राष्ट्रिय बीमा संस्थानका प्रमुख प्रशासक कवि प्रसाद पाठकविरुद्ध अर्थ मन्त्रालयले कारबाही प्रक्रिया अघि बढाएको छ।
उनीविरुद्ध दोहोरो सुविधा लिएको उजुरी आएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्पष्ट पार्न भनेपछि मन्त्रालयले बीमा संस्थानलाई विवरण तथा राय/प्रतिक्रिया सम्बन्धको विषय उल्लेख गरी गत फागुन २८ गते पत्र काटेको हो।
पाठकले राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ तथा उक्त ऐन अन्तर्गत बनेको राष्ट्रिय बीमा संस्थान कर्मचारी नियमावली २०७५ ले तोकेको सेवा सुविधा तथा तलबभत्ता पनि लिएको र त्यसभन्दा बाहेक संस्थानका सिनियर स्थायी कर्मचारीले लिने सेवा सुविधा पनि लिएको पाइएको हो।
पत्रमा भनिएको छ-
‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र संख्या २ अर्थ/३०६/०७७–७८ चलानी नम्बर डीआईभी २–१६४०३ पत्रबाट राष्ट्रिय बीमा संस्थानका प्रशासक कवि प्रसाद पाठकले करारनामामा उल्लिखित आफूले पाउने तलब र भत्ताबाहेक राष्ट्रिय बीमा संस्थानमा कार्यरत अन्य स्थायी कर्मचारीहरुले पाउने सुविधा समेत दोहोरो रुपमा लिएको भन्ने उजुरीका सम्बन्धमा छानबिन गरी आवश्यक कारबाहीका लागि लेखिआएकोमा निजले प्रशासक पदमा नियुक्ति पाएको मितिदेखि हालसम्म त्यस संस्थानबाट के–के सुविधा लिनुभएको छ, सोको यथार्थ विवरणसहितको राय प्रतिक्रिया ३ (तीन) दिनभित्र पठाइदिनुहुन आदेशानुसार अनुरोध छ।’
मन्त्रालयले २८ गते तीन दिनको अल्टिमेटमसहित मागेको स्पष्टीकरणको समय समेत आज अर्थात् सोमबार सकिएको छ।
आज कार्यालय समय अर्थात् ५ बजेसम्म अर्थ मन्त्रालयमा त्यसको स्पष्टीकरण नआइपुगेको मन्त्रालयका एक अधिकारीले जानकारी दिए। अब मन्त्रालयबाट ताकेताको तयारी भएको ती अधिकारीले जानकारी दिए।
उनले भने, ‘कि त सेवा सुविधा नलिएको भन्ने स्पष्टीकरण दिनुपर्नेछ कि भने सेवा सुविधाको लिएको विवरण उपलब्ध गराउनुपर्ने हुन्छ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पाठकविरुद्ध उजुरी परेपछि आयोगले यसबारे जानकारी दिन मन्त्रालयलाई गत फागुन २३ गते नै पत्र पठाएको थियो।
करिब डेढ वर्षअघि प्रमुखमा नियुक्त पाठकविरुद्ध प्रशासकको जिम्मेवारी सम्हालेदेखि नै बीमा संस्थानबाट दोहोरो सेवा सुविधा लिइरहेको आरोप छ।
आयोगका एक अधिकारीले नेपालखबरसँग भने, ‘प्रमुख प्रशासकले पाउने सेवासुविधा, तलब भत्ताबाहेक पनि अन्य कर्मचारीसरहको थप तलब भत्ता समेत निरन्तर लिइरहेको भन्ने उजुरीमा के कसो हो त्यसको जानकारी लिनु भनी अर्थ मन्त्रालयलाई २३ गते नै पत्र काटिएको छ।’
आयोगमा गत फागुन २ गते प्रमुख प्रशासकले पाउने सेवा सुविधा र उक्त संस्थानको स्थायी कर्मचारीले लिने दुवैतर्फको सेवासुविधा पाठकले लिएको उजुरी परेको थियो।
उक्त उजुरी अख्तियारमा ७७७८सी–०२४१३० नम्बरमा दर्ता भएको छ।
को हुन् पाठक?
पाठक योभन्दा अघि कृषि विकास बैंकमा कार्यरत थिए। राष्ट्रिय बीमा संस्थानको प्रशासकमा २०७५ जेठमा नियुक्त भएका हुन्।
उनलाई तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको सिफारिसमा मन्त्रिपरिषद् बैठकले ३ वर्षको लागि नियुक्त गरेको थियो।
उनको स्थायी घर झापा हो। प्रशासकमा नियुक्ति पाउनको लागि तीन जना मुख्य प्रतिस्पर्धी थिए। उनीसँगै डा. डिल्लीराज अर्याल र बुद्धकाजी श्रेष्ठ रहे पनि प्रधानमन्त्री केपी शर्मा ओलीको चाहनामा पाठकले नै नियुक्ति पाए।
तत्कालीन अर्थमन्त्री खतिवडाले भने त्यतिबेला अर्याललाई नियुक्त गर्न चाहेका थिए। तर प्रधानमन्त्री ओलीले पाठकलाई नै रोजेपछि मन्त्री खतिवडा पछि हटेका थिए।
आफूविरुद्ध अनुसन्धान अघि बढेपछि पाठक अहिले अख्तियारमा परेको उजुरी र अर्थ मन्त्रालयले पठाएको पत्र लिएर बालुवाटारमा सम्पर्क गर्न चाहिरहेको स्रोतको दाबी छ।
स्रोतका अनुसार उनी प्रधानमन्त्रीसँगको भेटपछि मात्रै अर्थ मन्त्रालयलाई स्पष्टीकरण दिने तयारीमा छन्।
Shares

प्रतिक्रिया