फ्रान्सेली नागरिक मौरिस हर्जौग र लुई म्याकेननले अन्नपूर्ण चुचुरोमा पहिलो पाइला टेकेको ठ्याक्कै ७० वर्ष भयो। उनीहरुले सन् १९५० को जुन ३ तारिख अर्थात् २००७ साल जेठ २१ गते अन्नपूर्ण पहिलोको सफल आरोहण गरेका थिए।
८०९१ मिटर अग्लो ‘अन्नपूर्ण पहिलो’आरोहणको ७० वर्ष पुग्दा पनि त्यसको सफल आरोहण गर्नेको संख्या असाध्यै कम छ। कारण एउटै छ, संसारका ८ हजार मिटर अग्ला १४ मध्ये एउटा भए पनि अन्नपूर्ण चढ्नु साह्रै जोखिमपूर्ण र कठिन छ। नेपाली महिलाहरु त यसको चुचुरोमा पुगेकै छैनन्।
जो पायोले आँट्नै नसक्ने, आँटे पनि चढ्न नसक्ने ‘अन्नपूर्ण पहिलो’ को विशेषता हो। त्यहाँ दिनमै कयौंपटक हिउँपहिरो खस्छ। हिउँपहिरोसँग पौंठेजोरी खेल्नु भनेको सोझै मृत्युको मुखमा हाम्फाल्नु हो। यो विषेशता र कठिनता जान्दाजान्दै पनि पूर्णिमा श्रेष्ठले यो वसन्तमा अन्नपूर्ण पहिलो चढ्ने आँट देखाएकी छन्।
पेशाले पत्रकार रहेकी र आरोहीको छवि बनाएकी उनै पूर्णिमा अन्नपूर्ण आरोहणको लागि पोकापुन्तुरा बोकेर पोखरा आइसकेकी छन्। गोर्खा आरुघाटकी स्थायी बासिन्दा पूर्णिमालाई शुक्रबार नै गण्डकी प्रदेश सरकारले सफलताको कामनासहित बिदाई गरेको छ।
गण्डकी प्रदेश सरकारले उनको आरोहणलाई ८ लाख रुपैयाँ आर्थिक सहयोग पनि गरेको छ। सफलतासँगै उनको नाममा पहिलो महिला सफल आरोहीको किर्तिमानी रहनेछ। रेकर्ड कायम गराउन खोज्ने प्रदेशकै चेलीलाई प्रोत्साहन गर्नकै लागि गण्डकी सरकारले यो सहयोग गरेको गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलले बताए।
गण्डकीमा ८ हजार मिटरभन्दा अग्ला अन्नपूर्ण, धौलागिरी र मनास्लु रहेका छन। पूर्णिमाले यसअघि मनास्लु, सगरमाथा र आमादब्लमको सफल आरोहण गरिसकेकी छन्।
पूर्णिमा शनिबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका पुग्नेछिन्। अन्नपूर्ण गाउँपालिकाले पनि पूर्णिमाको आरोहणको लागि ५ लाख रुपैयाँ सहयोग गरेको छ।
पूर्णिमाले पनि मौरिसको पदचिन्ह पच्छ्याउँदै अन्नपूर्ण चुचुरोतिरको यात्रा गर्नेछन्। उनलाई सेभेन समिट ट्रेक्स एण्ड एक्स्पिडिसनको १७ सदस्यीय टोलीले साथ दिनेछ।
निकै कठीन मानिने अन्नपूर्ण शिखर चुम्ने पहिलो नेपाली महिला बन्ने सपनासहित उनी त्यसतर्फ जान लागेकी हुन्।
२०५० साल वैशाख १० गते पासाङल्हामु शेर्पाले पहिलोपटक सगरमाथाको सफल आरोहण गर्दै नयाँ किर्तिमान बनाएकी थिइन्। तर, दुर्भाग्य, उनको फर्कँदा बाटोमै निधन भएको थियो।
‘मैले पहिलोपटक नै गण्डकी प्रदेशमा रहेको असजिलो मानिने मनास्लुबाट आरोहण थालेँ, ४ वर्षअघिको त्यो निर्णय गर्दा मसँग आरोहणको अनुभव नै थिएन’, पूर्णिमाले भनिन्, ‘अहिले मसँग हिम्मत छ, कुनै महिला नपुगेको र आफ्नै प्रदेशको हिमाल भएकाले पनि योपटक आरोहण गर्न लागेकी हुँ।’
उनलाई आरोहणमा सघाएका पेम्बा शेर्पाका अनुसार आरोहण करिब एक महिनामा सक्ने लक्ष्य छ। तर, मौसम र आरोहीको अवस्थाले नै लक्ष्य निर्धारण गर्ने उनले सुनाए। उनका अनुसार योपटक अघिल्ला वर्षहरुभन्दा धेरै टोलीले अन्नपूर्ण आरोहण गर्दैछन्। तीमध्ये अधिकांश विदेशी छन्।
प्रतिक्रिया