कारोबार


मह बेचेर वार्षिक २० लाख आम्दानी

मह बेचेर वार्षिक २० लाख आम्दानी

मेनका चौधरी
चैत ३, २०७७ मंगलबार ९:३९,

कोहलपुर नगरपालिका–६ बस्ने लीलबहादुर राणाका बाबुछोरा आजकाल मौरी चराउन बर्दियामा रहेको भोलागौडीको जंगलको छेउमा आधार चाका दिन ब्यस्त हुन्छन्।

राणा र उनका कान्छा छोरा घनश्याम १७५ घार मौरीलाई गाडीमा ल्याएर बढैयाताल गाउँपालिका, भोलागौडी गाउँको जंगल छेउमा दिनभर चराउँछन्।

मौरीहरुको आधार चाका हेरचाह गर्दै उनीहरुको दिनचर्या बित्छ।

मौरीलाई आधार चाका दिँदा वर्षमा रु एक लाखको दुई क्विन्टल दिने गरेको लीलबहादुरले बताए। त्यसैगरी वर्षमा चिनी रु दुई लाखको दिने गरिएको छ। गाडीमा राखी ठाउँठाउँमा चराउँदा ढुवानी खर्च वर्षमा रु पाँच लाखसमेत लागेको राणा बताउँछन्।

तराईको गर्मीमा हुने मेली फेरा नामक मौरी तराईको ४० डिग्री गर्मीमा समेत बाँच्न सक्छ। आजकाल प्रतिकेजी रु ६०० मा बिक्री हुन्छ। कोहलपुर र नेपालगञ्जमा मह उत्पादन गरी बिक्री गर्नेमा सफल नाम राणाको परिवारको छ। नौजनाको परिवार मह बेचेर चलाएको राणा बताउँछन्।

त्यही मौरीले दिएको मह वर्षमा ४० क्विन्टल उत्पादन गरी रु २० लाख आम्दानी हुने गरेको छ। उनी मौरीपालनमा लागेको १० वर्ष भयो। आफूहरुको मेहनत देखेर मौरीपालन गर्न नेपाल सरकारले गत वर्ष कृषि ज्ञान केन्द्र बाँकेमार्फत रु १४ लाख अनुदान दिएको राणा बताउँछन्। यस वर्ष पनि रु १० लाख अनुदान मौरी पकेट कार्यक्रम कोहलपुर नगरपालिकाले र कृषि ज्ञान केन्द्र बाँकेले दिएका छन्।

विसं २०७१ मा जीआई जेटले जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थाको सदस्य हुँदा आफूहरुलाई मह प्रशोधनका लागि घर निर्माण गर्न र यन्त्रका लागि रु १० दश लाख अनुदान रकम दिएकाले साहस बढेको राणाले बताउए। मौरी पकेट कार्यक्रम कृषि ज्ञान केन्द्र बाँकेले तीनवर्षे मौरी पकेट अनुदानसमेत दिएको छ।
राणा सञ्जीवनी मौरी फार्मको सञ्चालकसमेत बनेका छन्।

‘गरे के हुँदैन, अहिले रुदिलो, सिसौको फूलहरु भएको ठाउँमा मौरी लिएर चराउँदै व्यस्त हुन्छौँ’, बाबुछोराले हाँस्दै भने, ‘विदेश किन जाने, विदेशभन्दा नेपालमै पनि पैसा कमाउन सकिन्छ। हामी त मौरीमा रमाउँछौँ। कात्तिकदेखि माघमा तोरीको फूलको रस खान्छन् मौरीले, माघफागुनदेखि वैशाखसम्म रुदिलो झारीको फूलको रस र सिसौको फूलको रस अनि वैशाखजेठसम्म जामुनको फूलको रस खान्छन्।’

उनीहरु कहिले राजापुर कहिले ठाकुरद्वारा र कहिले बाँसगढी दुई-दुई महिनामा ठाउँ सार्छन्। जेठदेखि असोजसम्म चिनी दिएर मौरी बचाउनुपर्छ। उनीहरु त्यस समयमा घरमा लगेर मौरी राख्छन्।

राणाले भने, ‘४० डिग्री तापक्रम सहन सक्ने क्षमता हुन्छ मेली फेरा मौरीको। मौरी रहेको धर्तीमा खेती राम्रो सप्रने उनले बताए।

मौरी प्रकृतिमैत्री जीव हो जसले प्रकृतिको रक्षा गर्छ र अन्न उत्पादनमा सुधार हुन्छ। अहिले महको बजारीकरण सजिलो भएको र प्राङ्गारिक मह भनेर धेरैले घरैमा लिन आउने गरेको राणा बताउँछन्।

राणा भन्छन्, ‘चितवन, दाङ र सुर्खेतदेखि मौरीपालन व्यवसायीहरु मौरी चराउन बर्दिया आउँछन्।’

बर्दिया मेली फेरा मौरीका लागि अति उत्तम ठाउँ हो। अरू किसानलाई पनि सरकारले अनुदान दिएर सहयोग गरेमा मौरीपालनमा घाटा नहुने उनले बताए। तरकारी, अन्नपात जस्तै मह नकुहिने र बिक्री नभएमा तापक्रम मिलाएर राखेपछि अर्को वर्ष पनि बिक्री भइहाल्ने गरेकाले यस पेशामा लाग्न राणाले आग्रह गरे।

उनी भन्छन्, ‘तर ल्याब टेष्ट नगरी मह बिक्री गर्न दिनुहुँदैन। भारतको मह नेपाल आउँदा सरकारले जाँच गर्नुपर्छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad