बताइन्।

भागेश्वर गाउँपालिका ५ चुल्ल–शिराड डडेलधुराका किसानहरुले चुल्लका शिद्धनाथ नागार्जुन बहुउद्देश्यीय कृषक समूहमार्फत जुनार उत्पादन गर्दै आएका छन्। अहिले बजारीकरणका निम्ती १३ सय किलो जुनार लिएर काठमाडौंमा आएको अगुवा किसान अन्तराम जोशीले जानकारी दिए।

‘बाउबाजेको पालादेखी नै डडेलधुरामा जुनारको खेती गर्दै आएको हो तर बजारीकरणको अभावमा बारीमै कुहिएरै जाने अवस्था थियो’, उनले भने, ‘बजार नपाउने समस्या थियो। त्यसैले अहिले हामीले कृषक समूहमार्फत बजारीकरण, प्रचारप्रसारका जुनार लिएर काठमाडौं आएका हौँ।’

जुनार लिएर काठमाडौं आएका समूहका अगुवा किसान नारायणदत्त जोशीले सिंचाईको अभावमा जुनारको बोट सुक्न थालेकाले त्यो समस्या समाधान गरिदिन र बजारीकरणमा सहयोग गर्न मन्त्रीसँग आग्रह गरेको बताए।

उनले भने, ‘मन्त्रीसमक्ष हामीले हाम्रा उत्पादन र समस्याहरु राख्यौ। उहाँले जुनारको बजारीकरण र सिँचाईका निम्ती सहयोग गर्छौ भन्नुभएको छ।’

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको डडेलधुरास्थित कार्यालयका प्रमुख खेमराज जोशीले आगामी दिनमा जुनार खेती प्रबद्र्धनका लागि समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

कृषि ज्ञान केन्द्र डडेलधुराले बजारीकरणका निम्ती ढुवानीमा सहयोग गरेपछी किसानहरु काठमाडौंसम्म जुनार लिएर आएका हुन्। केन्द्रले नयाँ बिरुवा रोप्नका निम्ती समेत सहयोग गरेको छ।

द लोकल्स काठमाडौंले बजारीकरणमा सहयोग गर्दै आएको छ। द लोकल्सका सञ्चालक सुहृद चापागाईले किसानहरुबाट उचित मूल्यमा जुनार लिएर विभिन्न बजारहरुमा बजारीकरणमा सहयोग गर्दै आएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad